दाहाल र लम्साललाई एनआरएन पत्रकारिता पुरस्कार प्रदान गरिने


लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ पत्रकारद्वय दीपा दाहाल र होम लम्साललाई संयुक्त रुपमा दिइने भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिको हालै सम्पन्न बैठकले दाहाल र लम्साललाई सो पुरस्कार दिने निर्णय गरेको हो । छनोट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय डा. सुरेश आचार्य र भगीरथ योगी रहेका थिए।

pic-2अन्नपूर्ण दैनिकमा कार्यरत दाहाललाई नेपालको जाजरकोटमा फैलिएको महामारी र भूकम्पका बेला स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने समाचार लेखेवापत सो पुरस्कार प्रदान गरिएको हो । लम्साललाई टेलिभिजनमार्फत् यूरोपस्थित नेपालीहरुले भोगेको कागजातसम्बन्धी समस्याबारेको रिपोर्ट वापत सो पुरस्कार दिने निर्णय गरिएको हो । यसअघि लम्साललाई गैरआवासीय नेपाली संघको स्पेनमा सम्पन्न यूरोपीयन भेलामा सम्मान पनि गरिएको थियो ।

गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङले युकेको जनसमुदायबाट संकलित सहयोगबाट स्थापना भएको अक्षयकोषमार्फत नेपालमा कार्यरत पत्रकारहरुलाई सम्मान गर्न पाउनु खुशीको खबर भएको बताए ।

गैरआवासीय नेपाली संघले नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा र पत्रकार संगीता मरहठ्ठा रहेको अक्षयकोष सञ्चालन समिति गठन गरेको थियो ।
एकलाख एक हजार रुपियाँ राशीको सो पुरष्कार दाहाल तथा लम्साललाई संयुक्तरुपमा गैरआवासीय नेपाली संघको आगामी विश्वभेलाका क्रममा काठमाडौंमा प्रदान गरिने कार्यक्रम रहेको छ।