वेलायती युवराज चार्ल्स कोरोना संक्रमित भएको पुष्टि


REUTERS

जीएनएन, लन्डन — बेलायतका ७१ वर्षीय युवराज चार्ल्स कोरोना भाइरसबाट संक्रमित भएको उनको कार्यालयले पुष्टि गरेको छ । क्लेरेन्स हाउसले उनको रगत परीक्षणमा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । उनी हालै हात मिलाउन छोडेर नमस्कार गरेका कारण चर्चामा आएका थिए ।

उनकी पत्नी ७२ वर्षीय डचेस अफ कर्नवाललाई भने परीक्षण पछि कोरोना संक्रमण नभएको कार्यालयले जनाएको छ । युवराज चाल्सलाई यो भन्दा पहिला स्वास्थ्यमा खासै समस्या थिएन । उनी र उनकी श्रीमती अहिले स्कटल्याण्डस्थित बालमोरल क्यासलमा आइसोलेसनमा रहेर स्वास्थ्यलाभ गरिरहेको क्लेरेन्स हाउसले जानकारी गराएको छ ।

उक्त निवास बेलायतको शाही परिवारको सम्पत्ति हो। आइतबार उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार रगत परीक्षणका लागि पठाइएको थियो । मंगलबार सांझ मात्रै प्रिन्स अफ वेल्स चार्ल्सलाई कोरोना भएको पुष्टि भएको हो ।

९३ वर्षीय ब्रिटिश महारानी एलिजा बेथ द्वितीय भने अहिले ९८ वर्षीय आफ्ना पति प्रिन्स फिलिपसंग लन्डन नजिकै विन्डसर क्यासलमा बसीरहेकी छिन् । उनले छिट्टै देशवासीका नाममा टेलीभिजनबाट सम्बोधन गर्ने अपेक्षा गरिएको छ । पब्लिक हेल्थ इंगल्याण्डका अनुसार मंगलबारसम्ममा ब्रिटेनमा ८,०७७ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको र ४२२ जनाको मृत्यु भैसकेको जनाएको छ ।