युएईमा कास्की आदर्श सेवा समाजको बनभोज


यूएई । नयाँ वर्षमा कास्की आदर्श सेवा समाज, युएईले वनभोज कार्यक्रम गरेको छ । गत १ जनवरी, शुक्रबारका दिन दुबईको जाबिल पार्कमा सयौं कस्केली तथा नेपालीहरुमाझ नयाँवर्ष शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको हो ।

नेपाली समाज युएईका भूपूअध्यक्ष एवम् कास्की आदर्श सेवा समाज, युएईका संरक्षक कृष्णबहादुर ढकालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा, बाग्लुङ सेवा समाज युएईका अध्यक्ष पिताम्बर पाण्डे, एकता समाज युएइका अध्यक्ष तथा अन्तर्राष्ट्रिय एकता समाजका सदस्य कृष्ण केसी, विशेष अतिथिका रुपमा उपस्थित थिए ।

कास्की घर भई यूएईमा कार्यरत कलाकार श्रीमती सावित्री गिरी, नेपाली कलाकार समुहका कलाकारहरू नरेन साप्कोटा, लक्ष्मी शर्मा तथा अतिथिको रूपमा तथा अन्य संघसंस्था का प्रतिनिधि, स्थानीय व्यावसायी तथा बुद्धिजिवीहरु, संस्थाका संस्थापक, सल्लाहकार लगायत सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी तथा विशेष अतिथिहरुबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । आयोजकको तर्फबाट समाजका संरक्षक ढकालले स्वागत तथा शुभकामना मन्तव्य राख्दै स्थापनाकालको छोटो अवधिमा समाजले विभिन्न सामाजिक कार्य गर्न सफल भएको जानकारी दिए । समाजले यहाँ सामाजिक क्रियाकलापलाई निरन्तरता दिँदै सबै समुदायहरुसँग हातेमालो गरी अगाडि बढ्न सुझाव पेस गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष तथा सभापति गुप्तशेखर पौडेल थिए भने समाजका सचिव केदार कुँवरले कार्यक्रम संचालन गरेका थिए । शुभकामना मन्तब्य दिने क्रममा गायिका सावित्री गिरीले आफनो गीत पस्केकी थिइन् भने स्थापनाको छोटो अवधीमा समाजले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै युएईमा छरिएर रहेका समस्त कस्केलीहरूलाई एकत्रित हुन समाजको सदस्यता लिन आहृवान गरेकी थिइन् ।Uae-picinic शुभकामना मन्तव्यका क्रममा बोल्दै एकता समाज युएइका अध्यक्ष तथा अन्तर्राष्ट्रिय एकता समाजका सदस्य कृष्ण केसीले समाज स्थापना मात्र गरेर नहुने, यसलाई मलजलको खाँचो पर्ने कुरा व्यक्त गर्दै, युएईको बसाइमा खानपान प्रति सचेत रहन उपस्थित सबैलाई आग्रह गरेका थिए ।

बाग्लुङ सेवा समाज युएईका अध्यक्ष पिताम्बर पाण्डेले यस समाजको स्थापनाको छोटो अबधिमा गरेका सामाजिक कार्यहरूको प्रशंशा गर्दै, यस्ता वनभोज कार्यक्रमहरूको आयोजनाले आपसी भाइचाराको वृद्धि हुनुका साथै मजदुरी गरेर थकित भएका मनको भारी बिसाउने चौतारीको काम गर्ने कुरा बताए । नेपाली कलाकार समूहका कलाकार नरेन सापकोटाले प्रतिभाको प्रस्फुटन गर्ने मौका दिएकोमा आभार प्रकट गरेका थिए ।

विविध मनोरन्जनात्मक खेलकुद एवम् साँस्कृतिक कार्यक्रम तथा नेपाली खानाका स्वादिष्ट परिकारका साथ सम्पन समारोहको अन्तिम चरणमा खेलकुद विजेताहरूलाइ समाजका संरक्षक, अध्यक्ष तथा उपाध्यक्षबाट पुरस्कार वितरण गरिएको थियो । उक्त समारोहको अन्त्यमा समाजका अध्यक्ष तथा समारोहका सभापति गुप्त शेखर पौडेल उपस्थित अतिथि गण लगायत सबैलाई धन्यवाद दिदै समाजको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।