बसन्त रानाभाट
बार्सिलोना/
परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले स्पेनमा राजदुताबास स्थापनाको लागि आफुले बिशेष रुपमा पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। स्पेनबाट ज्ञापनपत्र बुझाउन नेपाल गएको टोलीलाई सोमबार मन्त्रालयको कार्यकक्षमा भेट गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न पहिले नै निर्णय गरिसकेकोमा किन रोकिएको रहेछ, त्यसमा चासो राख्दै , ज्ञापनपत्रलाई पनि बिशेष रुपमा हेरी आफुले सक्दो पहल गर्ने आश्वासन मन्त्री पाण्डेले दिएको भेटमा सहभागी एनआरएन आईसीसी सदस्य दिपक खरेलले जानकारी दिए।
मन्त्री पाण्डेलाई करिब ३ हजार ५ सय स्पेनबासि नेपालीहरुको हस्ताक्षर सहित ३ पृष्ठ लामो ज्ञापनपत्र बुझाइएको छ। करिब ८ हजार नेपालीहरुले बसोबास रहेको अनुमान गरिएको स्पेनमा भोग्नु परेका समस्या लगायत,परिबार पुनर्मिलनको क्रममा दिल्लीमा भोग्नु पर्ने हैरानीहरुलाई पनि ज्ञापनपत्र समाबेश गरिएको छ।
एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले मन्त्री पाण्डेलाई ज्ञापन पत्र पढेर सुनाएका थिए। भेटमा आईसीसी सल्लाहकार पुष्प राज तिमिल्सिना, संघका महासचिब सन्दिप मोहन भट्टराई पनि सहभागी थिए।
स्पेनमा नेपालीहरुले भोग्नु पर्ने समस्याहरु, नेपालको मेडिकल रिपोर्टलाई दिल्लीमा मान्यता नदिईने,परिबार पुनर्मिलन प्रकियाका भोग्नु पर्ने झन्झटहरु,स्पेनिस पर्यटकहरुलाई नेपाल भित्राउन सकिने प्रचुर सम्भावनाका बारेमा भेटमा सहभागी चारै जनाले आ- आफ्नो बिचार राख्दै मन्त्री पाण्डेलाई जानकारी गराएका थिए।
सहभागीहरुले दुताबासलाई लाग्ने खर्च स्पेनबाट नेपाल घुम्न जाने पर्यटकबाट नै उठ्ने बिश्वास मन्त्री पाण्डेलाई दिलाएका थिए।
यसै बीच टोलीले दुताबास स्थापनाको लागि दबाब स्परुप परराष्ट्र सचिब शंकर दास बैरागिलाई पनि छुट्टै भेट गरि ज्ञापन पत्र बुझाएको छ। बैरागीले आफ्नो तर्फबाट सक्दो पहल गर्ने र मन्त्रालय समक्ष स्पेनका नेपालीहरुको मागलाई पुर्याउने र कार्यान्वयनमा जोड दिने प्रतिबद्दता ब्यक्त गरेको संघका अध्यक्ष गिरीले नेपालीनेपाली डटकमलाई जानकारी दिए।
एनआरएनए स्पेनले रात्रिभोजको आयोजना
गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनले नेपाल सरकारका मन्त्रीहरु समक्ष राजधानी काठमाडौमा रात्री भोजको आयोजना गरेको छ।
रात्रिभोजमा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द निधि लगायत नेपाल सरकारका उच्च पदस्त अधिकारीहरु,पत्रकारहरु सहभागी थिए।
टोलीको साथमा स्पेनबाट गएका संघका कार्यसमिति सदस्य प्रकाश भट्टराई, क्षेत्रीय समिती ग्रान क्यानारियाका सल्लाहकार कृष्ण भुसाल पनि सहभागी बने ।
उक्त अबसरमा पनि स्पेनमा राजदुताबासको आवश्यकताको बारेमा जानकारी गराइएको संघले जनाएको छ।