मृत्यु नजिकैको एडिक्सन लाईफ..”अनुभव सँधैको लागि ‘लत’ बनेर टाँसिरह्यो”


मोहनराज बराल 'मुन'

– मोहनराज बराल “मुन”
​ सुनसान रात छ । म मेरा कोठामा एडिक्सन लाईफ बोकेर पल्टिरहेछु । ओछ्यानमा … । झ्यालबाट भित्रिएका चिसो वतासका स्पर्शहरु लिइरहेछु । त्यसैले मेरा आँखा खुल्ला छन् । रातभरि निद्रादेवीको स्वागतमा लुटपुटी संघर्ष गरेका मेरा आँखा र थकित मनले फेरि अर्को युद्धको सामना गर्नुपरेको छ । वास्तवमा मेरो लाइफ आफैमा बोझ अनि रातहरु कुरुक्षेत्र . ।

आँखा सुनसान अन्धकार रात तिर टल्किराखेको छ । सायद भिजेका परेलीले दिनको अन्तिम धिपधिप गर्ने उज्यालो टिपिराखेको जस्तो छ । म स्वयं एक एडिक्ट आफैमा डेढोपना थकित मनको मात्रै नभइ प्रतिरोधको पनि … । सायद म सँग भएका विकल्पहरुमध्ये एउटै विकल्प यही नै थियो र छ पनि त्यो हो समुन्द्रमा ओछ्यानमा पौडेर वितेका जीवनका स्मृतिमा डुबेर मृत्युलाई नै कुरिरहने।

आहा ! कति रमाइला घमाइला थिए वाल्यपनहरु . । न कुनै चिन्ता थियो त न कुनै पीर। स्कुल जीवनका दैनिक कार्यहरु स्कुल जानु, साथीहरुसँग खेल्नु, पढ्नु, मात्रै यति नै । म पढाईमा मध्यम स्तरकै थिएँ । दिनहरु बित्दै गए रातहरु ढल्दै … । जीवनको ढोका एस.एल.सी.लाई पनि विदाई गरियो राम्रै राम्रै अंङ्कमा … ।

मनमा उमंग जोश र जाँगर बोकेर कलेजका ढोकाहरुमा पुगें । कलेज लाईफको आगमनसंगै साथीहरुको सँगत पनि बढ्दै गयो । प्रायः साथीहरु पढाईलाई गंभीर रुपमा लिदैनथे । जीवनमा रमाइलो गर्नुपर्छ । उमेरमै मोजमस्ती र सवै कुराको अनुभव हुनुपर्छ भन्ने मान्यताहरु राख्दथे ।

​ यसरी बिताउने जीवनलाई नै पुरुषार्थ ठान्थे । म यी मान्यताहरु विपरित थिए तर खै म स्वयं नै आँफैमा अनुत्तरित छु । कसरी म यस्तो मान्यताको गोरेटोमा हिडिरहें ? आखिर म ती मान्यताहरुको प्रतिद्वन्द्वी भएर पनि ..। अनन्त: हाम्रो मित्रताको बन्धन दिनप्रतिदिन झन झन् कसिलो हुदै गईरहयो ।

​ म मित्रताको गहिराईमा यति डुबें कि म पुगेका गहिराईहरुलाई मैले पत्तो पाईन । पछि पछि त अन्धो किसिमले उनिहरुको अनुकरण गरे।यसरी उनीहरुसाथ साथै म पनि नशाले विक्षिप्त हुँदै गएँ । हुन त शुरुका दिनहरुमा म द्धारा विरोध नगरिएको त होइन तर मेरो विरोधमा सधैं सधैं नामर्द शब्द नै द्वन्द्व भएर आउँथ्यो ।

अतः उनीहरुको साथ पाउन, पुरुषार्थ देखाउन र एकचोटी अनुभव लिनकै लागि म स्वयंले मेरा विरोधलाई एकचोटि “गौण” वनाई सेवनलाई सिर्फ एकचोटि मात्रै “प्रधान” वनाउने निर्णय गरे अन्ततः मेरा एकचोटि, दुईचोटि .. । अनुभवहरु सँधैको लागि ‘लत’ बनेर मसँग टाँसिरह्यो । म एउटा माझीको जालमा परिसकेको माछा थिएँ । नशा नै मेरो जीवन बनेको थियो । कलेज जाने बहानालाई सुपथ मूल्यमा विक्री गरेर एडिक्टहरुसँग भौतारि रहनु, तड्पिरहनु नै मेरो दैनिकी नै थियो ।

