– चिरन शर्मा
लण्डन/युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाई मंगलबारदेखि फेरि सुरु हुने भएको छ। सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि सुनुवाई सुरु हुन लागेको हो।
गत अगष्टमा भएको प्राराम्भिक सुनुवाईबाटै अन्तिम टुग्गो लगाइने बताइए पनि लामाको मुद्दा हेरिरहेका न्यायाधीशले पूर्ण इज्लासबाट फैसाल हुनुपर्ने निर्णय सुनाउदै मंगलबारका लागि सुनुवाइको मिति तय गरेका थिए ।
लामाको मुद्दा १२ जनाको जुरीमा सुनुवाइ हुँदैछ। पीडितका तर्फबाट मुद्दा हेर्दै आएको नेपालको एडभोकेसी फोरमकी प्रमुख मन्दिरा शर्मा पीडितका तर्फबाट प्रत्यक्षदर्शीका रुपमा बयान दिन लण्डन आइपुगेकी छन्। लामाको सुनुवाई दुई हप्ता सम्म चल्न सक्ने र अन्तिम फैसला हुन चार हप्ता सम्म लाग्ने अपेक्षा गरिएको छ।
लण्डनस्थित नेपाली दूतावासका सैन्य सहचारी कर्णेल प्रदिप जंग केसीले मंगलबार सुनुवाइ हुने बारेमा अनविज्ञता प्रकट गरे। ‘लामाको मुद्दा हेरिरहेका वकिलको नेपाली सेनाको लिगल टिम सिधैं सम्पर्कमा रहेर काम गरिरहेको छ, कर्णेल केसीले भने, ‘यसबारे मसँग धेरै सूचना छैन।’
सार्वभौम सत्ता सम्पन्न मुलुकको अदालतले गरेको फैसलालाई अर्को मुलुकले मान्यता दिनुपर्ने वा नपर्ने, यातनाविरुद्धको महासन्धि कन्भेन्सन अगेन्स्ट टर्चर (क्याट) का बुँदा पालना गर्नुपर्ने वा नपर्ने, युद्ध अपराधसम्बन्धी विश्वव्यापी सन्धिको पालना गरेको वा नगरेको भन्ने विषयमा बहस हुने बताइएको छ।
सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन गरेको अभियोगमा लामालाई गत बर्षको जनवरी पहिलो साता बेलायतमा पक्राउ गरिएको थियो। सुडान मिसन प्रमुख रुपमा कार्यरत लामा बेलायतमा रहेकी श्रीमती भेट्न आएका बेला मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो। पछि धरौटीमा छोडेको भए पनि उनी आफ्नै घरमा बसेर मुद्दा लडिरहेका छन्। उनलाई वेलायत छाड्ने अनुमति छैन।
लामामाथि सन् २००५ मा गोरुसिंगे ब्यारेकमा कार्यरत रह″दा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप छ । यतिबेला उनी लण्डनको इष्ट ससेक्समा श्रीमति र दुई छोरीका साथ बस्दै आएका छन्।
-nagariknews.com





