कवि पिताम्बर नेपालीको – नाकाबन्दी (कबिता)


कवि: पिताम्बर नेपाली
नाकाबन्दी लगाइदे हिम्मत भए भारत ।
ज्युँदो नेपालीले गर्छ हृदय देखि स्वागत ।।
धुक्धुकीमा भए तातो स्वाभिमान जगाउँला ।
आत्म निर्भरको बाटो मिलीजुली समाउँला ।।
हामी केमा कमी छौं र निमुखो बन्नु पर्दछ ?
अस्तित्व नै गुमाएर किन लत्रिनु पर्दछ ?
यो हाम्रो घरको आफै चाँजोपाँजो मिलाउन ।
समर्थ छौं भने हामी अरुको किन गन्गन ?
नाकाबन्दी छिटै लागोस बर्सौंवर्ष रहीरहोस् ।
आर्काको मुख ताकेर बाँच्ने बुद्धि पनि हटोस् ।।
संकट पार गर्नेले स्वर्गीय सुख भोग्दछ ।
अर्काको भरमा बाँच्ने जिउँदो लाश बन्दछ ।।
व्यापार कसको सुक्छ नाकाबन्दी लगाउँदा ?
जोगिन्छ कसको पैसा किन्ने चिज नपाउँदा ?
नेपाल देश हाम्रो हो हामी मालिक हौं भने ।
थिचोमिचो सही बाँच्नु हैन सुहाउने भने ।।
उठ ए वीर नेपाली एक भै हिंड्नु पर्दछ ।
हामीलाई फुटाउने शत्रु हो चिन्नु पर्दछ ।।

(कवि नेपालका बरिष्ठ साहित्यकार हुनुहुन्छ।उहाँ जनमुखि बहुमुखि क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख पनि हुनुहुन्छ।)

तपाईको प्रतिक्रिया