युरोपमा मानवतस्कर बढ्दो,लरीमा ७१ मृत आप्रवासीहरु फेला परे


अष्ट्रियामा बिहीबार अलपत्र छाडिएको एउटा लरीमा ७१ मृत आप्रवासीहरु फेला परेका छन्। चार जना बालबालिकाहरु सहित यति ठुलो संख्यामा शव फेला परेको बिबिसीले जनाएको छ।

अलपत्र छाडिएको एउटा लरीमा आप्रवासीहरु मृत फेला परेका थिए। प्रहरीले उनीहरु सिरियाली शरणार्थीहरु हुन सक्ने जनाएको छ। उनीहरुको ज्यान कसरी गयो भन्ने बारे पक्का जानकारी नभएपनि उनीहरु निसास्सीएर मरेका हुन सक्ने अनुमान गरिएको छ। ५९ जना पुरुष तथा आठ महिला रहेको आप्रवासीहरुको त्यो समूहलाई फेला पार्नु दुई दिन अघि नै उनीहरुको मृत्यु भैसकेको अनुमान गरिएको छ।

पहिले आशंका गरिए भन्दा धेरै मानिसहरुको ज्यान गएको पाइएको छ। ती मानिसहरु चिसो पारिएको लरीको पछाडीको भागमा लुकेर बसेका थिए। यस सम्बन्धमा अनुसन्धान गर्दा हंगेरीमा चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हंगेरीमा पक्राउ परेकाहरु मध्ये एकजना लेबनानी मूलका बल्गेरियाली नागरिक पनि छन्। उनी उक्त लरीका मालिक भएको बताइएको छ। अन्य दुईजनाले चाहिं सो लरी चलाएर अष्ट्रिया पु-याएका अनुमान गरिएको छ। चौथो व्यक्ति अफगान भएको बताइएको छ।
युरोप पुग्ने प्रयासमा रहेका आप्रवासीहरुले ज्यान गुमाएको पछिल्लो घटना पछि अष्ट्रियाकी आन्तरिक मामिला मन्त्रीले युरोपले मानवतस्करहरु विरुद्ध कडा कार्वाही गर्न आवश्यक रहेको जनाएकी ‌छिन्। अष्ट्रियामा अलपत्र छाडिएको एउटा लरीमा आप्रवासीहरु मृत फेला परे पछि उनको त्यस्तो भनाइ आएको हो।

उनले भनेकी छिन् “अब युरोपले मानव तस्करहरुबाट उत्पन्न समस्यासंग मिलेर जुध्ने बेला आएको छ।”  प्रहरीले उनीहरु मानव तस्करी गिरोहका तल्लो तहका सदस्यहरु भएको जनाएको छ। हंगेरीको नम्बर प्लेट भएको उक्त लरी बुधबार बिहानै बुडापेस्टबाट गुडेको बुझिएको छ।

बिहीबार अष्ट्रियाको प्रहरीले फेला पार्नु अघि चौबिस घण्टासम्म उक्त लरी त्यतिकै पार्क गरेर राखिएको थियो। त्यस्तै लिबियाको तटपारी समुद्रमा झण्डै दुईसयजनाको ज्यान गएको आशंका गरिएको छ। हालैका महिनाहरुमा मध्यपूर्व र अफ्रीकाका संकटग्रस्त राष्ट्रहरुबाट लाखौं आप्रवासीहरुले युरोप प्रवेश गर्ने प्रयास गरेका छन्।

गत महिना मात्रै एक लाख सात हजार पाँचसय आप्रवासीहरु युरोपेली संघको सीमा भित्र प्रवेश गरेका थिए। ती मध्ये केहीले आफुहरुलाई गैरकानूनी रुपमा युरोपमा पुराइदिनका लागि मानवतस्करहरुलाई धेरै ठूलो रकम बुझाएको हुनसक्ने ठानिएको बिबिसी समाचारमा उल्लेख छ।