उरुग्‍वेको एक फेरो


– मोहनकृष्ण श्रेष्ठ

कूटनीतिक सेवामा रहेपछि देशविदेश घुम्ने, हेर्ने रहर हुनु स्वाभाविक छ। सकेसम्म बढी देश घुमेर ती देशको रहनसहन तथा वातावरणका बारेमा जानकारी राख्नु लाभदायक नै हुन्छ। पेरिसमा कार्यभार सम्हालेदेखि नै अति व्यस्त भइयो। दाजु समयसमयमा पेरिसमा आउनु हुँदा ल्याटिन अमेरिकी देश घुम्ने रहर जागेको थियो। फेरि दाजु धेरै लामो समयसम्म एअर फ्रान्समा काम गरी सेवानिवृत्त हुनु भएकोले पारिवारिक सदस्यका रूपमा हवाई टिकट खरिदमा राम्रै सहुलियत पाइने कुरा बुझियो। तर पनि समय नआएसम्म सोचेजस्तो नहुने रहेछ। खासगरी ममा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, ब्राजिल, चिली तथा उरुग्वेको भ्रमणमा जाने तीव्र इच्छा थियो। तर इच्छा पूरा भएको थिएन।

यता आएपछि स्पेनिस भाषा बोल्न सकेको कारण ल्याटिन अमेरिकी राष्ट्रका राजदूतहरूसँग पनि राम्रै संगत गर्न पाइयो। उताका बासिन्दाहरू मिजासिला हंसमुख तथा सहयोगी स्वभावका भएको थाहा थियो। खासगरी उरुग्वेका महामहिम राजदूत महामहिम ओमार मेसा गोन्जालेजसँग बाक्लै मित्रता भएको थियो। उहाँ मेरो निवासस्थानमा पटकपटक आएर नेपाली खानाको रसस्वादन पनि गर्नुभएको थियो। उहाँसँगको कुराकानीले पनि उहाँको देश हेर्न जाने तीव्र इच्छा जागेको हो।

म, श्रीमती तथा दाजु तीनजना १५ अप्रिल २०१४ मा अर्जेन्टिना, ब्राजिल, पाराग्वे तथा उरुग्वेको भ्रमणमा निस्कने योजना थियो। प्रवेशाज्ञा, टिकटदेखि होटेल बुकिङसमेत भइसकेको थियो। तर ६ अप्रिल २०१४ को बिहान मेरो स्वास्थ्यमा अलि गडबड हुन थाल्यो। केही समय पर्खेर बसेँ। तर झन् अवस्था गम्भीर भएर आएजस्तो महसुस भएकोले डा. ज्याक अलेक्जानियनलाई फोन गरेँ। उहाँले तुरुन्त अमेरिकी अस्पतालमा समय मिलाई दिनुभयो। अस्पतालको सेवा अति नै द्रूत थियो। धमनीहरूमा रगतको प्रवाह कमी भएको रहेछ। अलि ढिला भएमा साह्रै हुने तर समयमै आएकोले तुरुन्त उपचार गर्न पाइयो।

‘अब समस्या हुँदैन’, डा. फ्रान्स्वा तारागानोले भन्नुभयो। ६ दिन अस्पतालमा बसेर फर्कें। ‘६ हप्तापछि जता गए पनि हुन्छ, समयसमय औषधि खानु होला र खानामा अलि फरक पार्नुहोला’, यस्तो सुझाव पाइयो। अब कार्यक्रम रद्द गर्नेबाहेक अरू उपाय रहेन। कार्यकाल सकेर स्वदेश फर्कनुअघि जसरी भए पनि यी देशको भ्रमणमा जाने इच्छा जारी नै राखेँ। भनाइ छ नि, जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय। फेरि दाजु पेरिस आउनुभयो। ‘अब त जान सकिन्छ कि’ भन्ने दाजुको भनाइले हामी हौसियौं। टिकट पनि तुरुन्त बन्यो। जानका लागि स्वीकृति पहिला नै प्राप्त भइसकेको थियो। हामी तीन जना ७ अगस्टमा पेरिसको चाल्र्स डेगाल एअरपोर्टबाट अर्जेन्टिनाको राजधानी ब्युएनोस आइरेसका लागि रातको १० बजे उड्यौं।

बोइङ कम्पनीले बनाएको ७७७ (२०० सिरिजको भीमकाय हवाईजहाज) हेर्दा कसरी उड्छ होला आकाशमा भन्ने पनि लागेको थियो। अनि त्यही रूपको दुईवटा विमान हालसालै दुर्घटनामा परेका थिए। मनमा अलि केही भावना कुँडिएको त थियो। तर त्यस्तो कुनै समस्या परेन। पूरै १२ घन्टा ५५ मिनेट सीधा कतै नरोकी उडेपछि भोलि बिहान ९ बजेतिर अर्जेन्टिनाको राजधानी ब्युनोस आइरेसमा विमान अवतरण भयो।
त्यसपछि ३५ मिनेटको उडानपछि उरुग्वेको राजधानी मोन्टेभिडियो पुगियो विमानस्थल सानै रहेछ। अर्ध डोम आकारको डिजाइन भएको यस विमानस्थलमा पाइला टेकेपछि मनमा खुसी छायो।

