लेखनाथमा अन्तर्राष्ट्रिय चिडियाखाना बन्ने


– सन्देश श्रेष्ठ
पोखरा / कास्कीको लेखनाथ नगरपालिकास्थित पचभैयामा ‘पोखरा अन्र्तराष्ट्रिय चिडियाखाना’ निर्माण गरिने भएको छ ।लेखनाथको वडा नम्बर ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनको १ सय ३४ हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गरिने भएको हो ।

चिडियाखानाको यहि साउन १५ गते शिलयान्स गरिने आइतवार चिडियाखाना निर्माण स्थल पचभैयामा आयोजित पत्रकार सम्मेलनमा पोखरा अन्र्तराष्ट्रिय चिडियाखाना निर्माण समिति संयोजक हिमालय वख्रेलले जानकारी दिए । वन तथा भु-संरक्षण मन्त्री महेश आचार्यले चिडियाखानाको शिलान्यास गर्ने कार्यक्रम छ ।

चिडियाखाना स्थापनाको लागि विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएको यूनाइटेड क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानिय प्रशासन, स्थानिय निकाय, राजनीतिक दलहरु, विभिन्न संघ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्य अघि बढेको हो ।

आगामी पाँच वर्ष भित्रमा चिडियाखाना निर्माण गरिसक्ने लक्ष्यका साथ काम थालिएको वख्रेलले बताए । उनले एक वर्ष भित्र १ सय ३४ हेक्टर क्षेत्रलाई तारजाली लगाएर खुल्ला चिडियाखाना घोषणा गरेर अवलोकनको व्यवस्था गरिने बताए ।
उनका अनुसार चिडियाखाना अवलोकनको लागि तारजालीको डोम निर्माण गरिनेछ भने जनावार, पंक्षी खुल्ला छाडिनेछ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै भविश्यमा विश्वभरको हावापानीमा पाईने पंक्षी तथा जनावरको कक्ष बनाउने लक्ष्य राखिएको बख्रेलले जानकारी दिए ।

सामुदायिक वनमा भएका जनावारको संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रर्दशनी समेत निर्माण गरिनेछ । वन्यजन्तुलाई उद्धार गर्न र तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राखी वन्यजन्तुको संरक्षण केन्द्र स्थापना गरी यसलाई सुरक्षित र खुल्ला चिडियाखाना बनाइने बख्रेलले बताए ।
चिडियाखानामा वाल उद्यान, बल्छी हान्नेे पोखरी, डुङ्गा शयर गर्नका लागि ताल, जंगल सफारी लगायत अतिरिक्त क्रियाकलापलाई पनि समेटिनेछ । एक वर्ष भित्र तारजली लगाई चिडियाखाना निर्माण स्थललाई जंगल सफारीको रुपमा प्रयोगमा ल्याउने लक्ष्य लिइएको बख्रेलले जानकारी दिए ।

पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घिमिरेले उक्त वनमा ३ सय ६१ प्रजातिका वनस्पति र १ सय ७५ प्रजातिका जडिबुटी पाइनुका साथै बाघ, मृग, अजिंगर, चरा चुरुङ्गी पाइने बताए ।