स्यावास छोरी भन्न पनि पाईन “छोरीलाई सेतीले बगायो, यादहरुले हामीलाई बगायो”


– अमृत सुवेदी

पोखरा / ‘बाबा तपाईहरुले धेरै दुःख गर्नुभयो । अब दुःख गर्ने मेरो पालो । म पढ्न अष्ट्रेलिया जान्छु । पैसा कमाउँछु । अनि नेपालमै फर्केर स्वास्थ्य क्षेत्रमा काम गर्छु । कार किन्छु । तपाईहरुलाई घुमाउँछु’, अर्जना श्रेष्ठले आफ्नो सपना सुनाउँदा दिलिप दोषीको छाती हर्षले फुलेको थियो । बाबुछोरी सँगै पल्टेर जीवन र भविष्यका विषयमा कुरा गरेको त्यो रात नै अन्तिम रात बन्यो । सेती बाढीले त्यसको भोलीपल्ट सपनाहरुसँगै अर्जनालाई पनि बगायो । २०६९ साल बैशाख २३ गते फिकनिक खान गएकी छोरी घर फर्किनन् । तर, उनका यादहरुले फर्किफर्कि चिथोरीरहेको छ दिलिप दाषीको परिवारलाई ।

सेतीमा आएको भिषण बाढीले अर्जनालाई निलेको बुधबार तिन बर्ष पुरा भएको छ । तर, दिलिपलाई अझैपनि छोरी कतैबाट बाबा भन्दै आउँछे की जस्तो लागिरहन्छ । बुधबार दिलिपको घर पुग्दा उनी अर्जनाको अन्तिम पटक खिचिएको तस्विर, उनले पाएको प्रमाणपत्र ओल्टाइपल्टाइ हेरिरहेका थिए । ‘याद भन्ने चिज नै यस्तै रहेछ नआइ पनि मान्दैन, नआइदिओस् जस्तो पनि लाग्दैन’ हालखवर सोधेर नभ्याउँदै दिलिपका आँखा रसाए । बुधबार विहानैदेखि उनमा जाँगरै पालाएन । भोकप्यास लागेन । अर्जनाको फोटो हेरेरै याद मेटाउँदै बसे । ‘सम्झनाले कहाँ छोड्दो रहेछ र ? आँखा वरिपरी घुमिरहन्छ’ दोषीले भने‘ न छोरीको याद मेटाउन सक्छु । न छोरीको नाममा राम्रा काम नै गर्न सकेको छु ।’

तिन बर्ष पहिले गएकाे सेती बाढीले कास्कीमा ठुलो जनधनको क्षति पुर्‍यायाे। सेती अाफु मात्रै बगेन धेरैकाे सपनाहरु पनि बगायाे । अकल्पनीय रुपमा सेतीमा आएको भिषण बाढीले ३१ बढीकाे शव भेटिएको थियो भने ३१ बढी मानिस वेपत्ता भए ।

पोखराको ला ग्राण्डीमा ‘व्याचलर हेल्थ’ पढ्दै गरेकी अर्जनालाई साथीहरुसँगै सार्दिखोलाको खारापानीमा पिकनिक खान जाँदा सेती नदीमा आएको बाढीले बगाएको थियो । १६ जना साथी मध्ये अर्का एक साथी चेतबहादु थापा बेपत्ता भए । ‘क्याम्पसको आन्तरिक परिक्षामा राम्रो नम्वर आएका कारण उसले नै पिकनिको प्रस्ताव राखेकी रहिछ’ दोषीले त्यही दिनको सम्झना गर्दै भने ‘मैले त्यसपछि एक पटक स्यावास छोरी भन्न पनि पाईन ।’ त्यस दिन उनी घरमै काम गर्दै थिए । टिभिमा सेतीमा बाढी आएको समाचार देखेपछि उनले अर्चनालाई फोन गरे ।

