नेपाली फुटबलले इतिहास रच्यो, २३ वर्षपछि साग फुटबलमा स्वर्ण


नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ ।गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे । दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे ।

बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रहेको छ।

यसअघि नेपालले अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दै फुटबलमा २३ वर्षे अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

बंगबन्धु गोल्डकप फुटबलको उपाधि पनि साग फुटबल नै खेलेको यही राष्ट्रिय टिमले जितेको थियो। नेपालले यसअघि सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो ।