“धन्य मेस्सी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतीमा शिर झुकायौ”


-किरण मरहठ्ठा

नेपालमा महाभूकम्प जानुभन्दा ठीक ११ दिनअघि मैले बार्सिलोना फुटबल क्लबको मुख्यालयमा विश्व विख्यात फुटबलर लिओनल मेस्सीको अन्तर्वार्ता लिएँ । करिब चार वर्षको प्रयत्न पछि जुरेको मेस्सी सँगको आधा घण्टाको भेटमा म यो निष्कर्षमा पुगें कि उनी महान फुटबलर भन्दा धेरै गुणा ज्यादा असल मानिस पनि रहेछन् ।

बार्सिलोना क्लबकै अधिकारीहरुका भनाईमा ‘त्यो असम्भव तर मेरो भाग्यले जितेको’ भेट थियो । क्लबका अन्तर्राष्ट्रिय विभाग प्रमुख चामी टेरेज मेस्सीसँग भेट्नु अघि अन्तिम मिनटेसम्म पनि भन्दै थिए, “हामीले लियोसँग कुरा गर्यौ तर यो तब मात्र सम्भव मान्नु जब ऊ तिम्रो क्यामेरा अगाडि बोलिरहेको हुनेछ।”

बार्सामा मेस्सीलाई मायाँ गरी लियो नामले पुकारिन्छ । मेस्सी आफैं पनि मेस्सी भन्दा लियोका नामले बोलाइँदा खुसी मान्दा रहेछन् । उपहार स्वरुप उनको हातमा नेपाली ढाकाटोपी थमाउँदै मैले भनें, ‘ प्रिय लियो, ‘हामी नेपाली तिम्रो खेल कलाको ठूलो प्रशंसक हौं ।’ उनी मुसुक्क मुस्कुराए र भने, ‘तपाईंहरुको मायाको सधैं भोको छु र यो उपहार मैले आजसम्म पाए मध्येकै ‘युनिक’ उपहार हो ।मेस्सीअघि मैले ब्राजिलियन क्याप्टेन नेयमार जुनियर, बार्सिलोनाका क्याप्टेन जाभी हर्नान्डेज र जेराड पिकेको अन्तर्वार्ता गरिसकेको थिएँ ।

दुर्भाग्यवस मेरो नेपाल आगमन र महाभूकम्प एकै समयमा परेछ । भूकम्प पछि सञ्चार सम्पर्क विच्छेद प्रायः थियो । जब मैले आफू नेपाल फर्केको खबर दिन बार्सिलोना क्लबमा फोन गरें, त्यसपूर्व नै उनीहरुले म, मेरो परिवार र भूकम्प पछिको नेपालको अवस्थाका बारेमा बुझ्न इमेल गरिरसकेका रहेछन् । बार्सिलोना क्लबको इमेलमा भनिएको थियो, ‘यो महाविपत्तिका बेला हामी नेपाल र नेपालीको साथमा छौं, हामीले केही गर्नुपरे भन्न नहिच्किचाउनु ।’ जवाफी मेलमा नेपालकोे अवस्थाबारे बताएँ र मेस्सी आफैंले महा विपत्तिमा परेका आफ्ना नेपाली समर्थकका लागि मुख खोल्न जरुरी छ भनेर सुझाएँ । सँगै मैले यो पनि भनें कि ‘यो महावित्तिका बारेमा नाउ क्याम्प (बार्सिलोना क्लबको रंगशाला) मा भूकम्पमा दिवंगत भएकाहरुको सम्झनामा केही गरियोस्, जसले विश्व खेलजगतको ध्यान नेपाल तिर पर्न सकोस् ।

kiran-1-785x1024

मेस्सी सहित उनका टिमका सबैले भूकम्पमा बितेका नेपालीको सम्मानमा एक मिनेट आफ्नो गहु्रँगो शिर निहु¥याए । यो दुःखका बेला हाम्रा लागि सुखद् खबर थियो । यो खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत महत्वका साथ बाहिर ल्याए र स्पेनका सबै मिडियाको प्रमुख समाचार बनेको थियो । दुई साता क्याम्प नुमा बिताउँदा बार्सिलोना क्लबका धेरै अधिकारी र खेलाडीसँग भेट भयो, जसलाई नेपाल थाहै थिएन । उनीहरु मेरो ढाका टोपीमा देखिने क्रस खुकुरी र मैले सधैं ओढ्ने राष्ट्रिय झण्डामा आकर्षित हुन्थे र नेपालका बारेमा धेरै प्रश्नहरु गर्थे । जब दिवंगत नेपालीको सम्झनामा बार्सिलोना रंगशालामा उपस्थित करिब एक लाख दर्शकमाझ एक मिनेट मौन धारण गरियो, तब मैले सोचें कि उनीहरुले अब नेपाल कहिल्यै बिर्सने छैनन् । एक प्राकृतिक विपतले ध्वस्त पारेको देश । नेपालमा मेस्सीको क्लबले गरेको कार्यको प्रशंसा भयो । अहिले पनि त्यसको चर्चा भइरहेको छ ।

मैले सुरुमै भनें कि ‘लियो महान खेलाडीभन्दा ज्यादा असल मानिस हुन्’, जसको पुष्टि उनले मजस्तो एक सामान्य पत्रकारको आग्रहमा मानवीय संवेदनाको गहनता देखे र विश्वसमुदाय माझ ट्वीटमार्फत अपिल गरे, ‘नेपालका १० लाख बालबालिकाको ज्यान जोखिममा छ, बचाउन मद्दत गरौं ।’ म लगातार बार्सिलोना क्लबका अधिकारीहरुसँग सम्पर्कमा छु । बार्सिलोना क्लबको नीतिअनुसार उनीहरु युनिसेफमार्फत सामाजिक कार्यहरु गर्छन् । जस अन्तर्गत मेस्सी स्वयम् ब्राण्ड एम्बास्डर रहेको ‘वन इन ११’ नामक परियोजना बार्सिलोना क्लबको साझेदारीमा युनिसेफमार्फत नेपालमा समेत लागू हुँदैछ । जुन परियोजनाले जोखिममा परेका बालबालिकाहरुको हितमा काम गर्ने छ । तसर्थ बार्सिलोना क्लबले अहिले तत्कालै भूकम्प पीडितलाई कति आर्थिक सहयोग दियो भन्ने प्रश्न गर्नु मेरो विचारमा हतारो हुनेछ ।

म आज खुसी छु, यस अर्थमा कि मेरो भ्रमण र सानो पहलमा बार्सिलोना क्लब र मेस्सी स्वयम्ले यो महाविपत्तिमा जुन उचाइको ऐक्यबद्धता देखाए, त्यसले दुःखिरहेको नेपाली मनहरुमा थोरै भए पनि मलम पट्टी गरेको छ । मेरो स्वागतका लागि आयोजित कार्यक्रममा क्लबका अध्यक्ष जोसे मारियो बर्तमाउले मैले ओढेको नेपाली झण्डातर्फ इंगित गर्दै भनेका थिए, ‘जुन देशको झण्डा यति राम्रो छ, त्यो देश कति सुन्दर होला ? भर्खरै मैले उनलाई इमेलमा भनें, ‘डियर मारियो मेरो देश तिमिले सोचेभन्दा सुन्दर हो, तर प्रकृति निर्दयी भइदियो ।’