बाग्लुङ क्षेत्र नम्बर १ मा चैत्र २८ गते निर्वाचन आयोगले गराउन लागेको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
बाग्लुङमा क्रियाशिल रहेका दलहरुले हिजो मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका तर्फबाट चम्पादेवी खड्का, नेकपा एमालेको तर्फबाट मना केसी, एकीकृत माओवादीबाट कृष्ण केसी र राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी छन् ।
चम्पा खड्का कांग्रेसका तर्फबाट गत संविधानसभा निर्वाचनमा निर्वाचित भई सडक दुर्घटनामा परी निधन भएका सभासद हरिबहादुर खडकाकी धर्मपत्नी हुन । यसअघि पनि राम्रै मत ल्याएर उक्त निर्वाचन क्षेत्रबाट खड्का विजयी भएका थिए ।
यसपटक स्वर्गीय खड्काकी श्रीमति चम्पादेवीले थप सहानुभूति मत पाउने विश्लेषण गरिएको छ । त्यसैगरी राप्रपा र राप्रपा नेपालबाट संयुक्त रुपमा नविनचन्द्र शेरबुजा, संघीय समाजबादीबाट रेशमबहादुर थापा, परिवार दलको तर्फबाट बाबुराम शर्मा, नेकपा मालेबाट कुलबहादुर किसान रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसै गरी ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संविधानसभा निर्वाचनबाट विजयी सभासद हरिबहादुर खड्काको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन गर्न लागेको हो ।
गत निर्वाचनमा ४७ हजार मतदाता रहेकोमा यसपटक त्यो संख्या बढेर ५२ हजार दुई सय दुई पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाग्लुङमा यस पटक विद्युतीय यन्त्रबाट मतदान गरिँदै छ ।