समाजसेवामा बिरौटा क्लबको भूमिका


-सुर्यप्रसाद बराल 

​ प्राकृतिक, भौगोलिक एवम साँस्कृतिक रुपले अत्यन्त शुन्दर नगरी पोखरामा वि.स. २०६० सालमा स्थापना भएको विरौटा क्लवले आफ्नो स्थापना कालदेखि विभिन्न सामाजिक एवम मानविय सेवाका गतिविधिहरु संचालन गर्दै आएको छ ।

स्थापना कालदेखि नै यस क्लवले विभिन्न स्थानमा पटक पटक सफाई, रक्तदान, कार्यक्रमहरू गराउदै आएकोछ।सबै वर्गमा लक्षित गर्दै सामाजिक कार्यहरु गरेको यस क्लबले गृहणी महिलाहरुलाई पनि सूचना प्रविधि र कम्प्यूटर सम्बन्धि आधारभूत तालिम प्रदान गरी सूचना प्रविधिसँग परिचित गराएको छ ।

​ बढ्दो शहरीकरणसँगै मानिसको मृत्यू पश्चात गरिने काज क्रियाका लागि उपयुक्त स्थान र भौतिक संरचनाको अभाव महशुस गरि क्लवका संरक्षक समाजसेवी नन्दप्रसाद आचार्यको अगुवाईमा हाल क्लवको वहुउद्देश्यि भवन रहेको जग्गाका तत्कालिन जग्गा धनिहरु स्व.यज्ञ प्रसाद वरालका परिवारजनहरुसँग जग्गा निशुल्क प्रदान गर्न आग्रह गरिएकोमा स्व.वरालका दुवै धर्मपत्नीहरु सहित छोराहरु यदुप्रसाद, कृष्ण प्रसाद र रविप्रसाद वराल सवैले प्रशन्नता पूर्वक नि:शुल्क जग्गा प्रदान गर्नु भएको थियो । तत्पश्चात क्लवले निर्माण गरेको भवनको उहाँहरुकै आग्रहमा यज्ञशाला भवन नामाकरण गरिएको कुरा स्मरण गर्दछौ ।

​संस्थाको गठन र जग्गा प्राप्तिमा प्रमुख भूमिका निर्वाह गर्नुहुने संस्थापक अध्यक्ष लगायतका पदाधिकारीहरु तथा भवन निर्माण कार्यका लागि आर्थिक श्रोत जुटाई समयमै सम्पन्न गराउन प्रमुख भूमिका निर्वाह गर्ने तत्कालिन विरौटा वहउद्देश्यि यज्ञशाला भवन निर्माण समितिका अध्यक्ष श्री चन्द्रकान्त वरालको योगदानलाई स्मरण गर्दछौ ।

साथै क्लवको गठनपछि क्लवलाई आफ्नो उद्देश्य अनुरुप लक्ष्य प्राप्तितर्फ अगाडी बढाउन आफ्नो कार्यकालमा विभिन्न सामाजिक एवम मानवीय हितका कार्यक्रमहरु सम्पन्न गरी क्लवलाई आजको अवस्थासम्म ल्याउन आर्थिक, भौतिक, नैतिक रुपले योगदान गर्ने पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारी एवम सदस्यहरु, संरक्षक एवम सल्लाहकारहरु, आजिवन सदस्यहरु लगायत सम्पूर्ण सहयोगीहरु विशेष स्मरणीय हुनुहुन्छ ।

देशमा यहि वैशाख १२ को विनाशकारी महाभूकम्प प्रभावित जिल्लाहरु गोर्खा, धादिङ्ग, लम्जुङ्, सिन्धुपाल्चोक लगायतका ठाउँहरुमा पुगेर भूकम्प पिडीतहरुलाई खानेकुरा, लत्ताकपडा, त्रिपाल, भांडाकुँडा आदी अत्यावश्यक सामाग्रीहरु सहयोग गर्नुका साथै कास्की र धादिङ्का भूकम्पले पूर्ण क्षति भएका स्कुलहरुको करिव सातौं चरणसम्म पुन निर्माण गरिएको यहाँहरुलाई अवगत गराउन चाहन्छौ । यस अभियानमा देश विदेशमा रहेर विरौटा क्लव मार्फत हातेमालो गर्ने व्यक्ति, संघसंस्थाहरु धन्यवादको पात्र हुनुहुन्छ ।

फेरी क्लवले संकटको घडीमा राहत अभियानलाई नरोकिकन सामाजिक अभियानकर्मी मोहनराज बरालले संचालन गरेको फेसबुक अभियान कार्यक्रममा (१४औ चरणसम्म) सहयोगी एवम व्यवस्थापनको मुख्य भूमिका खेलेको यस क्लबले भूकम्पले थला थला परेको र पर्यटक आगमन शुन्य रहेको अवस्थामा नेपाली भाषा, संस्कृति जगेर्ना र आन्तरिक एवम वाह्य पर्यटक प्रवर्धन गर्नको लागि यहि वर्ष असार १५ को असारे रोपाई महोत्सवमा मुख्य सहयोगी संस्थाको भूमिका खेलेर कार्यक्रलाई सफल बनायो।

​मुलुकको महासंकटको वेला कास्कीका पिडीतहरुलाई सहयोग गर्दै भूगोलको घेरालाई तोडेर भूकम्पका मुख्य प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको यस क्लवले भारतले लगाएको अघोषित नाकावन्दी विरुद्ध भारतीय पेन्सन क्याम्प मार्फत यहि असोज ११ गते भारतीय दुतावासलाई ज्ञापनपत्र वुझाएको पनि अवगत गराउन चाहन्छौ ।

​यसरी क्लबका पदाधिकारीहरु ,सल्लाहकारहरू,शुभचिन्तक ,देश विदेशमा रहनुभएका सहयोगीमनहरूको साथ र सहयोगमा यसरी सामाजिक गतिविधिलाई निरन्तरता दिदै आएको यस क्लवले अव फेरी एक पटक नेपालको अति विकट जिल्ला मुगुकी सुनकली पढ्ने स्कुलको सहयोगार्थ र कास्की जिल्लाको एकमात्र शुक्रराज उ.मा.वि.मा पशु विज्ञानको पठन पाठन प्रवर्धनकोलागी वहुचर्चित डकुमेन्ट्र “सुनकली” को विशेष प्रदर्शन गर्न लागेका छौं ।

‘मेस्सी’ भनेर चिनिएकी सुनकली बुढा मगरको जीवनमा आधारित ‘सुनकली डकुमेन्टीले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १४ वटा भन्दा बढी अवार्ड जितेको छ।यस डकुमेन्टीले मुगुको शैक्षिक ,साँस्कृतिक ,खेलकुद लगायत बिभिन्न पक्षलाई उजागर गरेको छ भने मुगुको सामाजिक परिवेश, स्थानीय सँस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।करिब १ घण्टा लामो उक्त डकुमेन्ट्रीको निर्देशन गरेका चर्चित पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई डकुमेन्ट्रीमा उतारेका छन् ।

सुनकलीले जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५ मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो। त्यस्तै अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेश्नल फिल्म फेस्टिबलमा यसले ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’हात पारको थियो ।

प्रवासमा धेरै जनाको मन जित्न सफल यस डकुमेन्टी पोखरामा पहिलो पटक बिरौटा क्लबले प्रदर्शन गर्दैछ यहि फागुन २९ गते शनिवार ।सम्भवतः नेपाली डकुमेन्ट्रीको इतिहासमा सबैभन्दा बढी अवार्ड पाउने नाम दरिएको यस सुनकली डकुमेन्टीलाई एकपटक हेरेर सफल वनाउन तथा प्रदर्शनमा यहाँहरुको विशेष सहयोग रहनेछ भन्ने आशा गर्दछौ ।

(लेखक बिरौटा क्लब पोखराको अध्यक्ष हुनुहुन्छ।)