स्विजरल्याण्डका ४५ वर्षे इन्फान्टिनो,फिफा अध्यक्षमा निर्वाचित


युरोपेली फुटबल महासंघ(युइएफए) का महासचिव जियानी इन्फन्टिनो शुक्रबार सेप ब्लाटरलाई प्रतिस्थापन गर्दै फिफा अध्यक्षमा निर्वाचित भएका छन् ।

स्विजरल्याण्डका ४५ वर्षे इन्फान्टिनोले अन्य तीन उम्मेद्वार बहराइन राजपरिवारका शेख सलमान बिन इब्राहिम अल खलिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन र फ्रान्सका जेरोमी च्याम्पाग्नेलाई पछि पार्दै फटबलको सर्वोच्च पदमा निर्वाचित भएका हुन् ।

सात वर्षदेखि युइएफए महासचिव रहेका इन्फान्टिनो प्रतिवन्धमा रहेका अध्यक्ष मिचेल प्लाटिनीको विश्वासपात्र थिए ।

पहिलो चरणको मतदानमा कसैले पनि आवस्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा इन्फान्टिनोले १ सय १५ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी शेख सलमानले ८८ मत पाएका थिए । जोर्डनका राजकुमार अली विनलाई ४ मत परेको थियो भने च्याम्पानीलाई एउटै मत परेन ।