काठमाडौं/ प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई द्वन्द्वबाट बचाउन सबै नागरिक सजग हुन पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणका सम्बन्धमा आफ्ना सुझावसहितको ज्ञापनपत्र बुझाउन आएको महिला शक्ति राष्ट्रिय समन्वय केन्द्रका पदाधिकारीसँग उहाँले भन्नुभयो, “नेपाली जनताले सात दशकभन्दा लामो समयदेखि गरेका आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्ने ऐतिहासिक चरणमा शान्तिलाई खलल पारेर मुलुकलाई द्वन्द्वतिर लगियो भने देश कहाँ पुग्छ भन्न सकिन्न ।”
केन्द्रका अध्यक्ष दुर्गा पोखरेलको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीले नेपाली जनताले अहिले सङ्घीयता, गणतन्त्र र समावेशीतासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकाले यसलाई संस्थागत गर्नतिर सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानाकारी दिनुभयो ।
उहाँले सबै नेपालीले चाहेजस्तो स्वतन्त्रतायुक्त राजनीतिक व्यवस्था प्राप्त भइसकेकाले अव सबैले आफ्नो ध्यान, शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास, लोकतान्त्रिक संविधान र मुलुकको सामाजिक–आर्थिक र पूर्वाधार विकासमा केन्द्रित गर्न आवश्यक भएको बताउनुभयो ।
प्रधानमन्त्रीले माघ ८ अगावै सबै दल सहमतिको निकट पुगे पनि केही दलका केही नेताका अव्यावहारिक अडानका कारण निर्धारित मितिमा संविधान बनाउन नसकिएको बताउनुभयो । उहाँले सहमतिको सम्भावना टाढिँदै गएपछि उच्चस्तरीय राजनीतिक समितिमा भएको समझदारी, संविधानसभा नियमावली, संवैधानिक व्यवस्था र प्रजातन्त्रका विश्वव्यापी मान्यता, सिद्धान्त र परम्पराअनुसार प्रक्रियामा जानुपरेको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री कोइरालाले अहिले विश्वमा नेपालको साख वृद्धि भएको र विश्वभरका लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक भएको बेलामा सबैले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम गर्न सघाउनुपर्ने पनि बताउनुभयो ।
प्रतिनिधिमण्डलले ज्ञापनपत्रमा वार्ताको माध्यमबाट राजनीतिक विवादको अन्त्य गरी संविधान लेखन प्रक्रिया अगाडि बढाउन, संविधान महिला मैत्रीपूर्ण बनाउन, शान्तिप्रक्रियालाई पूर्णता दिन, राज्यका सबै निकायमा महिलालाई ३३ प्रतिशत स्थान आरक्षण गर्न र शान्ति खल्बल्याउने र द्वन्द्व निम्त्याउने सबै कार्य रोक्ने वातावरण सिर्जना गर्ने माग गरेको थियो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष शारदा पोखरेल, महासचिव प्रतिभा सुवेदी, सचिव कोपिला रिजाल, कोषाध्यक्ष राधा शर्मालगायत हुनुहुन्थ्यो । रासस