पोखरा/
युनाइटेड क्लव पोखराले आयोजना गरेको पोखरा महोत्सवको दोश्रो दिन नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दर्शकहरुलाई हास्य प्रहसनद्धारा भरपुर मनोरञ्जन प्रदान गरेका छन ।
रियल दुई किसिमको हुन्छ एउटा रियल अर्को गजुरियल भन्दै कार्यक्रममा माइक समाएका गजुरेलले विभिन्न किसिमका हास्य प्रहसनहरु प्रस्तुत गर्दा युनाइटेड क्लवले आयोजना गरेको महोत्सवमा विहीबारको दिन छुट्टै प्रकारको रौनक देखिन्थ्यो ।
माघे संक्रान्तिको दिन भएका कारण पनि महोत्सवमा उल्लेख्य मात्रामा दर्शकको उपस्थिती देखिएपछि गजुरेलले नेपालका विभिन्न भेगमा वसोवास गर्ने मानिसहरुको लवचको पारा सुनाएपछि दर्शहरु खित्का छोड्न बाध्य भए ।
जातको कुरा गरिरहदा मुलुकले फेरीपनि संविधान नपाउने खतरा वढेको प्रति इंङ्गित गर्दै नेपालका राजनैतिक दलहरु जातकै आधारमा राजनिती गर्न खोज्दा जनताबाट खेदिनुपर्ने खतरा बढ्दै गएकाले त्यसप्रति सम्पूर्ण सचेत हुनुपर्नेमा दर्शकहरुलाई सचेत समेत पारेका थिए ।
त्यसैगरी कार्यक्रममा उपस्थित कलाकार रमिला न्यौपाने, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली,चोलेन्द्र पौडेल , जीवन दाहाल लगाएतले दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गराएका थिए ।
माघेसक्रान्तिको अवसरमा पोखरामा तीन ठाउमा मेला भइरहदा पोखरा महोत्सवमा विहीबारमात्रै २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवमा बिहीबार मात्रै ५० लाख वरावरको कारोवार भएको समेत गुरुङले जानकारी दिए । माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ ।
महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशत रकम छुट्याइने भएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् ।
महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्टले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
महोत्सवमा शुक्रबार आकर्षणमा लोकदोहोरी तर्फ राष्ट्रिय कलाकारहरु राधिका हमाल, तारापति सुवेदी, प्रजापति पराजुली,चोलेन्द्र पौडेल,जिवन दाहाल,शिवहरी ढुंङगाना, घनश्याम रिजाल, सरस्वती लामिछाने,चन्द्रा कार्की, प्रदिप त्रिपाठीको प्रस्तुती रहने छभने पप तथा लाइभब्याण्ड कन्सर्ट तर्फ टम्बल वीड र स्थानिय लोकल ब्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।