एनआरएन भिजन २०-२० बहस :-फ्रेन्डसिप काउन्सिल बनाउने कि ?


नबराज रोस्यारा
  • नबराज रोस्यारा

हरेक दुई बर्षमा दशैं तिहारको अवसर पारेर काठमाण्डौमा सम्पन्न हुने एनआरएनए सम्मेलनको बहस विगतका बर्षहरुमा प्रायशः नेपालमा एनआरएनहरुको संम्भावित लगानि र नयाँ नेतृत्व चयनको जस्ता बिषयहरुमा केन्दीत हुने गर्दथ्यो । तर यसपाली भने स्थिती भिन्न छ। स्वयं संस्थाका अध्यक्ष शेष घले वाट संस्थाको संरचना वदल्ने गरि  ” भिजन २०२० एन्ड बियोन्ड” नामको नयाँ अवधारणा   आएको छ।

अन्तराष्ट्रीय समन्वय समिती (आईसिसी) मा  विगतका वर्षहरुमा नेतृत्वको लागि हुने निर्वाचन मार्फत कस्को प्रभाव कति छ  भनेर जाच्ने काम हुन्थ्यो भने यसपाली  नेतृत्व छान्नु पहिले नै भिजन २०२० ठीक कि बेठीक भन्ने बिषयमा प्रतक्ष अप्रतक्ष मतदान गराएर घले दम्पतीले एनआरएनमा आफ्नो जनमत कति छ भनेर जांच गर्नेछन । भिजन २०२० को दस्ताबेज पास भएर घलेको पक्षमा जनमत बढी देखियो भने अवको नेतृत्व पनि उनैको पोल्टामा जाने निश्चित छ।  

भिजन २०२० र त्यस्को मुख्य गुदि के हो भन्नेमा अहिले सबै एनआरएनहरु अन्योलमा छन। बिचारको खुल्ला बहस हुनु भन्दा एनआरएनए भित्रका अगुवाहरुको प्रभाव र शक्ती तथा एनआरएनएको चुनावमा हुने पक्ष बिपक्षलाई हेरेर समर्थन वा बिरोध भईरहेको छ।  अध्यक्ष घलेले  अमेरिकाको न्युजर्सीमा सम्पन्न एनआरएनए  सम्मेलनमा गरेको  प्रिजेन्टेसन का प्रमुख प्रावधानहरु लाई मात्र आधार बनाएर बिश्लेषण गर्ने हो भने यस्लाई कसैले पनि समर्थन गर्न मिल्दैन ।

जस्तो एनआरएनएलाई अध्यक्षात्मक प्रणालीमा लैजाने, अध्यक्ष वाहेक अरु सवैको भुमिका सहयोगी र समर्थक वनाएर सवै अधिकारहरु अध्यक्ष र कार्यालय संचालनको नेतृत्व गर्ने स्थायी कर्मचारी सिइओ लाई प्रत्याभुत गर्ने, अनि कार्यालयको सिइओ पनि अध्यक्ष प्रतिनै उत्तरदायी हुने, एनआरएनएका सदस्यहरुलाई नैतिकवान वनाउने।  दस्तावेजमा अर्को बिवादास्पद प्राव्धान पनि छः नेपालको राजनितीमा लागेका व्यक्ती स्वतः अयोग्य ठहरिने तर बिदेशको राजनितीमा लाग्न भने हरेक एनआरएनलाई प्रेरीत गर्ने । तर माथि उल्लेखित लिखित प्रब्धान हरुमा धेरै जस्तो  एनआरएनहरुले आपत्ति जनाए पछी अहिले अध्यक्ष घलेको पछील्लो अन्तर्वाता बाट  त्यस्को व्याख्या फरक किसमले आएको छ, जुन निकै साकारत्मक पनि छ।