​ मेरा वहानाहरु काला कर्तुतहरु क्रमशः पर्दा बाहिर रंगमञ्चमा देखा पर्न थाले । आमा/बा को मिठो सपना र विश्वासलाई गलहत्याएर । अव नयाँ जीवनको निमित्त घरपरिवार देखि रामे, श्यामे ……. औं देखि समाजका प्रत्येक सदस्यहरुबाट प्रेरणा पाएँ । तर म भने मेरै दुनियाँमा …. । कति त मलाई सम्झाउँदा सम्झाउदै थकित भए । मैले धेरैबाट आस्था र विश्वासका पहाडहरु पाएँ तर मैले कुल्चिरहे।

ती रुख चौतारी, खोलानाला, बतासहरु वातावरण नै मलाई कुलतमा लाएको देख्न चाहेको थिएन । मलाई लाग्थ्यो तिनिहरुले मलाई नयाँ जीवनको लागी बोलाए झै लाग्थ्यो । मैले यसवेला सोचें धेरै सोचें जव म नशाले विक्षिप्त जीवनलाई ३ महिना जेलको चिसो सिढीमा चाखिराखेको थिएँ ।

मेरा जेलबाट घर फर्काइका गोरेटाहरुमा रामे, श्यामे ….. औं देखि लिएर समाज अनि वातावरणले नै पुन फेरि वोलाइरहन्थ्यो।नयाँ जीवनको मागमा । फेरि आस्था र विश्वासका फूल मालाले मलाई स्वागतम् गरिरहेका थिए । ती गोरेटाहरुले मात्रै सिर्फ ! नयाँ जीवनको वाचामा स्वागत गरिरहेका हुन्थे।मलाई याद छ । त्यसवखत म टीनएजरको विदाइहरुलाई पार गरेर ट्वान्टीएजको सिडी पुग्न खोज्दै थिएँ ।

म ट्वान्टीएजसंगै पुनः जन्मे । जन्मन त जन्मे तर मेरो जन्माइको विश्वास भएन कोही कोही लाई । कस्तो अच्चम क्या ! रामे, श्यामे ‘ औ देखि ….. वातावरण सवै चुपचाप मौन लक्षणको स्तुतिमा । जब म छिपिन छिपिन खोज्छु । तब तब म टुहुरो हुन्छु । नितान्त-एक्लै पाँउछु । शुन्यतामा छाउँछु । मैले पाएका ती थोत्रा आस्था र विश्वासका पहाडहरु क्रमशः सँगै भत्किरहेको पाउँछु । मैले यस बखत,

“वाल्यकालका साथीहरुको साथ पाईन ।
चौतारीको वास पाइन ।
ती गोरेटाहरुका हिड्ने अनुमति पाइन ।”

खोइ तिनीहरु आशा पाउनको लागि आखिर किन विश्वास गुमाउन र दिलाउन चाहन्नन् । मलाई आस्था र विश्वासका फूलमालाले स्वागत गर्ने गोरेटोले आखिर किन हिड्ने अनुमति दिदैनन मैले बुझन सकिन । म अनबुझ र अनविज्ञ भैरहे मलाई छिपाउने दिनहरु बीचबीचमै मेरा विगतका त्रुटि र भुलहरु असिना बनि बर्षिरहे र बर्षाई रहे। चाहे हिउँदमा नै किन नहोस् ? चाहे वर्षादमा नै किन नहोस ? त्यसवेलासम्म पनि नयाँ जीवनमा जीवित नै थिएँ ।

म प्रतिको व्यवहार सवैको उस्ताउस्तै थियो ।
“The society always looks at me -winkable nibble eyes.
-gives me incredible. smiles
When I was birth at the end of the teenager
The society doesn’t give me; faith
The society doesn’t give me;expectancy
But the eyes !society’s eyes!!
But the eyes !society’s eyes !!
-Pale in the sunlight.
-Pale in the sunlight.”

Society का यी एक्सन म माथि सधै प्रहार भइरह्यो । मैले जन्मने बेला खाएको कसम भुल्न वाध्य हुँदै थिए । म मा प्रहारहरु बर्षिरहेका थिए । मैले मौनतालाई आखिर चिरेरै छाडें । म नयाँ जीवनमा जलिरहेर सड्न सकिनँ । बाँच्न पनि सकिन । गोधुलीमा म पुनः अँध्यारो रात तर्फ सदाको लागि उडें ।
I resume addiction life when I was killed by ….
​ फेरी म नशा कै बाटोमा झन् झन् क्रेजी भै लागी परें।त्यसैले मैले आज पापका दण्डहरु ओछ्यानमै पाइरहेछु ।
​ मलाई विश्वास छ, यो रात नै मेरो अन्तिम रातको कुरुक्षेत्र ….. । मलाई यही कुरुक्षेत्रले पापको सजायबाट मुक्ति दिनेछ ।
अवश्य मुक्ति दिनेछ ।
अवश्य मुक्ति दिनेछ ।
(वि स २०५९ तिर रचना गरिएको कथा)