पोखरा/
सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले गलत उद्धेश्य राखी काम गर्ने जोसुकै कर्मचारीलाई पनि कारवाही गर्ने वताउनुभएको छ । पोखरामा सुशासनका लागि नागरिक समाज कास्की र अख्तियार पोखरा दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गरेको कार्यक्रममा मन्त्री पण्डितले, भ्रष्टाचार न्यूनिकरण तथा सुशासन कायम राख्ने पहिलो दायित्व कर्मचारीको रहेकोमा जोड दिनुभयो ।
मन्त्री पण्डीतले संवैधानिक निकाय अख्तियारमा कर्मचारी पठाउन आफुलाई संकट परेको गुनासो पनि गर्नुभयो । मन्त्रि पण्डितले अख्तियारमा कर्मचारी सरुवा गर्दा कर्मचारीह्रु मैले के गल्ती गरे र संजाय दिएको भन्दै, रुँदै आउने गर्छन्, अनि सवैको रोजाईमा अर्थ मन्त्रालय किन पर्छ, यसको आशय के हो ? मन्त्री पण्डितले प्रश्न गर्नुभयो । आफुले कसैलाई काखा पाखा नगर्ने तर गलत काम गर्नेलाई कारवाही गर्ने हिम्मत आफुमा रहेको मन्त्री पण्डितको दावी छ ।
एक जना सहसचिवले मलाई मन्त्रीवाट हटाईदिनु पर्ने भन्दै, अख्तियारदेखि प्रधानमन्त्री, राष्ट्रिपति कार्यालय, राजनीतक दल मात्रै होईन देशी र विदेशी तागत पनि प्रयोग गरेको पाएको छु, आखिर किन ?
उनले चाहेको मन्त्रालयमा सरुवा चाहियो । त्यसरी कुनैपनि कर्मचारीले मन्त्रालय र राम्रा कार्यालय भन्दै रोज्नुका कारण खोजिनुपर्छ,–मन्त्री पण्डितले भन्नुभयो । नेपालका ४० प्रतिशत सरकारी कर्मचारीले दोहोरो जागिर खान्छन् ती कर्मचारीले त्यस्तो दोहोरो सुविधा नत्यागे कारवाही गर्ने पनि मन्त्री पण्डितको दावी छ ।
नेपालमा भ्रष्टाचार न्यूनिकरणका लागि सवैभन्दा पहिले नीजि क्षेत्रले आफुलाई स्पष्ट र सुधार गर्नुपर्ने मन्त्री पण्डितले वताउनुभयो । कुनैपनि गलत काम गर्नेलाई कारवाही गर्न खोज्योे, जान्ने सुन्ने वकिल खडा हुन्छन्, नीजि क्षेत्र विरोधमा उत्रन्छ, जसका कारण भ्रष्टाचार संस्थागत वनेको छ सामान्य प्रशासनमन्त्री पण्डितले भन्नुभयो ।
वाटो गलत लिए गलत ठाँउमा पुगिन्छ, हामी सवैले परिवर्तन चाहेका छौ, त्यसैले भ्रष्टाचार कम गर्ने र देशमा सुशासन कायम गर्ने वाटोमा सवैको भूमिका उत्तिकै आवश्यक छ । राजनीति पेशा होईन, सामाजिक सेवा वन्नुपर्छ, मन्त्री पण्डितले भन्नुभयो,–राजनीतिक दलहरुले गलत काम गर्ने कसैलाई पनि पक्षपोषण नगर्नुहोस् ।