साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो , भारतसँग ४- १ ले पराजित


काठमाडौं । भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१ ले पराजित रह्यो । नेपाललाई सेमिफाइनल प्रवेशका लागि भारतविरुद्धको यो खेल जित्न आवश्यक थियो ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित रहेको थियो । लगातार दोस्रो जितसँग भारत समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको छ अंक भएको छ । नेपालको हारले श्रीलंकाको अन्तिम चारको यात्रा पनि तय भएको छ । उसको तीन अंक छ ।

केरालामा भएको खेलमा नेपालले तेस्रो मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध विमल घर्ती मगरले गोल गरे । नवयुग श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएको बलमा बिमलले गोल गरे । यससँगै नेपालले ११ खेलमा गोलको खरेडी तोठियो ।

तर, नेपालले अग्रता जोगाउन सकेन । २६ औं मिनेटमा भारतका रोविलिन बार्गासले बराबरी गोल फर्काए । ६८ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरे भने ८१ औं मिनेटमा लालिनजुआलाले गोल गरे । अन्तिम मिनेटमा लालिनजुआलाले उत्कृष्ट गोल गर्दै भारतलाई ४-१ को जित दिलाएका छन् ।

सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेयता नेपाल यसपल्ट लिग चरणबाटै बाहिरिएको हो । नेपालले तेस्रो मिनेटमा गोल गर्दै राम्रो सुरुआत लिएपनि त्यसलाई कायम राख्न सकेन ।