६ करोड लगानी गर्दै पोखरामा काली गण्डकी अक्सिजन ग्यास शुरु


– सुरेन्द्र पौडेल

पोखरा/

पोखरा औद्योगिक क्षेत्रमा शुक्रबारदेखि काली गण्डकी अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिसहितको उद्योगको शुक्रबार सभासद शशाङ्क कोइराला र रवीन्द्र अधिकारीले उद्घाटन गरे । ‘उद्योगले ३ महीना अगाडिबाट अक्सिन ग्यास उत्पादन गरी बिक्री गर्दै आएको छ,’ कम्पनीका कार्यकारी निर्देशक माधव बस्ताकोटीले भने, ‘परीक्षण अवधिमा सफल भएपछि उद्योगको औपचारीक रुपमा शुरु भएको हो ।
पोखरामा काली गण्डकी अक्सिजन ग्यास शुरु, दैनिक ५ सय ग्यास उत्पादन क्षमता
उद्योगमा ६ करोड रुपैयाँभन्दा बढी लगानी भएको बस्ताकोटीले जानकारी दिए । उनले भने, ‘उद्योगले अक्सिजन, नाइटोजन र लिक्युट नाइटोजन ग्यास उत्पादन गरिरहेको छ ।’ उद्योगमा बामदेव बस्ताकोटी, नरेश बराल, बलराम बडाल, इमानबहादुर गुरुङ, राजन पौडेल, सनत भट्टराई, केशरीप्रसाद तिवारी, क्षेत्रबहादुर बराल क्षेत्री, सूर्यबहादुर रोका, समुन्द्र देवकोटा, विशाल पराजुली र किशोर बस्नेतको लगानी छ ।

उद्योगमा १४ जनाले प्रत्यक्ष रोजगारी पाएको बस्ताकोटीले जानकारी दिए । उद्योगबाट उत्पादित ग्यास गण्डकी तथा धौलागिरि अञ्चलमा पुगिरहेको बस्ताकोटीले जानकारी दिए । दैनिक ५ सय सिलिण्डर ग्यास उत्पादन क्षमताको उद्योगले अहिले दैनिक २ सय सिलिण्डर उत्पादन गरिरहेको छ । ‘बजार बिस्तार गरी ग्यास उत्पादन बढाउँछौं,’ बस्ताकोटीले भने । उद्योगले देशभर बजार बिस्तार गर्ने लक्ष्य राखेको छ ।

उद्योगबाट औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने अक्सिजन ग्यास उत्पादन भइरहेको अध्यक्ष बामदेव बस्ताकोटीले जानकारी दिए । ‘यहाँबाट उत्पादित नाइट्रोजन ग्यास खाद्य बस्तु संरक्षणका लागि प्रयोग हुन्छ,’ उनले भने, ‘लिक्युड नाइट्रोजन पशु स्वास्थ्यमा प्रयोग हुन्छ ।’

ग्यास बिक्रीका लागि ५ ठाउँमा आधिकारिक बिक्रेता राखिएको निर्देशक कालिदास बरालले जानकारी दिए । ‘बागलुङ, स्याङ्जा, वालिङ, बेशिशहर र गोरखामा डिलर राखेका छौं,’ उनले भने, कास्कीको पोखरा, लेखनाथ, तनहुँलगायत आसपासको क्षेत्रमा उद्योगबाटै ग्यास पु¥याउने व्यवस्था मिलाइएको छ ।’

उद्योगमा अहिले साना ठूला गरी ३ हजार सिलिण्डर छन् । २ वर्षभित्रमा २ हजार सिलिण्डर थप गर्ने कार्यकारी निर्देशक बस्ताकोटीले जानकारी दिए । उनका अनुसार २ हजार सिलिण्डर थप गर्दासम्म उद्योगमा ३ करोड रुपैयाँ लगानी थप हुनेछ । अक्सिजन उत्पादन गर्ने काली गण्डकी पोखराको दोस्रो उद्योग हो । पोखरा अक्सिजन ग्यास उद्योग यहाँको पुरानो उद्योग हो । ‘अक्सिन उत्पादन गर्ने हाम्रो उद्योग नेपालको १२औं हो,’ बस्ताकोटीले भने, ‘स्तरीय ग्यास उत्पादन र क्षमताका हिसावले भने हामी अग्रस्थानमै पर्छौं ।’

विभिन्न क्षेत्रका अनुभवी व्यवसायीहरुको लगानी रहेको उद्योगले आवश्यकता अनुसार लगानी बिस्तार गर्ने बस्ताकोटीले जानकारी दिए । ‘बजारको माग अनुसार ग्यास उत्पादन बढाउँदै जान्छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय ग्यास उत्पादन गर्न हामी सक्षम छौं ।’ उद्योगले सानो र ठूलो सिलिण्डरमा ग्यास भरेर बजारमा पठाइरहेको छ । ‘१२ र ५५ केजीको सिलिण्डर छन्,’ उनले भने, ‘सानोमा १ र ठूलोमा ५ किलो ग्यास हुन्छ ।’

प्राकृतिक हावालाई ‘माइनस’ १९७ डिग्री सेल्सियससम्म घटाएर मेसिनमार्फत प्रशोधन गरी अक्सिजन ग्यास उत्पादन गरिन्छ । ‘गुणस्तरलाई ध्यान दिएर किटाणु तथा प्रदुषण हटाएर शुद्ध अक्सिजन उत्पादन गर्छौं,’ उनले भने । ग्यास उत्पादनका लागि उद्योगले भारतको बम्बइस्थित केभीके कम्पनीबाट मेसिन ल्याएको छ । ‘दक्ष प्राविधिक पनि भारतबाटै ल्याएका छौं,’ बस्ताकोटीले भने । उद्योगले सिलिण्डर भने चीनको साण्डङ कम्पनीबाट ल्याएको छ । उद्योगले मेसिनमा मात्र २ करोड रुपैयाँ र सिलिण्डरमा ३ करोड रुपैयाँ लगानी गरेको छ ।

सुरक्षाको अवस्थालाई ख्याल गरी ‘भल्व चेक’को व्यवस्था गरिएको बस्ताकोटीले जानकारी दिए । ‘सुरक्षाका लागि आवश्यक सम्पूर्ण सावधानी अपनाइएको छ,’ उनले भने । बजारमा माग भएको ग्यासलाई पूर्ति गर्न उद्योगमा लगानी गरेको बस्ताकोटीले जानकारी दिए । पोखरा औद्योगिक क्षेत्रमा २ रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएर उद्योग स्थापना गरेको उनले बताए । उद्योगले आगामी १० वर्षभित्रमा कार्वनडाइअक्साइ, आर्गन र नाइट्रोसअक्साइडलगायतका ग्यास उत्पादन गर्ने लक्ष्यसमेत लिएको छ ।