तर, अर्चनाको फोन अर्कैले उठायो । फोनमा चिच्चाइरहेको र कोलाहल सुनेपछि उनलाई शंका लाग्यो । उनका साथिले भने ‘अर्जना कहाँ छ थाहा छैन । तपाई छिट्टै आउनुस् ।’ विहान ९ बजेर ४० मिनेट जाँदाको त्यस समय सम्झँदै उनले भने ‘म के गरौं कसो गरौं भईरहेका बेला अर्जनाको एक जना साथीका बुवा आएर भने उनलाई सेतीले बगाएछ ।’ उनीले जुन सूचना सुन्न नपरोस् भनिरहेका थिए तर, त्यही सूचना सुन्न परेपछि उनी छाँगाबाट खसेजस्तो भए ।

chet

अर्धचेत अवस्थामै उनी घटना स्थलसम्म पुगेका थिए । उनले विगत सुनाउँदै गर्दा अर्जनाकी आमा जागिरबाट आइपुगिन् । ईन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा शाखा अधिकृतको रुपमा कार्यरत निरा श्रेष्ठ अर्जनाको कुरा गर्ने वित्तिकै भक्कानिइन् । ‘जागिर जान मनै थिएन तर जानैपर्‍यो । कसैसँग बोल्न मन लागेन । विहानैदेखि नरामाइलो लागिरहेको थियो । आमा भन्दै बोलाए जस्तो लाग्छ । घरि भर्‍याङबाट तलमाथि गरे जस्तो लाग्छ’ श्रेष्ठले भनिन्,‘मौषम पनि त्यही दिनको झझल्कोे दिने खालको । अर्जनाको शोकले आकासपनि खुल्न नसके जस्तो लाग्यो ।’ श्रेष्ठ परिवारलाई त्यो दिन खिल बनेर दुखाइरहेको छ ।

 

छोरी साथमा नभएपनि उनीहरुले पाँच÷सात जनालाई छोरी बनाएका छन् । छोरीको सम्झनामा अर्जना फाउन्डेसन स्थापना गरी विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् । अर्जना फाउन्डेसनमा १ लाख ५० हजार रुपैयाँ जम्मा गरी छात्रवृति तथा विभिन्न सिप सिकाइका तालिमहरु दिने गरेको उनीहरुले बताए । अर्जना पढेको नीलगिरी वोडिङमा अर्जना अक्षयकोष स्थापना गरी १ लाख रुपैयाँ जम्मा गरेका छन् ।

त्यसमा विद्यालयको तर्फबाटसमेत गरी एसएलसीमा उत्कृष्ठ दुई जना छात्रछात्रलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् भने नविन उच्च माविमा तीन जना छात्रालाई निशुल्क पढ्ने व्यवस्था मिलाएका छन् । छोरीका संगी देख्दा उनीहरुलार्य अर्जनाको खुब याद आउँछ । श्रेष्ठ दम्पतीसँग अहिले अर्चना त छैनन् तर अर्चनाको याद र उनको जस्तै सपनालाई सकार बनाउनका लागि राम्रो गर्नसके घाउ कही निको भएजस्तो लाग्छ ।

कास्कीको तातोपानी खारापानी लगायतको क्षेत्रमा सेतीबाढीले ठुलो जनधनको क्षति पुर्‍याएको तिन बर्ष वितेपनि धेरैको श्रेष्ठ दम्पतीलाई जस्तै त्यही दिनको नमिठो यादले भने पिरोलीरहेको छ । अकल्पनीय रुपमा सेतीमा आएको भिषण बाढीले ३१ जनाको शव भेटिएको थियो भने ३१ जना मानिस वेपत्ता भएका थिए । धेरैलाई घरबाट विहीन बनायो भने लाखौंको क्षति पुर्‍याएको थियो ।

