केपी शर्मा ओली नेपालको नयाँ प्रधानमन्त्रीमा निर्बाचित


काठमाडौंं/ नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली मुलुकका ३८ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा ओलीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार सुशील कोइरालालाई हराउँदै मुलुकका नयाँ प्रधानमन्त्री भएका हुन्।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् ।

सहमतिको सरकार बनाउन प्रमुख दल एक ठाउँमा नआएपछि अन्तत: बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन भएको हो ।

ओली २०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । ओलीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका साना दलले समर्थन जनाएका थिए ।

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

सबैलाई साथ लिएर अघि बढ्छु

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।

शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।