मोदीको भ्रमणलाई उपलब्धीमुलक बनाउने प्रमुख तीन दलको निष्कर्ष


काठमाडौ, साउन १२

प्रमुख तीन दलको बैठकले लामो अन्तरालपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सफल बनाउँदै त्यसलाई आफ्नो पक्षमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सम्मिलत बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई उपलब्धीमुलक बनाउने विषयमा छलफल भएको छ ।

मोदी यसै महिना आउने कार्यक्रम छ । १७ वर्षपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल आउन लागेका हुन् ।

बैठकमा मोदीको उक्त भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्ने गरी र आफ्नो पक्षमा उपलब्धी लिने गरी उपयोग गर्नुपर्ने सुझाव नेताहरुले दिए । मंगलबार साँझ पुन बैठक बस्ने गरी तीन दलीय बैठक टुंगिएको छ । भारतसँग छलफल हुने विषयसँग सम्बन्धित मन्त्रीहरुसहित मंगलबार पुनः बैठक बस्ने छ ।

तीन दलको बैठकमा संविधानको कामलाई तिव्रता दिने, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग छिट्टै गठन गर्ने लगायतका विषयमा पनि छलफल भएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए पौडेलले जनाए ।

बैठकले संविधानका विवादित विषयमा संविधानसभा अन्र्तरगतको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले टुंगो लगाउन नसकेका विषयलाई टुंग्याउन शीर्ष नेता सम्मिलित अनौपचारिक समिति बनाउने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा तीनै दलका शीर्ष तहका नेताहरुको सहभागिता रहेको थियो ।