एनआरएनए युरोप उपसंयोजकमा सापकोटाको उम्मेदवारी घोषणा


लन्डन (जीएनएन) —  बेलायत लेस्टर निवासी एकजना सफल व्यवसायी तथा एनआरएनए अभियन्ता दयानिधि सापकोटा आउंदो अक्टोबरमा हुने एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन्  । ‘ बेलायत एनआरएनएको जन्मभूमि पनि हो। बेलायत लगाएत युरोपभरिका नेपालीहरुलाई समेट्ने र गोर्खा समस्या समाधान गर्न मैले सक्दो पहल गर्ने छु,” उनले भने ।

हाल बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य रहेका सापकोटा सन् २००६ देखि  नै गैर आवासीय नेपाली अभियानमा सक्रिय रहदै आएका छन्।   ब्रिटेनको मिडल्याण्ड क्षेत्रमा गैर आवासीय नेपाली संघको पहुँच बलियो बनाउन र राज्य समिति बनाउन उनी  अनवरत लागेका थिए।

‘म नेपाली समाजमा केही गर्नुपर्छ भन्ने सदैव चाहना 
राख्ने व्यक्ति हुं । मेरो पारिवारिक विरासतले पनि त्यही सिकाएको थियो । पेशागत दक्षता बांडेर होस् वा आर्थिक, सामाजिक सहयोग दिएर, म मातृभूमिसंग सधैं सामिप्यमा रहें र अब पनि रहनेछु’,उम्मेदवारी दिनुको प्रमुख कारण समाजसेवा नै रहेको प्रष्टयाउंदै उनले बताए । बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ दिदै आएका उनले  नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्  ।

बेलायतको लेस्टरमा दुई रेष्टुरेन्टका मालिक हुन् उनी । सापकोटाको सन् २०१३ देखि सञ्चालित इटालियन रेष्टुरेन्ट ‘ओजी’ र लेस्टरमै नेपाली रेष्टुरेन्ट गोर्खा एम्बेसी चालु छन् । बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । जर्मनी जानु आफ्नो वाध्यता र रहर दुवै भएको स्मरण गर्छन् दयानिधि । 
उनले करिब १५ वर्ष जर्मनीमा बिताए ।

‘जर्मनी बसाइकै क्रममा पनि मैले आफूले पढेको विद्यालयलाई प्लस टु हुंदै क्याम्पससम्म बनाउन भवन निर्माण, संरचना र अन्य ‘लजिस्टिक’ सहयोगका लागि पहल गरें । जर्मनी रहंदा यूरोपका विभिन्न देश जाने र आफ्नो अनुभव संगाल्ने अवसर मिल्यो’, उनी स्मरण गर्छन् । सन् २००६ अक्टोबर १ मा बेलायत आएपछि युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा बुझ्न पाएको उनी बताउंछन् । बेलायत अरु युरोपियन देशहरु भन्दा बहुआयामिक, प्रजातान्त्रिक र बहुधार्मिक लागेकाले यहीं बसेर रोजगारीतर्फ लागेको उनले सुनाए ।