एनआरएनए स्पेनको अध्यक्षमा गुरुङ र रिजालको उमेद्वारी घोषणा


 

बसन्त रानाभाट
बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा मुक्त्त बहादुर गुरुङ र बिष्णु रिजालले उमेद्वारी घोषणा गरेका छन्। संघको चोथौ अधिबेशनबाट नयाँ नेतृत्वको दुवै जनाले दावी गर्दै उमेद्वारी घोषणा गरेका हुन्।

रिजाल नेपाली जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष हुन् भने गुरुङ प्रबासी नेपाली मंच स्पेनका निबर्तमान अध्यक्ष एवम हालका संरक्षक हुन्। तर गुरुङले संघको नेतृत्वको दावी गर्दै संरक्षक पदबाट राजिनामा दिई सकेका छन्। रिजालले पनि समितिको पदबाट राजिनामा अध्यक्षलाई बुझाईसकेको बताएका छन्।

प्यानलमा नै उत्रिए दुई संगठन

काग्रेस निकट जनसम्पर्क समिति र एमाले निकट प्रबासी मंचले आगामी नेतृत्वको दावी गर्दै चुनाबी प्यानलनै घोषणा गरेका छन्। एनआरएनका पुर्व महासचिव सहित रहेका रिजालको नेतृत्वमा समितिले प्यानलनै घोषणा गरेको हो। समितिले अन्तराष्टिय समन्वय परिषद् सदस्यका लागि संघका बर्तमान अध्यक्ष एक राज गिरी, उपाध्यक्षमा सन्दीप मोहन भट्टराई ,महासचिवमा उमेश अधिकारी र कोषाध्यक्षमा पेशल कोईरालाको उमेद्वारी घोषणा गरेको छ।

यता एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट उपाध्यक्ष बनी काम गरिसकेका गुरुङ्को प्यानलमा मंचले वर्तमान अन्तराष्टिय समन्वय परिषद् सदस्य दीपक खरेललाई पुन: सोहि पदका खडा गरेको छ। यस्तै मंचले उपाध्यक्षमा २ जना शिव कुमार लामिछाने र राजु वस्नेत , महासचिवमा हेम शेर्पा, सचिवमा निल बहादुर गुरूङ् ,कोषाध्यक्षमा सुवास रानाभाट, यूवा संयोजकमा मोहन पौडेल, महिला संयोजकमा रितु ढुंगाना रेग्मीलाई अघि सारेको छ।

नछोड्ने र तोड्ने मोडले सहमती हुन गाह्रो

यस अघिका कार्य समितिमा संघको अध्यक्षको नेतृत्व सम्माल्दै आएको जनसम्पर्क समितिले नेतृत्व छोड्ने पक्षमा देखिएको छैन।

यता प्रबासी मंचले पहिलो पटक नेतृत्व लिदै परम्परा तोड्ने पक्षमा उभिएको छ। दुवै संगठनले मूलत: अध्यक्षमा दावी नछोड्ने र तोड्ने मोडले स्पेनको ईतिहासमा पहिलो पटक नेतृत्वको लागि चुनाब हुने संकेत मिलेको छ।

एकताको महाधिबेशन गर्दै सबै माओवादी विचार धारालाई एकिकरण गर्दै बनेको नेपाली जनप्रगतीशिल मंच स्पेन भने चुनाबको बिपक्षमा उभिएको छ। मंचले कुनै पनि हालतमा सहमति गरेर जानु पर्नेमा जोड दिएको छ।

स्पेनमा खुलेका जातीय तथा क्षेत्रीय संघ संगठनहरुले पनि अध्यक्ष बाहेक अन्य पदहरुमा दाबी गरिसकेका छन्। समन्वय समितिले आयोजना गर्दै आएका वैठकहरुमा दाबी गर्दै आएका हुन्। राजनीतक,क्षेत्रीय,जातीय संघ संस्थालाई मिलाएर सहमतिमा एनआरएन कार्य समिति बन्दै आएको स्पेनमा अहिले भने निकै कठिन देखिएको छ।

तमु समाजबाट गौतम गुरुङको उपाध्यक्षमा उमेद्वारी

जनसम्पर्क समिति र प्रबासी मंच प्यानल नै बनाएर चुनाबी संकेत दिईरहेको बेला तमु समाज स्पेनले गौतम गुरुङलाई एनआरएनको उपाध्यक्षमा उमेद्वारी घोषणा गरेको छ।समाजका निर्बतमान महासचिब समेत रहेका गुरुङ्लाई बिहिबार बसेको बैठकले उमेद्वारी घोषणा गरेको हो।

यस्तै समाजले एनआरएन अध्यक्ष र सचिबमा दाबी गरेका मुक्त बहादुर गुरुङ र निल बहादुर गुरुङ्लाई सघाउने भएको छ। समाजका सदस्यहरु समेत रहेका दुबैले आँफुलाई सहयोगको लागि बैठकमा अनुरोध गरे पछि एकमतले सहयोग गर्ने निर्णय गरेको समाजको बिज्ञप्तिमा उल्लेख छ।

प्यानल बन्नु निर्बाचन नियमावली बिपरित

राजनैतिक,जातीय, क्षेत्रीय,धार्मिक आधारमा कुनै पनि समुह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत मतको अधारमा चुनाब लड्न वा समुहगत मतको आब्हान गर्न वा प्रचार गर्न नपाईने नियमावलीमा उल्लेख छ।

अन्तराष्ट्रिय समन्वय समतिले बनाएको राष्ट्रिय अधिबेशन,संचालन सम्बन्धि नियमावलीको धारा ४ को उपधारा ८ मा सो कुरा उल्लेख गरिएको छ। स्पेनमा हालै देखिएको पछिल्लो गतिबिधि पनि नियमावली बिपरित छ।तर यो बारे स्पेनमा गठित निर्बाचन समितिले अहिले सम्म कुनै आधिकारिक धाराणा सार्बजनिक गरेको छैन।

राजनीतिक, जातीय वा धार्मिक संस्थामा आबद्ध ब्यक्तिले एनआरएनको केन्द्रीय वा राष्ट्रिय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा त्यस्ता संस्थासँग आबद्धता तोडेको प्रमाण पेश गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ।

फोटो डिजाईन – प्रकाश तिवारी