विदेशमा वस्ने नेपालीहरुका सन्ततीहरु जस्ले  नेपाली कम अनी  बिदेश भाषा बढी  बोल्ने गर्दछन, तिनीहरुलाई लक्षित गरेर  “युनाइटेड नेसन अफ नेपाली डायस्पोरा (युएनएनडी)” को निर्माण विजन २०२० अन्तर्गतको घले दम्पतीको अर्को मुख्य लक्ष हो । यो कुरा उनी हरुले पछिल्लो समय आफुले अवसर पाएका  हरेक प्ल्याटफर्महरुमा बहसको बिषय बनाउने गरेका छन। दस्तावेज र घले दम्पतीको व्याख्या अनुसार बिश्वका बिभिन्न देशमा वस्ने नेपालीका सन्ततीहरु, जस्ले नेपाली भाषा कम अनि जुन देशको नागरिक हो त्यो देशको भाषा बढी वोल्न चाहन्छन, तीनीहरुलाई समेट्न सकिएन भने अवको केहि वर्षमा ७० वटा देशमा स्थापित अहिलेको एनआरएनएको संजाल  विस्तारै कमजोर भएर लोप हुनेछ।

 बिदेशमै जन्मिएका दोश्रो पुस्ताका एनआरएनहरु समेटनको लागि बिभिन्न किसिमका आकर्षक अफरहरु जस्तै छात्रवृती, बिद्यार्थी आदान प्रदान जस्ता कार्यक्रमहरु लागु गर्नु पर्ने प्रस्ताव गरिएको छ भने एनआरएनए को आधिकारिक भाषाको रुपमा  अग्रेजीलाई निर्धारण गर्ने  कुराको ग्यारेन्टी गर्न भनिएको छ।  दस्तावेजमा अगाडी लेखिएको छः “पदाधिकारिहरुको एक संयन्त्र वनाएर कार्यालय चलाउने सिइओको सहयोगमा सदस्यतालाई व्यवस्थीत  गर्ने जीम्मा दिईने छ।

त्यस्तो संयन्त्रले  समुहगतरुपमा मिलेर हामी केहि गर्न सक्छौ भन्ने आभास सवै एनआरएनएका सदस्यहरुलाई दिन सक्नु पर्दछ। साथै हरेक सदस्यलाई समस्या पर्दा सम्पर्क राख्न मिल्ने एक मात्र सहयोगी संस्था एनआरएनए हो भन्ने पनि महसुश गराउन सक्नु पर्दछ।” भिजन २०२० का अनुसार यसरी  सक्रिय पारिएका सदस्यहरुलाई  नेपालको सामाजिक, आर्थिक बिकाशको एक हिस्सेदार अर्थात पार्टनर बन्न प्रोत्साहित गर्नु र त्यस अनुसारको पोलिसी निर्माण गर्दै बिकासको नेतृत्व गर्नुनै एनआरएनएको प्रमुख लक्ष हो ।

 भिजन २०२० ले देखेको अर्को सपना होः हाल बिश्वमा सामाजिक सहायता कार्यमा सक्रिय रहेका संस्थाहरु जस्तै रेडक्रस, रोटरी क्लव, अक्सफाम लगायत बिभिन्न देशका सरकारहरुको प्रतक्ष डोनेसनमा आधारित  सहयोगी संस्थाहरु आदी सवै लाई कोर्डीनेसन गर्दै नेपालको बिकास सहायताको लागि नेतृत्व गर्नु र नेपालको सवै भन्दा भरपर्दो र बलियो बिकासे पार्टनरको रुपमा एनआरएनए लाई उभ्याउनु। यस्कालागि  बिश्वस्तरको व्यवस्थापन आवश्यक रहेको कुरा दस्तावेजमा प्रमुखताका साथ उठाईएको छ।

एनआरएनएका अभियन्ताहरु संगको  छलफल र अन्तक्रिया भन्दा पनि बिदेशि मुलका राजदुतहरुको परामर्शमा भिजन २०२० एन्ड बियोन्डको अवधारणा आएको कुरा अध्यक्ष घलेको प्रिजेन्टेसनमा उल्लेख गरिएको छ। पछील्लो समयमा उनले एक अन्तर्वाता मार्फत निकै सकारात्मक रुपमा विजन२०२०को व्याख्या पनि गरेका छन। हुनत  लिखित प्रिजेन्टेसन सँग अन्तर्वाताको व्याख्या ले त्यती मेल खाँदैन। लिखित दस्ताबेज निकै अपुरो र त्यस्मा लेखिएका शब्दहरुको व्याख्या गर्दा उक्त दस्ताबेज आपत्ति जनक छ। तर अन्तर्वाता मार्फत व्याख्या गरेको अनुसार अघी बढ्नुमा एनआरएनहरुलाई कुनै आपत्ति होला जस्तो लाग्दैन ।  

