एनआरएनले राहत बितरणको प्रतिबेदन सरकारलाई बुझायो


काठमाडौं/  गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई भेटेर गैरआवासीय नेपाली संघले राहत वितरण सम्बन्धी विस्तृत प्रतिवेदन गृहमन्त्री गौतमलाई हस्तान्तरण गराएका छन् ।

बुधबार  गृह मन्त्रालयमा भएको भेटमा उनले गैरआवासीय नेपाली संघले तीन हप्ताको अवधिमा गाउँगाउँ पुगेर त्रिपाल, खाद्यान्न र औषधि वितरण गर्नुका साथै स्वास्थ्य शिविरसमेत संचालन गरिएको जानकारी दिए ।

अध्यक्ष घलेले राहत वितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायले  गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताए । सबै जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी उनीहरुले सिफारिस गरेको स्थानमा राहत वितरण गरिएको घलेले जानकारी दिए ।

३५ करोड रुपैयाँको लागतमा करिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसँगको सहकार्यमै पुनर्निर्माण अभियानमा साझेदार बन्न लागेको स्पष्ट पारे ।