आवेग र उत्तेजनामा एमाओवादी तोडफोडमा उत्रिएको ओलीको आरोप


पोखरा,/नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्ने प्रक्रिया कुनैपनि हालतमा नरोकिने बताए । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सकेसम्म धेरैको सहमतिमा संविधान बन्ने दावी गरे । दुई तिहाइ मत बिना संविधान बन्न नसक्ने बताउँदै ओलीले दुई तिहाइ भन्दा बढीको सहमति जुटाउनु नै सहमति भएको बताए ।

एमाले राष्ट्रिय एकताको पक्षमा रहेको बताउँदै ओलीले भौगोलिक अखण्डताको पहरेदार बन्ने दावी गरे । आफ्नो पार्टीको एकमात्र अर्जुन दृष्टि संविधान निर्माण भएको ओलीले बताए । बिना प्रक्रिया संविधान बन्न नसक्ने बताउँदै ओलीले सबैको सहमति भएपनि प्रक्रियामा नै जानुपर्ने बताए । एमाओवादीले संविधान बन्न नदिनका लागि आवेग र उत्तेजनामा आएर तोडफोडमा उत्रिएको आरोप छ ।

संविधान बन्न नदिनका लागि एमाओवादी आन्दालनमा जान लागेको आरोप लगाउँदै ओलीले आन्दोलनमा जाँदा जनताले एमाओवादीलाई साथ नदिने धारणा राखे । एमाओवादीले अहिलेसम्म आन्दोलन नगरी विध्वंस मात्र मचाउने काम गरेको ओलीले बताए । केही राजनीतिक दलले जनताको दिमागमा विष भर्ने काम गरेको ओलीले बताए । काँग्रेस, एमाले र केही साना दल मिलेपछि दुई तिहाइ पुगेपनि सकेसम्म धेरैको दलको सहमतिमा संविधान जारी हुने ओलीले दावी गरे ।