अध्यक्ष घलेले ल्याएको युएनएनडीको अबधारणा बहिर हेर्दा निकै अकर्षित र बैज्ञानीक देखिए पनि यो कुनै पनि सामाजिक बिज्ञानको तथ्य वा माइग्रेसनको प्रमाणित पोलिसी मा आधारित छैन। यस्कारण यो अबधारणा मनगण्ते हुने सम्भाबना पनि त्यतिकै छ। नेपालमै जन्मेर हुर्किएर विदेशमा वसाई सर्ने नेपालीलाई पहिलो पुस्ताको नेपाली, उनका सन्ततीहरु लाई दोश्रो पुस्ता र सन्ततीका पनि सन्ततीहरुलाई तेश्रो पुस्ताको नेपाली मान्नेहो भने पहिलो  दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरु मिलेर वनेको विदेशको नेपाली समाज अर्थात एनआरएन समाजको प्रकृती कस्तो होला ?

 दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरुमा नेपाली संस्कृती र  नेपाली भाषाको प्रभाव तथा नेपाल प्रतिको लगाव कति सम्म रहला ? पहिलो र दोश्रो वा तेश्रो पुस्ता मिलेर एउटै एनआरएन समाज बन्ने अवस्था रहला त ? या दोश्रो र तेश्रो पुस्ता पहिलो पुस्ता वाट अलग्गीएर आफु वसोवास गरेको देशको नागरिकहरु संग वढी घुलमिल होलान? पहिलो पुस्ता र नेपाली संस्कृतीको बृहत्तर प्रभाव एनआरएन समाजमा भविश्यमा कति वर्ष सम्म रहिरहला? यी कुराहरुको अनुसन्धान तथा व्याख्या बिष्लेशण त सामाजिक बिज्ञानका सोधकर्ताहरुले गर्लान।

तर अहिले नै युनाइटेड नेसन अफ नेपाली डायस्पोरा (युएनएनडी) को अवधारणा लागु गर्न खोज्नुको अर्थ प्रस्ट छ : दोश्रो पुस्तामानै नेपाली संस्कृती ह्रास भएर जानेछ, उनीहरुले राम्रो संग नेपाली वोल्न सक्ने छैनन  र अवको केहि वर्षमै पहिलो पुस्ताहरु भन्दा दोश्रो पुस्ताका एनआरएनहरुको संख्या निकै वढी हुनेछ। त्यसकारण दोश्रो वा तेश्रो पुस्ताको एनआरएनहरु नेपाल र नेपाली समाज वाट टाढीनु भन्दा अगाडी अहिले देखिनै एनआरएनए भित्र आपसी संचारको मुख्य भाषाको रुपमा अंग्रेजी प्रयोग गर्दै यो संस्थालाई युएनएनडी वनाएर लानु पर्दछ भन्ने प्रस्ताव अध्यक्ष घलेले  ल्याएका छन।     

तर “एक पटकको नेपाली सधैको नेपाली” भनेर वसेका पहिलो पुस्ताका एनआरएनहरुले आफ्ना   सन्ततीहरुलाई पनि नेपाल प्रती माया गर्न र नेपाली नै भएर वांच्न सिकाउने प्रयास गर्नु पर्दछ  वा पर्दैन? यदि पर्दछ भने प्रस्तावित युएनएनडीले नेपाली संस्कृतीको जोगेर्नामा कस्तो भुमिका खेल्छ ? दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरुमा नेपाली भाषालाई प्रवर्धन गरेर नेपाल प्रती आकर्षित गर्नु को सट्टा अग्रेजी र संम्वन्धित देशको भाषा मात्र प्रयोग गरिदा त्यस्ले हाम्रो संस्कृतीको रक्षा कति सम्म गर्न सक्ला? यी प्रश्नहरु पेचिलो रुपले खडा भएका छन। त्यस्तै एनआरएनहरुको मुख्य कार्यालय नेपाल वाहिर सिगापुर वा अमेरिका जस्ता देशहरुमा राख्दा त्यस्को प्रभावकारिता कस्तो रहला ?

नेपलीहरुको बढ्दो बिदेशीने क्रमलाई भिजन २०२०ले प्रोत्साहन गर्छ कि निरुत्साहित? दस्तावेजमा यी प्रश्नहरु पुरै अनुत्तरित छन।   एनआरएनए जस्तो सामाजिक सेवामा आधारित संस्थाको नेतृत्व गरेर वाहिरिदै गर्दा  हरेक अध्यक्षले सधै भरि संम्झिन लायकको कम्तिमा एउटा कार्य सम्पन्न गरेर वा शुरुवात गरेर जान चाहेका हुन्छन। वर्तमान अध्यक्षले पनि त्यसै चाहना अनुरुप संस्थामा आर्थिक पारदर्शिता ल्याउदै संस्थाको कोष बलियो र  आत्मनिर्भर बनाउने योजनाहरु पनि ल्याएका छन, जुन एकदमै सकरात्मक कुरा हो। तर एनआरएनएको संरचनामा निरकुंशी अध्यक्षात्मक प्रणाली देखि अहिले देखिनै युएनएनडी गठन गर्ने कुराहरु व्यवहारिक छैनन।

बिदेशी मुलुकमा बसोबास गर्दा त्यहाको समाजमा कसरी इन्टिग्रेट हुने? र कसरी बिदेशी मुलका मानिसहरु सँग सहकार्य गरेर नेपालको बिकासमा सहयोग पुर्याउने?यो नै  अहिले एनआरएनहरुले  छलफल गर्ने मुख्य बिषय हुनु पर्दछ। किनकी यस सम्बन्धमा अहिले सम्मा कुनै योजना बनेको छैन। हामी एनआरएनहरु आहिले आप्रावासीको रुपमा बिभिन्न देशमा वसोवास गरिरहेका छौ। हरेक आप्रवासीलाई शुरुवातमा आफु वस्ने देशको समाज र संस्कृती संग घुलमिल हुन निकै समस्या पर्दछ।

अर्काको देशमा वसाई सर्दा आफुले प्राप्त गरेको अनुभव, सिप ज्ञान त हामी संगै हुन्छ । तर पनि बसाई सरेको देशमा ती सवै कुराहरु नितान्त फरक र हामीले आशा गरे विपरित पनि हुन सक्छन्। त्यती वेला हामीलाई  विदेशी समाज र संस्कृतीको परिचय गराउने र उक्त समाजमा चाँडो भन्दा चाँडो घुलमिल गराउने र आफ्नो जिविकोपार्जनका लागि  उपयुक्त काम पाउनमा  हाम्रा बिदेशी मित्रहरुवाट सहयोगको  आवश्यकता पर्न सक्दछ। आवश्यकता पर्दा सहयोग लिने वा दिने दुवै कुरा मानविय धर्म भित्र पर्दछन। त्यसैले अहिलेको हाम्रो आवश्यकता युएनएनडीको  भन्दा पनि हरेक देशमा नेपाल संग सदभाव र मित्रता राख्ने बिदेशिहरुलाई संगठित गरेर गठन गर्न सकिने एक “पार्टनर काउन्सिल” वा “साथी परिषद (फ्रेन्डसिप काउन्सील)” को हो। पार्टनर काउन्सिलको माध्यमवाट एनआरएनहरुले आफु वसेको देशका नागरिकहरु संग प्रतक्ष सहकार्य गर्न सक्ने छन। बिदेशी संगको सहकार्यले हामीहरुलाई उनीहरुको समाजमा घुलमिल भएर एकिकृत बनाउनमा त सघाउने नै छ, साथसाथै हामीले बिदेशी मित्रहरु संग मिलेर नेपालको सामाजिक आर्थीक बिकाशमा हातेमालो गर्दै अघाडी बढ्न सक्नेछौ।  

अन्तमा एनआरएन सम्मेलनले केबल नेत्रित्व चयनको बिषयमा मात्र सिमित नहोस। यस्ले दिर्घकालिन र दुरदर्शी किसमका योजनाहरु पनि पारीत गाह्रोस र पार्दर्शी ढंगले लागु गर्ने योजना बनाओस । एनआरएनए सम्मेलन बाट जर्मनी बाट यही शुभकामना ।

  • लेखक गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका निर्बतमान अध्यक्ष हुन्। Email:roshyara@gmail.com