विश्व चर्चित लर्डस क्रिकेट मैदानमा,नेपाली टोली उत्रदै


लण्डन–क्रिकेट खेलाडीहरुको लागि ड्रिम क्लबका रुपमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्ने भएको छ। लन्डनको लर्डस क्रिकेट मैदानमा आगामी जुलाईमा आयोजना खेलिने उक्त खेल ५० ओभरको हुनेछ।

नेपाल बेलायत सम्बन्धको दुई सय वर्ष पुगेका अवसरमा लन्डनमा खेल आयोजना हुन लागेको नेपाली दूतावास लण्डनले जनाएको छ। गत सोमबार नेपाल र बेलायतका अधिकारीबीच भएको बैठकले खेल आगामी १९ जुलाईमा गर्र्नेे निर्णय गरेको हो। बैठकमा सहभागी बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार ५० ओभरमा खेलाइने एक खेल मात्र हुनेछ।

तयारी बैठकमा बेलायती पराष्ट्र मन्त्रालयका अधिकारी, एमसीसीका पदाधिकारी, गोर्खा ब्रिग्रेडलगायतको सहभागिता थियो। २८ हजार दर्शक क्षमता रहेको लर्डस मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक खेल्न लागेको हो। कार्यबाहक राजदूत क्षेत्रीले नेपाल–बेलायत सम्बन्धको ऐतिहासिक अवसर पारेर नेपाली खेलाडीले विश्व चर्चित खेल मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउनु खुशीको कुरा भएको बताए।

‘खेल तयारी बैठकमा पराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थितिले बेलायतले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको पुष्टि हुन्छ’, क्षेत्रीले भने, ‘खेललाई ऐतिहासिक बनाउन खेलाडी र बेलायतस्थित नेपाली समुदायको महत्वपूर्ण भूमिका हुनेछ ।’ उनले सो खेललाई सफल बनाउन बेलायतस्थित बिभिन्न संघसंस्थालाई सहयोगका लागि अपिलसमेत गरे। सन् १८१४ मा खोलिएको ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक सन् १८८४ मा टेष्ट म्याच भएको थियो