प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितको टोली लन्डनमा


लन्डन- बेलायत प्रहरीको संघीयता सम्बन्धी संरचना अध्ययन गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितको टोली लन्डन आइपुगेको छ। बेलायत सरकारको निमन्त्रणमा आइतवार विहान लन्डन आइपुगेको टोलीमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयका प्रहरी नायव महानिरीक्षक देबेन्द्र सुवेदी र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठ छन्।

टोलीले बेलायतस्थित थेम्स भ्याली प्रहरीसंग रहेर बेलायतको संघीय कानुन अन्तर्गत प्रहरी प्रसाशनको संरचना र कानुनी प्रकृयाका सम्बधमा अध्ययन गर्ने बुझिएको छ । टोलीले बेलायत प्रहरी निकायहरुबीच को समन्वयन, अनुसन्धान नियन्त्रण विधी, अनुगमन र सुपरीवेक्षण र नेपाल प्रहरीमा त्यसको सम्भाव्यता बारे बेलायतस्थित प्रहरी उच्चअधिकारीसँग छलफल गर्ने कार्यक्रमतय गरिएको छ। टोलीले मार्च १२ गतेदेखि १९ गतेसम्म बेलायत प्रहरीसँग मिलेर यहाँको अनुसन्धानको विधी समेत स्थलगत रुपमा अध्ययन गर्ने छ । सो टोलीलाई बेलायतस्थित इन्स्पेक्टटोरेट अफ क्यान्टबुलरी (एचएमआइसी)ले बेलायत भ्रमणको प्रवन्ध मिलाएको हो ।

भ्रमणको क्रममा प्रहरी महानिरीक्षक अर्याल समेतको टोलीले बेलायतका डिएफआइडी सम्बन्द्ध राज्यमन्त्री डेस्मण्ड स्वाएन, प्रहरी तथा अपराध सम्बन्धि उपमेयर स्टेनफेन ग्रिनहाल्ग, महानगरीय प्रहरीका प्रमुख सर बरनार्ड होगान होय लगायत यहाँस्थित प्रहरी तथा सरकारी उच्चअधिकारीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । अर्यालको यो भ्रमण ५ बर्ष पछि बेलायत सरकारको औपाचारिक निमन्त्रणमा भएको हो यसअघि प्रहरी महानिरीक्षक रबिन्द्र प्रताप शाहले बेलायतको भ्रमण गरेका थिए।