एनआरएनएले साउदी अरबमा श्रमिक सर्वेक्षण गर्ने


साउदी अरब । साउदी अरबलगायत खाडी मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या र पीडाहरु बाहिर आइरहेका बखत गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको रोजगारीको अवस्था र स्थितिको सर्वेक्षण गर्ने भएको छ ।

साउदी अरबमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याको पहिचान गर्न तथा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका निम्ती सरकारी निकायको ध्यानाकर्षण गराउनका लागि सर्वेक्षण गर्न लागिएको संघका अध्यक्ष नारायण पासवानले जानकारी दिए । सर्वेक्षण फारम तयार भइसकेको र केही दिनभित्रैमा सर्वेक्षण सुरु गरिने उनले बताए ।

सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्क तथा विवरणहरु एकीकृत गरी त्यसको यथार्थ प्रतिवेदन सम्बन्धित सरकारी निकायमा पेस गरिने संघले जनाएको छ । संघमा आबद्ध एनआरएनकर्मीहरू स्वयम्सेवकका रुपमा खटेर साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारको यथार्थ स्थिति र अवस्था सर्वेक्षण गरिने छ ।

सर्वेक्षणले नेपाली कामदारको अवस्था, समस्या, रोजगारीको सुरक्षा तथा सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को कार्यान्वयनलगायतका विषयमा यथार्थ चित्रण बाहिर आउने विश्वास गरिएको छ । नेपाल र साउदी अरबबीच श्रम सम्झौताको अन्तिम तयारी हुँदै गर्दा संघले यो सर्वेक्षण गर्न लागको हो । नेपाली कामदारको मुख्य श्रम बजारका रुपमा लिइने साउदी अरबमा पाँच लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । रासस