उम्मेदवारीका बारे कपोलकल्पित र भ्रामक दुस्प्रचार प्रति गगन थापाको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उमेद्वार गगन थापाले आँफु बारे अफवाह फैलाइएको बारे आपत्ति जनाएका छन् । थापाले आफ्ना कार्यकर्ता माँझ नै पत्रकार सम्मेलनको आयोजना गरी आँफु बारे भ्रम फैलाईएको भन्दै आपत्ति जनाएका हुन्।थापाले सामाजिक सञ्जाल र केही अनलाईन पोर्टलहरुले आफ्नो उम्मेद्वारीबारे अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले आफुलाई दुखि बनाएको भन्दै खेद समेत जनाएका हुन् ।

बन्दसत्र स्थल भृकुटीमण्डपमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै महामन्त्रीका उम्मेदवार थापाले आफूले कसैको छोरा वा कसैको बुबा चुनाव लड्दैछ भन्ने हेरेर निर्णय नगरेको बताए ।

महामन्त्रीका लागि गगनसँगै उनका ससुरा अर्जुननरसिंह केसी र बीपीपुत्र शशांक कोइराला पनि चुनावी मैदानमा छन् । कांग्रेस संस्थापन पक्षले केसीलाई जिताउनैका लागि गगन थापा चुनाव लडेको प्रचार गरेपछि उनले त्यसको खण्डन गरेका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै गगनले भने, ‘कसको छोरा र कसको बुबा लड्नु भएको छ भन्ने हेरेर मैले उम्मेदवारी दिने कि नदिने निधो गरेको होइन ।’ सुशील कोइराला जीवित रहँदा नै शीर्ष तीननेताले विश्राम लिएर दोस्रो पुस्ताबाट सभापति र आफ्नो पुस्ताबाट महामन्त्री हुुनुपर्छ आफूले भनेको बताउँदै गगनले भने, ‘यो पुस्ताको प्रतिनिधिले ‘जिम्मेवारी बोक्छौं’ भन्ने चेष्टा गरेको छ ।’

आफू सम्हालिएर यहाँसम्म आएको दाबी गर्दै उनले अघि भने, ‘म आफू महामन्त्री बन्नका लागि जीवनको सबैभन्दा ठूलो राजनीतिक जोखिम उठाएका बेलामा मैले अरु कसैका लागि प्रयोग गरिदिनु पर्ने ? म त्यति मूर्ख राजनीतिकर्मी होइन ।’

गगनले यो चुनाव आफ्नो मात्र नभई महाधिवेशन प्रतिनिधिको पनि परीक्षा भएको बताए । उनले भने, महाधिवेशनबाट घर फर्किँदै गर्दा मलाई किन हराएको भन्दा कुनै परिवारमा नजन्मिएका कारण हराएको भन्ने कि ? के जवाफ दिने ? त्यसैले यो महाधिवेशन प्रतिनिधिको पनि परीक्षा हो ।’

महामन्त्रीका अर्का उम्मेदवार शशांक कोइरालाप्रति इंगित गर्दै उनले भने-परिर्वतन नै ठीक थिएन कि, पुनरावलोकन गर्नुपर्छ कि भन्ने सोचाइले नेपालको पोलिटिकल कोर्ष नै चेन्ज गर्छ ।’

पत्रकार सम्मेलन अघि पनि सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘काँग्रेस भित्रको परिपक्व पुस्ताको विश्वास एवं स्नेह र उर्जाशील युवा साथीहरुको भरोसा एवं साथका कारण आज म महामन्त्रीको उम्मेद्वारको रुपमा महाधिवेशनको मैदानमा छु ।

पार्टी भित्रको स्वस्थ प्रतिस्पर्धामा लागिरहेका बेला आज केही अनलाइन र सामाजिक संञ्जालमा मेरो उम्मेद्वारीका बारेमा अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले मलाई दुखित बनाएको छ । विगतमा पनि मेरो राजनीतिक विश्वासलाई कमजोर र खण्डित बनाउन त्यस्ता प्रयास नभएका होईनन् । यस किसिमका कुनै पनि अफवाहको पछि नलाग्न र थप उत्साहका साथ चुनावी अभियानमा लाग्न सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’