कार्लोसद्वारा धवलागिरि आहारोण स्थगित,बेसक्यापबाटै फर्किए


बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि आहारोणको यात्रालाई स्थगित गरेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने दौडमा रहेका उनि  मंगलबार काठमाडौँ फर्किएका हुन्। 

झन्डै एक महिनादेखि धवलागिरि बेसक्यापमा रहेका उनले उपयुक्त मौसमको प्रतिक्षा गरिरहेका थिए।उनको टिम क्याम्प एक र दुईसम्म मात्र पुग्न सफल भएको थियो।मौसममा सुधार नदेखेपछि पुन बेसक्याम्प नै फर्किएको थियो।  “हिमालको अहिलेको अवस्था हेर्दा मे महीनाको अन्त्यसम्म पनि मौसम सुधारमा अपेक्षा राख्न सकिदैन।दिल्लीको स्पेनिश दूतावासले हामीलाई स्पेन फर्कनका लागि उडानको तय गरेको छ।  यदी यो उडान लिएनौं भने निश्चित छ कि लामो समयसम्म यही बसिरहनु पर्नेछ।त्यसैले यस्तो निर्णयमा पुग्यौ।” उनले सामाजिक संजालमा लेखेका छन्। 

उनले  कीर्तिमान राख्न अब धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । सन् १९९८ मा उनको धवलागिरि को शिखर चुम्ने पहिलो प्रयास थियो । दुई दशकयता ११ औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ ।

आफ्नो युटुबमा भिडियो अपलोड गर्दै उनले भने, “हामीले धौलागिरिलाई पछाडि छोडेका छौं। हिमाललाई बिदाई गर्यौँ फेरि एक अर्कालाई फेरि भेट्ने भावनासहित। हामी वास्तवमै धेरै जटिल र असामान्य मौसममा बाँचिरहेका छौं। तर, सँधै जस्तै यो रमाइलो पहाडको आनन्द लिन पाउँदा खुशी छौ। बेस क्याम्पको अन्तिम दिनको दौडान,फेरि बादलमा डुबुल्की मार्नु भन्दा पहिले धौलागिरीले हामीलाई महान् सुन्दरताको एक क्षण दिन चाहन्थ्यो। सँधै यी पहाडहरूप्रति आभारी हुनेछौं, जुन हाम्रो जीवनको एक अंश बनेका छन्।”

उनले नेपालमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन्। नेपाललाई आफ्नो दोस्रो घर बताउदै आएका कार्लोसले भनेका छन्,” नेपालमा कोरोना संक्रमण फैलिरहेकाले धेरै चिन्तित छौं। यहाँ अवस्था गम्भीर छ तर आशावादी छौं कि हामीले असाध्यै माया गर्ने यो देशको अवस्था चाँडै सुधार हुनेछ।”

 डेढ महिना अघि स्पेनदेखि नेपाल पुगेका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए। त्यहाँबाट काठमाडौं फर्किएर उनि धवलागिर बेसक्याप पुगेका थिए।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।धवलागिरि शिखरमा टेकेर कोभिड महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्ने कार्लोसको सपना थियो। सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका  थिए। 

(तस्बिरहरु कार्लोस सोरियाको फेसबुक पेजबाट लिईएको हो।)