केन्द्रिय कार्यलय निर्माणको लागि एनआरएनए युकेले २ करोड पठाउने


गैरआवासीय नेपाली संघ यूकेको बैठक सम्पन्न भयो । विशेष अधिवेशनपछि बसेको पहिलो बैठकले काठमाडौंमा निर्माण भइरहेको एनआरएन भवनका लागि दुई करोड रुपैयाँ पठाउने निर्णय गरेको अध्यक्ष महेन्द्र कणेलले जानकारी दिनुभयो ।

अध्यक्ष कणेलका अनुसार बैठकमा सहभागीहरुले ६० लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएका थिए । यसैगरी बैठकमा प्रा.डा. सूर्य सुवेदीलाई एनआरएन यूकेको संरक्षकमा यथावत राख्ने र स्कटल्याण्ड, नर्दन आयरल्याण्ड समेत समेटिने गरि क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ, बेलायतसंग मिलेर पत्रकार अक्षयकोष वृद्धिका लागि च्यारिटी गर्ने निर्णय गरेको छ । उक्त च्यारिटीको समन्वय गर्न पत्रकार फडिन्द्र भट्टराई र वाचस्पति रेग्मीलाई जिम्मा दिने निर्णय भएको छ । यस अलावा संस्थाको नियमित वेलफेयर च्यारिटी गर्न उपाध्यक्ष कृष्ण तिमिल्सिनालाई संयोजक तोकिएको छ । बैठकले २१ फेब्रुअरीको विशेष साधारणसभाले कमल गुरुङको संयोजकत्वमा गठन गरेको आर्थिक छानवीन कमिटीमा डा. चन्द्र लक्सम्बा, कृष्ण भट्टराई र विजन भट्टलाई थप्ने निर्णय गरेको निर्णय गरेको अध्यक्ष कणेलले जानकारी दिनुभयो ।

वृद्ध आरोही मीनबहादुर शेरचनले पुनः आरोहणका लागि अनुमति कागजात पाएपछि आरोहणमा सघाउन ज्ञान शेरचनको संयोजकत्वमा एनआरएनए यूके आइसीसी सदस्यहरु थर्क सेन, सुरेन्द्र श्रेष्ठ र महासचिव 
राजकुमार त्रिपाठी सम्मिलित एउटा कमिटी बनाइएको छ ।

बैठकमा आइसीसी सदस्यहरु सुरेन्द्र श्रेष्ठ, विजन भट्ट, थर्क सेन, सुष्मा राई, संरक्षक मेजर रि. डमर घले, संरक्षक कुल आचार्य लगायत कार्यसमिति सदस्यहरु सहभागी थिए । बेलायतमा रहेका पिएचडी गर्ने नेपालीहरुलाई एकत्रित गरि उनीहरुको सिप र ज्ञान नेपाल र बेलायतस्थित नेपाली समुदायसम्म सदुपयोग गराउन एनआरएनए यूके पिएचडी फोरम गठन गरि कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ । यसको संयोजन गर्ने जिम्मा डा. पदम सिंम्खडालाई दिइएको छ । उक्त कार्यक्रम २६ अप्रिलमा हुने तय भएको छ ।