गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिमा पुनः प्रधान


राजाराम पौडेल/
गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिमा पुनः वसन्त प्रधान निर्वाचित भएका छन् । तनहुँको बन्दिपुरमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साई चयन भएका छन् । उपाध्यक्षमा गण्डकी ट्रक यातायात व्यवसायी संघका कृष्ण कोइराला र स्थानीय श्रृङ्ग यातायात व्यवसायी समितिका लालप्रसाद आचार्य चयन भए । महासचिवमा गण्डकी ट्याक्टर व्यवसायी समितिका गोकर्ण कार्की निर्वाचित भएका छन् ।

सचिवमा ट्याक्सी व्यवसायी समिति पोखराका प्रकाशमणि तिवारी, कोषाध्यक्षमा बेगनास ताल बस सञ्चालक समितिका कृष्णप्रसाद ढुंगाना, सहकोषाध्यक्षमा गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिका खड्कबहादुर विश्वकर्मा चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदर अधिकारीले जानकारी दिए ।

पोखरा बस व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, गण्डकी ट्रक यातायात व्यवसायी संघ, स्थानीय श्रृङ्ग यातायात व्यवसायी समिति, बेगनास ताल बस सञ्चालक समिति, गण्डकी मझौला मिनि ट्रक सञ्चालक समिति, ट्याक्सी व्यवसायी समिति पोखरा र गण्डकी ट्याक्टर व्यवसायी समितिका अध्यक्ष समितिको पदेन सदस्य हुने व्यवस्था छ ।

अध्यक्ष निर्वाचित भएपछि प्रतिबद्धता व्यक्त गर्दै प्रधानले सबैलाई समेटेर अगाडि बढ्ने बताए । ‘यातायातका क्षेत्रमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नेछु,’ उनले भने, ‘कार्यकाल सफल पार्नका लागि सबैको सहयोग आवश्यक छ ।’

अधिवेशनका अवसरमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य केशवप्रसाद अधिकारीले यातायात क्षेत्रको विकासका लागि सम्पूर्ण व्यवसायीहरु एक हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल यातायात ट्रक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि जिसी, अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सूर्यमणि लामिछाने लगायतले यातायात क्षेत्रका विविध विषयका बारेमा बोलेका थिए ।

अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन छिट्टै हुने अध्यक्ष प्रधानले जानकारी दिए । अधिवेसनका अवसरमा यातायात व्यवसायीबीच नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि भएको उनले बताए ।