चिटिक्क परेको, सफासुग्घर र व्यवस्थित रहनेछ विमानस्थल। झन्डै २४ किलोमिटरको बाटो समुद्रको किनार भई जाँदो रहेछ। रमणीय लाग्यो, यो ठाउँ। यतिका सहरहरू घुमियो, हेरियो, तर मोन्टेभिडियो सहर आएपछि मन रोमाञ्चित भएको थियो। बायाँतिर समुद्र, दायाँतिर सहर। मानिसहरू पनि हँसिला, पोसिला। साँझतिर सहर घुम्दा त्यहाँको बारेमा धेरै कुरा जानकारी पाइयो। रमाइलो सहर रहेछ। अलिअलि चिसो भएकोले राति ८ बजेतिर नै सबै पसल बन्द भइसक्ने र मानिसहरू खानपिन, नाचगानमा मस्त रहने चलन रहेछ। सहरको बनावट पनि सजिलो र बुझ्न सकिने। धेरैजसो स्पेनिस भाषा बोल्ने भए पनि अलिअलि अंग्रेजी बोल्ने पनि पाइयो। होटेलहरू प्रशस्त भएको र अंग्रेजी बोल्ने भएकोले कुनै समस्या भने परेन।

राति डिनरको लागि ल पासिभानामक रेस्टुराँमा गयौं। उरुग्वेवासीहरू मासु भनेपछि हुरुक्क हुने रहेछन्। ल्याटिन अमेरिकी राष्ट्रमध्ये प्रतिव्यक्ति आय सबैभन्दा उच्च भएकोले यहाँको बजार भाउ अलि महँगो हो कि भन्ने भान पर्‍यो। तर पनि हामीलाई त्यति असजिलो भने भएन। सन् २००९ मा उरुग्‍वेबाट नेपालमा ४७ लाख रुपैंयाँभन्‍दा बढीका सामानहरु आयात भएको तथ्‍याङकले देखाउँछ भने त्‍यसपछि आयात सुकेको पाइएको छ। सन् १५१२ मा पोर्चुगिजले कब्जामा लिए तापनि त्यसपछि सन् १५१८ देखि स्पेनिसहरूले राज गरेको यो देशमा सन् १८११ देखि १८३० सम्म राष्ट्रिय हिरो आर्टिंगासले स्वतन्त्रताको लडाइँमा विजय हासिल गरी देशलाई उपनिवेशवाट मुक्त गरेको इतिहास पाइन्छ।

स्वतन्त्रता, शान्ति, कम भ्रष्टाचार तथा उच्च जीवनयापन आदिका कारण उरुग्वेलाई सानो भए तापनि एउटा नमुनाको देशको रूपमा लिइन्छ। गर्भपतनलाई कानुनी मान्यता भएको र हालसालै सीमित मात्रामा गाँजासमेत खुलेआम बिक्रीवितरण गर्न पाइने कानुन बनाएको उरुग्वेलाई विभिन्न दृष्टिकोणले अलि भिन्नै खालको देश मानिँदो रहेछ।
३२ लाख ४० हजारमात्र जनसंख्या भएको यस मुलुकका ४० प्रतिशत बासिन्दा त राजधानी सहरमा मात्र बसोबास गर्दा रहेछन्। देशको भौगोलिक आकार पनि गोलो नै छ। यस देशको राष्ट्रपति महोदय महामहिम खोजे मुजिकाको जीवनशैलीले विश्वको ध्यान आकर्षण गरेको छ।

राष्ट्रपति प्रासादमा नबसी आफ्नै सानो घरमा बस्ने गरेका राष्ट्रपतिले त आफ्नो तलबको ८० प्रतिशत त गरिबहरूलाई नै बाँड्दा रहेछन्। करिब ५६ अर्ब डलरको वार्षिक ग्राहस्र्थ उत्पादन रही, १७ हजार तीन सय ९१ डलर वार्षिक प्रतिव्यक्ति आय भएको उरुग्वेको खास उत्पादनमा चामल, मासु, दुग्ध पदार्थहरू तथा खनिजहरू रहेको छ। उत्तरमा ब्राजिल, पश्चिममा अर्जेन्टिना तथा दक्षिण पूर्वमा एटलान्टिक समुद्रले घेरिएर रहेको एक लाख ७६ दुई सय १५ वर्ग किलोमिटर क्षेत्रफल रहेको राष्ट्र ल्याटिन अमेरिकाको दोस्रो सानो मुलुक हो, उरुग्वे। भोलिपल्ट बसबाट सहर घुम्न निस्कियौं। स्वतन्त्रता स्क्वायरदेखि मुख्य हेर्न लायक महलहरू, सडकहरू, पुरानो जार तथा चर्चहरू पनि हेरियो। जताजतै सफासुग्घर देखिएको यस मोन्टेभिडियो सहर मनमोहक रहेछ।
बसमा गाइडको रूपमा मिस रोक्साना थिइन्। राम्रो अंग्रेजी बोल्न सक्ने भएकोले उनले आफ्नो देश र सहरको राम्रो परिचय दिइन्। उनको भनाइअनुसार उरुग्वेवासीका तीनवटा मुख्य लगाव छन्। फुटबल, मासु तथा माते।

