स्याङ्जाको ग्रामिण ईलाकामा तीज विशेष मेला सम्पन्न


स्याङ्जा/ ‘नेपाली कलासँस्कृतिको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुल नाराका साथ स्याङ्जाको पश्चिमी ईलाका रापाकोट—३, आग्रिखर्कमा तीज विशेष साँस्कृतिक मेला सम्पन्न भएको छ। अनेक तडकभडक र पश्चिमा सँस्कृतिले जरो गाडेको बेलामा हाम्रै सँस्कृतिमा रमाउनुपर्छ, स्थानिय भेषभुषाको जगेर्ना गर्नुपर्छ, हाम्रो गाउँ हाम्रो नाउँ भन्ने उद्देश्यका साथ तीज मेला सम्पन्नभएको हो ।

देउराली भन्ज्याङ् सक्रियसमूह रापाकोट—३, आग्रिखकले आयोजना गरेको कार्यक्रममा स्याङ्जा तथा पर्वतका विभिन्न गाबिसबाट स्थानियहरुले सहभागिता जनाए। स्याङ्जा र पर्वतको सिमाना नजिकै कार्यक्रम भएको हुँदा उनीहरुको भेषभुषालाई उच्च प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

पुराना तिज भाका हरुको दोहोरी घम्साघम्सी, स्याङ्जा तथा पर्वतमा प्रचलिच लोप हुन लागेको सालैजो ठाडो भाका, तीज नृत्य प्रतियोगिता, गन्धर्व जातिले गाउने सारङ्गी भाका, मौलिक सँस्कृति बोकेका सालैजोभाका, लगाएत चर्चित कलाकारहरुको सन्देशमूलक गितको प्रस्तुति रहेको थियो। यस बर्षको कार्यक्रम राष्ट्रिय कलाकारहरुको प्रस्तुति तथा हास्यव्यङ्य प्रहसनले गर्दा दर्शकहरु रमाए।

प्रमूख अतिथिको रुपमा पोखरा छोरेपाटन निवासी समाजसेवि ईश्वरी लम्सालले मेलाको उद्घाटन गरेका थिए। कार्यक्रमको सन्चालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जा जिल्ला कार्यसमितिका सदस्य एवम् सालैजो गायक रुद्र प्रसाद लम्साल तथा गायक नविन काफ्लेले गरेका थिए ।