बिदेशमा रहेका ५० लाख नेपालीहरुको आबाज, ” म त भए लाहुरे”


बार्सिलोना/

‘स्कुलबाट फर्किएपछि मही र मकै खान्थे,
घाँस, दाउरा, सोत्तर सोर्न रानी बन जान्थें।
गाई र वाख्रा चराउँदै झ्याउरे गीत गाउँथे,
भाका सुरुवाल काटकुट पारी कट्टु सिलाई लाउाथे।।
म त भए लाहुरे । म त भए लाहुरे, सबले भन्छ लाहुरे,
बोल्छु आधा अंग्रेजी, आधा नेपाली,तिमीलाई भेट्न भनेर आउँछु यसपाली ।’

प्रबासमा जीवन बिताईरहेका करिब ५० लाख नेपालीहरुको भावानालाई “म भए लाहुरे” बोलको गीतले प्रतिनिधित्व गरेको छ। आ-आफ्नै बाध्यताको कारण,रोजगारीको सिलसिलामा होस् वा अध्ययनका लागि विदेशमा बस्दै आएका नेपालीहरुको भावानालाई गीतले छोएको हो। मही,मकै,घाँस, दाउरा,सोत्तर,रानी बन,गाई, वाख्रा र झ्याउरे गीतका भाकाहरुले अतितलाई मानस पटकमा सम्झाई दिएको छ।

“डाँफे नाचेर, फुल कहाँ फुल्छ र हाँगै भाँचेर” चर्चित लोक दोहोरी गीतका गायक बुद्धिसागर बस्यालले, प्रबासी नेपालीहरुको भावानासँग मेल खाने उक्त गीतमा स्वर दिएका छन्।क्यानडामा आँफै पनि बिदेशी जीवन बिताउँदै आएका गायक बस्यालले एक फरक धारको गीतमा स्वर दिएका हुन्।

हरिहर दाहालको रचनामा रहेको गीतमा गायक बस्यालले आँफै संगीत दिदै भिडियो समेत तयार गरेका छन्।अमेरिका, क्यानडा, नेपालका केहि भू-भागहरु दृश्य भिडियोमा देख्न सकिन्छ । बिबिध कारणबाट देश छोडेर प्रबासी जीवन बिताईरहेका नेपालीहरुको भावानालाई गीतले सम्बोधन गरेको हुँदा पनि गायक बस्यालको गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ।