यसरी सम्पन्न भयो पत्रकार महासंघ युकेको साधारणसभा


लण्डन / नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले साधारणसभाको सफलताको कामना गर्दै पत्रकारहरुलाई दुताबासको केही कमजोरी भए समाचार प्रकाशन गरी सच्याउने मौका दिन आग्रह गर्नुभयो ।

पुरानो पासपोर्ट चलाउन पाउने समय सकिन लागेका नोभेम्बर महिनाभित्रै मेसिन रेडएवल पासपोर्ट (एमआरपी) बनाउनका लागि सबै नेपालीहरुलाई सूचित गर्न उनले पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

11051793_10152745793503639_3201974368843789365_n

एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले पत्रकारहरुको कोषका लागि एनआरएनए युकेले च्यारिटी डिनरको आयोजना गर्दै गरेको जानकारी दिनुभयो । एनआरएनए युकेलाई विस्तार गर्न क्षेत्रीय संरचना बनाउने बताउँदै उनले एनआरएन युकेलाई धनीहरुको मात्र, सीमितहरुको मात्र संस्था होइन सबैको संस्था बनाउन कोसिस गरिरहेको कँडेलको भनाइ थियो ।

एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ युकेका नेपाली मिडियाले युकेको नेपाली समाजभित्र भइरहेका सकारात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडाले पत्रकारहरुे युकेमा गरिरहेको कार्य प्रसंशनीय रहेको बताउँदै पत्रकारहरुले वस्तुनिष्ठ आलोचना पनि सहन सक्नुपर्ने सुझाव दिनुभयो ।

महासंघलाई सहयोग गर्न मंच एक कदमअघि सरेर तयार रहने वचनवद्धता प्रकट गर्नुभयो । प्रवासी नेपाली समाज युकेका अध्यक्ष रोशन सापकोटा बेलायतका नेपाली पत्रकारहरुले नेपाल बारेको सामग्री धेरै समेट्ने गरेको भन्दै बेलायतका पत्रकारहरुलाई बेलायतकै बारेका सामग्री समेट्न आग्रह गर्नुभयो ।

11149233_823640037689108_796156538625244685_n

कार्यक्रमलाई शुभकामना दिँदै शाखाका सल्लाहकार भगिरथ योगीले बेलायतमा नेपाली पत्रकारहरु सिक्ने क्रममै रहेको र समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा गुल्मी जिल्ला समाजका प्रतिनिधि विनोद ज्ञवालीले पत्रकारहरुलाई कलम नरोकीकन अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाली जनसम्पर्क समिति, युकेका महामन्त्री शिव तिम्सिनाले पत्रकार महासंघलाई सहयोग गर्न समिति तयार रहेको बताउनुभयो । एभरेष्ट टाइम्सका सम्पादक लीलामान शेरपुञ्जाले बेलायतको नेपाली पत्रकारिता शिशु अवस्थामै रहेकाले मार्गदर्शन गर्न समाजसित अनुरोध गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेका अध्यक्ष किरण थेबे लिम्बुले फोनिजले पत्रकार महासंघसित सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

तमु धिँ युकेका अध्यक्ष रामचन्द्र गुरुङले तमुधिँ युकेका कार्यक्रमहरुमा पत्रकारहरुलाई आमन्त्रण गर्दै साधारणसभा सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । शाखाका गतिविधि समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

11136636_10152745798428639_7375473433769196600_n

 

शाखाका सदस्य सुजन पराजुलीले स्वदेश गान सुनाउनुभएको थियो । नृपेश उप्रेतीले बेलायतका नेपाली पत्रकारहरुको अवस्था समेटिएको गजल प्रस्तुत गर्नुभयो । उद्घाटन समारोहको समापन गर्दै अध्यक्ष चिरन शर्माले अतिथिहरुले दिनुभएको सुझाव पत्रकारहरु र महासंघका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ युके वार्षिक साधारणसभाका निर्णयहरु

आज मिति १२ अप्रिल, आइतवार २०१५ का दिन शाखाको वार्षिक साधारणसभा सम्पन्न भयो । दुई चरणमा सम्पन्न साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभयो । उद्घाटन सत्रमा बेलायतस्थित सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिले शुभकामना मन्तब्य दिनुभयो । साधारणसभाको बन्द सत्रमा निम्न प्रस्तावहरुमा छलफल भई निम्न निर्णयहरु गरिएको छ ।

१. शाखाका महासचिव श्याम लुइँटेलद्वारा प्रस्तुत शाखाको वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरियो ।

२. कोषाध्यक्ष देवी गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिबाट पारित गरियो ।

३. शाखाका सल्लाहाकार भगिरथ योगीले शाखाको आचारसंहिता र सदस्यतासम्बन्धी नियमावलीको मस्यौदा पेश गर्नुभयो । आचारसंहितालाई पारित गरी आजैबाट सदस्यहरुले पालना गर्ने निर्णय गरियो । सो मस्यौदामाथि उपस्थित प्रतिनिधिहरुबीच छलफल गरी एक महिनाभित्र सुझाव पेश गर्ने र कार्यसमितिले अन्तिम रुप दिने निर्णय भयो ।

४. पत्रकार कल्याणकारी कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघ, युके र नेपाल पत्रकार महासंघ, युकेको संयुक्त आयोजनामा आगामी मे ३१ तारिखका दिन लन्डनमा हुने विशेष च्यारिटी कार्यक्रमका बारेमा फडिन्द्र भट्टराई र वाचस्पति रेग्मीले जानकारी गराउनुभयो । सोको बारेमा उपस्थित प्रतिनिधिहरुबीच छलफल गरियो । सो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न साधारणसभा बेलायतस्थित पत्रकार, बुद्धिजीवी, समाजसेवी नेपाली समुदायमा हार्दिक अपील गर्दछ ।

५. शाखाले सेन्टर फर नेपलिज स्टडिज (सिएनएस) युकेको सहयोगमा गत वर्ष संचालन गरेको मिडिया सर्भेका बारेमा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले साधारणसभालाई जानकारी गराउनुभयो ।

६. शाखाको साधारणसभामा उपस्थिति भई कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सबैमा हार्दिक धन्यवाद दिने प्रस्ताव पारित गरियो ।
१२ अप्रिल २०१५, लण्डन
फोटो – कुशल श्रेष्ठ