पोखरा,/
पहिचानसहितको संघीय गणतन्त्रात्मक संविधान सहमतिका आधारमा जारी गर्नुपर्ने माग राख्दै दवाव स्वरुप पहिचान पक्षधर दलहरुको मोर्चा, संयुक्त संघर्ष समिति कास्कीले विहिवार पोखरामा जुलुस प्रर्दशन र कोणसभा सम्पन्न गरेको छ ।
दोश्रो संविधानसभाले संविधान जारी गर्ने भनिएको दिन माघ ८ गते पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान जारी हुनुपर्ने मागसहित ३६ दलीय मोर्चाले लखनचोकबाट जुलुस शुरु गरी नयाबजार हुदै भिमसेनचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
पहिचानसहितको संविधान, आम नेपालीको अधिकार सुनिश्चित भएको संविधान सहमतिकै आधारमा जारी गराउनुपर्ने नाराका साथ भिमसेन पुगी आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा—माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमानले आम नेपाली जनताको समान अधिकार भएको, पहिचान सुनिश्चित गरिएको विभेद मुक्ति गरिएको सबैले मेरो महसुस गर्ने संविधान राष्ट्रिय राजनीतिक सहमति, सर्वपक्षीय राजनीतिक सम्मेलन मार्फत निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सत्तामा रहेकाहरुको दिमाग दिल्लीमा राखेर कसरी सहमति हुने भनि प्रश्न गर्नुहुदै रिमोट कन्ट्रोलहरुलाई सत्ताबाट हटाएर मात्र जनताका अधिकार सम्पन्न संविधान निर्माण गर्न सकिने बताउनुभयो । एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले काग्रेस एमालेले बहुमतको नाउमा २०४७ सालकै ल्याउन षडयन्त्र गरिरहेको भन्नुहुदै खबरदारीका साथमा पहिचान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, उत्पिडित जनताको अधिकार सम्पन्न संविधान जारी गरिनुपर्ने बताउनुभयो ।
संविधानसभालाई ब्यारेकीकरण गरेर, जनताका मुख थुनेर बनाउने संविधान जनतालाई चाहिएको छैन, पहिचान र सबैको अधिकारको सुनिश्चित भएको संविधान सडकबाटै निर्माण गरिने चेतावनी दिनुभयो । संविधानसभा अँन्दोलनले सडकबाटै निर्माण गरेकाले संविधान पनि सडकबाटै निर्माण गर्न सकिने कोइरालाको दावी थियो । संविधानसभा विरोधी सुशील कोइराला, ओलीहरु संविधानसभाबाटै जनताको अधिकार रेट्न तल्लीन भएकाले नैतिकताको आधारमा पनि कोइराला ओलीले संविधानसभा छोड्नुपर्ने उहाँको भनाई थियो ।