कांग्रेस महाधिवेशन: पुराना नेता वडामै पराजित –


काठमाडौं । संस्थापन पक्षकै नेताबीच जिल्ला तहमा प्रतिस्पर्धाको स्थिति बनेपछि सभापति सुशील कोइरालासहितका नेता आफ्नो पक्षको बिवाद मिलाउन सक्रिय छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले फाइदा लिनसक्ने भन्दै संस्थापन पक्ष विवाद मिलाउन लागिपरेको नागरिक दैनिकमा समाचार छ ।

आन्तरिक विवाद र प्रतिस्पर्धाले महाधिवेशन प्रतिनिधि छनोटमा असर पार्ने देखिएका जिल्लामा सभापति कोइरालाले निकट नेतालाई टेलिफोन गरी मिलेर अधिवेशन सम्पन्न गर्न आग्रह गरिरहेको निकट स्रोतको दाबी छ ।

आफ्नो बेमेलको फाइदा अर्को पक्षलाई नपुगोस्, मिल्न उहाँ-सभापति कोइराला)ले आग्रह गरिरहनु भएको छ,’ कोइराला निकट स्रोतले भन्यो, ‘राम्रो गर्न भनिरहनु भएको छ ।’

यसैबीच जिल्ला विकास समिति बाँकेमा दुई कार्यकाल सभापति बनिसकेका कांग्रेस पूर्वसभापति ओमजंग राणा शुक्रबार पार्टीको इकाइ बुथ निर्वाचनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भए । नेपालगन्ज उपमहानगरपालिका वडानम्बर २८ को निर्वाचनमा उनले तीन मत मात्रै पाए ।

महिला संघ बाँकेकी सभापति नारायणी रुपाखेती पनि शुक्रबार पार्टीको इकाइको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडानम्बर २ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भइन् ।