पोखरा/सिर्जना विकास केन्द्र पोखराले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा आज सिमलचौरस्थित केन्द्रको प्राङ्गणमा साँस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा सिर्जना सामाजिक सेवा पुरस्कारबाट पोखरा बृद्धाश्रम पोखरा १७, सीतापाइलाका अध्यक्ष बसन्तकेसव पराजुलीलाई सम्मान गरिएको थियो ।
पुरस्कारको राशी १५ हजार सहित सम्मान पत्र र दोसल्ला रहेको छ । कार्यक्रमका नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ सदस्य रमेश श्रेष्ठ, संस्थाका अध्यक्ष राजु पौडेल लगायतले वहाँलाई दोसल्ला ओडाएर नगद सहित पुरस्कृत गर्नुभएको हो । सम्मानित व्यक्तित्व पराजुलीले पोखरा बृद्धाश्रमको संस्थापक सचिव र अहिले अध्यक्ष रहनुभएको छ भने वहाँले विभिन्न सामाजिक कार्यमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । कास्की जिल्लाको शिक्षा क्षेत्रको साथै ज्येष्ठ नागरिकहरुको हक हितका लागि वहाँ क्रियाशील रहनुभएको छ ।
कार्यक्रमको अवसरमा पोखरा ८ का ज्येष्ठ नागरिकहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सिर्जना विकास केन्द्रले सिर्जना बहिरा विद्यालय, द्वन्द्वपीडित बालकालिकाको शिक्षा, लघुवित्त कार्यक्रम मार्फत् हजारौं महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउँदै आएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक परिवर्तनका लागि सिर्जना विकास केन्द्रले उल्लेखनीय भूमिका खेलेको भन्दै युवा पिढींलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बालकालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।