उरुग्वेवासी फुटबल भनेपछि हुरुक्कै हुने र अधिकांश आफ्नो काम छाडी रंगशाला लाग्ने रहेछन्। सन् १९८० मा विश्वकपको फाइनल खेलमा उरुग्वेले ब्राजिललाई ६-० ले हराई कप जितेको इतिहास छ। यति सानो राष्ट्रले त्यति ठूलो राष्ट्रलाई आफ्नो क्षमता तथा कौशलले हराउनु कम सानको कुरा थिएन। यसले गर्दा पनि उरुग्वेवासीमा फुटबलप्रति विशेष लगाव रहेछ। यस देशका एक व्यक्तिले औेसत वार्षिक ८० किलो मासु खाँदा रहेछन्। तर पनि त्यति ठूलो जिउडालका मानिस भने देखिएनन्। अनि माते चाहि हरियो चियाजस्तो पातलाई भनिँदो रहेछ।

त्यो पात भाँडामा राखी तातोपानी थप्दै खाँदा रहेछन्। तातोपानीको लागि थर्मस काखीमा च्यापेर हिँड्दा रहेछन्। बाटोमा हिँड्दाहिँड्दै कतै बस्यो कि वा जता सुविधा भयो त्यतै बसेर माते पिउने चलन रहेछ महिला तथा पुरुष सबैले। पहिला देख्दा के गरेको होला जस्तो लागेको थियो, तर पछि कुरा बुझेपछि रमाइलो नै लाग्यो। सन् २००९ मा उरुग्गेबाट नेपालमा ४७ लाख रुपैयाँभन्दा बढीको सामानहरू आयात भएको तथ्यांकले देखाउँछ भने त्यसपछि आयात सुकेको पाइएको छ।

नेपालबाट सो मुलुकमा केही वर्षअघिसम्म निर्यात अति न्यून भए तापनि सन् २०१३ को आँकडा भने २७ लाख रुपैयाँभन्दा बढी देखिन्छ।भौगोलिक रूपमा धेरै टाढा भए तापनि आजको विश्वभूमण्डलीकरणको जमानामा पर्यटन, व्यापार तथा वैदेशिक लगानीका अवसरहरूलाई उपयुक्त माध्यमबाट बढावा दिन नसकिने भने होइन। दुई रात तीन दिनको रमाइलो उरुग्वेको भ्रमण सकेर हामी ब्युनोस आइरेस आयौं। अर्जेन्टिना त दक्षिण अमेरिकाको ठूलो देश हो, क्षेत्रफलको हिसाबले। तर दुई दिन बस्ने कार्यक्रम रहँदारहँदै पनि कार्यालयको कार्यबोझले गर्दा एक दिन छोट्याउन पर्‍यो।

ब्युनोस आइरेस सहर निकै राम्रो रहेछ, साथै क्षेत्रफलको हिसाबले ठूलो पनि। पर्यटक बसमा बसी सहर घुमियो। जताततै रमाइलो देखियो। खासगरी विश्वकै सबैभन्दा फराकिलो सडक प्लाजा डे मायो (फ्रिडम प्लाजा) को मनमोहक दृश्य बिर्सनै नसकिने छ।
त्यहाँ हजारौ मानिसको भीड रही रहँदो रहेछ। खासगरी युवायुवतीको जमघट थलो रहेछ। सडक दायाँबायाँ एक सय २ मिटर फराकिलो रहेछ। अर्जेन्टिनाका बासिन्दा पनि निकै रमाइलो तथा मित्रवत् छन्। तर केही ठाउँठाउँमा फोहोरको थुप्रो भने देखियो। इतिहासको कालखण्डमा निकै आरोहअवरोह भोगेको यस राष्ट्र हाल सशक्त महिला राष्ट्रपतिको अगुवाइमा आर्थिक विकासमा फड्को मारी रहेको छ। देश चिनारीजस्तो गरी हामीहरू समयमै पेरिस फक्र्यौं। यसरी लामो समयदेखि उरुग्वे तथा अर्जेन्टिना भ्रमण गर्ने धोको पनि पूरा भयो।
-लेखक फ्रान्सका लागि पूर्वराजदूत हुन्।