क्षणभरमै बगेको खारापानीको सम्झना

खारपानीमा पुग्दा हँसिलो अनुहारका गोपाल ताम्राकार सबैलाई स्वागत गर्न भ्याउँथे । खारपानीमा होटल व्यवसाय गर्दै आएका ताम्राकार धेरैको प्रीय पात्र थिए । जसले खारापानीमा सुरुमै होटल व्यवसाय गरी त्यहाँको व्यावसायिक वातावरणको सिर्जना गरे । त्यहाँ व्यवसाय गर्नका लागि अरुलाई पनि बाटो खोलिदिए । उनले भन्थे ‘बम भाई अब खारापानी बन्छ ।

पर्यटकहरु आएर खारपानीमा रमाइदिँदा बहुत खुसी लाग्छ । खारापानीको भविष्य देखेको छु मैले ।’ तर, तिनै ६५ बर्षीय ताम्राकारको सेतीमा आएको उत्ताउलो बाढीले भविष्य चुँडिदियो । उज्वल खारापानीको सपना देखेका ताम्राकारलाई क्षणभरमै बगाइदियो । उनको परिवारका दुइ सदस्य पनि साथैमै बगे । अहिले त्यहाँ जाँदा उनै ताम्राकारले बम भाई बसौं न चिया खाउँ भन्ने शब्द मनका आउँछ चित्र आँखामा खेल्न ।

तर, विपतलाई कसैले टार्न सक्दो रहेनछ । खारपानीमा लाम्राकार मात्रै बगेनन् त्यहाँका ११ घर पनि सँगै बगे । खारापानीमा ९ वटा होटल थिए । खारपानी सँगैको खोपाङका ९ घर पनि बाढीले बगाइदियो । फुल्दै गरेका भविष्यका कोपिलालाई बाढीले बगरमा परिणत ग¥यो तर, हामीले केही गर्न सकेनौं ।

 

त्यो दिनले खारपानीलाई खरापानी जस्तो बनाएन, खोपाङलाई खोपाङ जस्तो बनाएन उजाड बगर बनाइदियो । खारपानीको आकर्षण तातोपानीलाई बाढीले पुरिदियो । त्यो कालो दिनको सम्झनाले अहिले पनि मनमा ठूलो आँधि ल्याइदिन्छ । बुधबार भिषण बाढीले उजाड बनाइदिएको तिन बर्ष पुगेको छ । हामीले त्यही दिनको सम्झनामा शोक तथा मृत आत्माको चिर शान्तिको कामना ग¥यौ र भनौं अव त्यस्तो विपत कहिल्यै नआओस् ।

Untitled-2

हामीले फेरी त्यही तातोपानीलाई पुरानै लयमा फर्काउन काम थालेका छौं । गएको बर्ष शिलन्यास गरी खारापानीमा अहिले बाढी पीडित स्मृति पार्क निर्माणको काम भैरहेको छ । अहिलेसम्म जमिन सम्माउने काम सकिएको छ । प्यारामिटर राख्ने काम भएको छ । बाढीमा ज्यान गुमाउनेहरुको शिलालेखका लागि दिइसकेका छौं । पुरिएको तातोपानीलाई फेरी व्यवस्थित गरेका छौं । सेतीले फेरी क्षति नपुर्‍याओस् भन्नका लागि सुरक्षा अपनाइरहेका छौं ।

त्यहाँ फेरी पहिले जस्तै स्नान गर्नेहरुको भीड लाग्न थालेको छ । स्मृति पार्क निर्माणका लागि जिल्ला विकास समिति, रेडियो अन्नपूर्ण सार्दिखोला गाविस र स्थानीयहरुले सहयोग गरिरहेका छन् । सरकारी तथा विभिन्न दातृ निकायहरुले सहयोग गर्ने प्रतिवद्धता दिएका छन् । राष्ट्रिय योजना आयोगबाट पनि सहयोग मिल्ने आशा गरेका छौं । सबैको सहयोगले तातोपानी–खारापानी क्षेत्रमा फेरी बस्ति बस्नेछ । फेरी पर्यटकीय गन्तब्य बन्नेछ ।