बौद्ध विहार तथा स्तुपाका लागि, प्रबासमा १६ लाख रुपैयाँ संकलन


बार्सिलोना/ निर्माणाधीन अवस्थामा रहेको उदय बौद्ध विहार तथा बौद्ध स्तुपा निर्माण कार्य सम्पन्न गर्नको लागि प्रबासमा १६ लाख ६७ हजार ४ सय ७८ रुपैयाँ संकलन भएको छ। बाग्लुंग स्थित रिघा गाउँ बिकास समिति बडा नम्बर १ मा स्तुपा निर्माणको काम सम्पन्न गर्नका लागि १३ देशका ९७ जना सहयोगदाताहरुबाट उक्त रकम जुटेको हो।

धार्मिक तथा प्रर्यटन बिकासका लागि निर्माण गर्न लागिएको विहार तथा स्तुपाको सम्पूर्ण काम पुरा गर्न रकमको अभाव देखिए पछि प्रबासमा रहेका सोहि क्षेत्रका नेपालीहरु कस्सिएका हुन्।

विदेशमा रहेका नेपालीहरुबाट करिब ३० लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाउँने लक्ष्य सहित सुरु गरिएको अभियानमा ३९ दिन भित्रमा नै १६ लाख बढी संकलन भएको डेनमार्कबासी सोमनाथ सापकोटाले बताए। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य समेत रहेका सापकोटाले भने,” प्रबासबाट रकम संकलन हुने क्रम जारी छ, हाम्रो लक्ष्य अनुरुप नै प्रतिबद्दता रकम जुटिरहेको छ।

आर्थिक अभाबका कारण निर्माण कार्यमा ढिला भएको हुँदा १० फिट अग्लो गजुर निर्माण, स्तुप बाहिरको भागमा टायल लगाउनका साथै फिनिसिङको सबै काम बाँकी रहेको आर्थिक अभावका कारण कार्य सम्पन्न गर्न नसकिएकोले भन्दै प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गर्न बुद्ध स्तुपा निर्माण समितिका संयोजक शेरबहादुर काउछाले पत्र मार्फत अपिल गरेका थिए।