जुम्ला रारालिहीमा यात्रुबस दुर्घटना हुँदा १८ जनाको मृत्यु (अपडेड)


– सुशील खड्का

जुम्ला / जुम्लाको रारालिहीमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८  पुगेको छ । १३ जनाको घटनास्थलमै र ५ जनाको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक मध्ये चालक सागर बुढा र सहचालक हर्क बुढाको मात्रै परिचय खुलेको छ । अरु मृतकको सनाखत नभएको प्रहरी निरीक्षक ईन्द्रबहादुर रावतले जानकारी दिए ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल र स्वास्थ्य चौकीमा पठाइएको छ । बसमा २९ यात्रु सवार थिए ।

जुम्लाबजारदेखि बिहान ७ बजे कालिकोटको मग्माका लागि छुटेको कर्णाली यातायातको ना ४ ख ४९७० नम्बरको बस रारालिही गाविस-१ मा पर्ने काठकुडेनी भन्ने ठाउँमा बिहान साढे ९ बजे दुर्घटना भएको हो । बस सडकबाट झन्डै दुई सय मिटर तल तिला नदीमा खसेको छ ।

रातभर पानी परेका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थल जुम्ला सदरमुकामबाट झण्डै १८ किलोमिटर टाढा पर्दछ ।