कोस्टा ब्लान्काका बालबालिकाहरुलाई नेपाली भाषा सिक्ने अवसर,कक्षा संचालनमा आउदै


– प्रकाश तिवारी
बेनिडर्म/

नेपाल स्पेन समाज बेनिडर्मको आयोजनामा स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपाली बाल बालिकाहरुका लागि नेपाली भाषा र सस्कृतिको परिचय गराउने उदेश्यले नेपाली कक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापहरु संचालन हुने भएको छ।

९ फेव्रुअरी, शुक्रबारका दिन बसेको समाजको बैठकले यसै महिना फेब्रुअरी १५ आइतबार देखि प्रत्येक आइतबार १२ बजे देखि नेपाली भाषा तथा अतिरिक्त कक्षा संचालन गर्ने निर्णय गरेको छ। कोस्टा ब्लान्का क्षेत्रमा सबै भन्दा धेरै नेपालीहरुको बसोबास रहेको शहर बेनिडर्म स्थित युरोपा बसपार्क टिकट काउन्टर नजिकैको स्थानमा नेपाली भाषा कक्षा संचालन गर्ने हुदाँ यस क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली अभिभावकहरुलाई आफ्ना नानि बाबुहरुलाई उक्त स्थानमा लिएर आइदिन नेपाल स्पेन समाज बेनिडर्मले अनुरोध समेत गरेको छ।

स्पेनको कोस्टा ब्लान्का क्षेत्रमा रहेका नेपाली समुदाएको हितमा काम गर्ने उदेश्यले सन् २००९ तिर स्थापना भई विभिन्न नेपाली कार्यक्रमहरु गरि बिचका बर्षहरुमा निस्क्रिय रहेको नेपाल स्पेन समाज पुन: सन् २०१४ देखि सक्रियताका साथ नेपाली समुदायको हितमा विभिन्न गितिबिधिहरु संचालन गर्दै आएको थियो। दोश्रो पटक निकै सक्रियता देखाएको समाजले सुरुवातका केहि महिनामा अत्यन्तै क्रियाशील रहे पनि केहि महिना पछि पुन: सुस्ताएको थियो। हाल आएर नेपाली माता पिता बाट यहाँ जन्मिएका तथा नेपाल बाट यहाँ परिवार सहित आएका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सहित अतिरिक्त विधाहरु (गीत संगीत तथा नृत्य) का कक्षाहरु पनि संचालन गर्दै जाने बताएको छ ।