च्यारिटी डिनरबाट भूकम्प पीडितलाई स्पेनमा ११ लाख रुपैयाँ संकलन


बार्सिलोना/ भूकम्पले देशमा निम्ताएको महाविपत्तीलाई मिलेर सामना गरौ भन्दै स्पेनमा बिभिन्न शहरहरुमा राहत संकलन कार्यलाई तिब्रता दिईएको छ । फरक फरक तरिकाबाट सहयोग जुटाईरहेको बेला स्पेनको कोस्टाब्लान्का क्षेत्रमा च्यारिटी डिनर आयोजना गरि राहत संकलन गरिएको हो।

मोराईरा तथा आल्तियामा रहेको हिमालय तन्दुरी रेष्टुरेन्टले बिदेशीहरुको आग्रहमा नै च्यारिटी गरि रकम जुटाएको छ। दुई दिनसम्म चलेको च्यारिटी मार्फत करिब ११ लाख रुपैयाँ (९ हजार ३  सय ४० युरो ८० सेन्ट ) संकलन भएको छ।

च्यारिटी कार्यक्रममा ८० प्रतिशत भन्दा बढी बेलायतीहरुको सहभागिता रहेको थियो। स्पेन,नर्भे,बेल्जीयमका नागरिकहरुले पनि च्यारिटीमा सहभागिता जनाउदै सहयोग गरेका थिए। रेष्टुरेन्टका संचालकहरुले खर्च पनि नकटाई संकलित रकम नेपालका भूकम्प पीडितहरुलाई छुट्टाएका छन्। बागलुङ्का केशरबहादुर थापा,अन्जु पुन तथा आइरिस नागरिक ब्रायान र निना दोहर्तीले संयुक्त रुपमा मिलेर रेस्टुरेन्ट संचालन गर्दै आएका हुन्।

IMG_3493

संचालक मध्येका एक थापाले नेपालीनेपाली डटकमलाई भने, “संकलन भएको रकम कहाँ दिने भन्ने बारे हामीले सोची रहेका छौ,हप्ता १० दिन भित्रमा नै रकम पठाउँछौ तर राहत पीडितले नै पाओस्।” बिदेशीहरुले सहयोग गर्न चाहेर नै च्यारिटीको आयोजना गरेको बताउँदै थापाले संकलित रकम पीडितको बस्तीमा पुर्याउन हरदम कोशिस गर्ने बताएका छन्।

रकम संकलन कार्यमा पारदर्शीता होस् भन्दै रेष्टुरेन्टले पत्रकार प्रकाश तिवारी सहित एक बिदेशी नागरिकलाई जिम्मेबारी दिएको थियो।

तस्बिर – प्रकाश तिवारी

IMG_3153