उमा आलेमगर
पोखरा, २६ भदौ
सेप्टेम्बर १० अर्थात् अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवस आज पोखरामा विविध सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्षको अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको नारा ‘‘आत्महत्या रोकथाम ः सम्पूर्ण विश्व एक साथ’’ तय गरिइएको छ ।
दिवसको अवसरमा आज कोपिला नेपालले मानसिक स्वास्थय र आत्महत्या विषयक परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने अधिकांशले मानसिक स्वास्थय र आत्महत्या एक अर्कामा सम्बन्धित हुने भएकोले मानसिक रोगीलाई हिनता बोध हुने क्रियाकलाप कहि कसैले गर्न नहुनेमा जोड दिएका थिए । उनीहरुले मानसिक रोगीलाई सबैले माया सद्भाव दिनुपर्ने बताउँदै आत्महत्याको घटनामा कमी गर्न घर परिवार, समाज र राज्यनै सहयोगी हुनुपर्नेमा बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर रामचन्द्र ढकालले मानसिक स्वास्थयलाई छुट्याएर हेर्न नहुने बताउँदै नेपाल सरकारले पनि अहिले मानसिक स्वास्थयलाई चासोको विषय बनाएको जानकारी दिनुभयो ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मानसिक स्वास्थय निर्देशक डा. निर्मल सिलवालले मानसिक स्वास्थयको अन्तरािष्ट्रय अवस्था र यसमा नेपालको दृष्टिकोण कस्तो छ ? भन्ने विषयमा प्रस्तुति राख्नुभएको थियो ।
त्यस्तै कोपिला नेपालका कर्मचारी लक्ष्मणनाथले आत्महत्याका धेरै कारणहरु हुने बताउँदै मानसिक रोग, डिप्रेसन, आवेग, मादकपदार्थ सेवन, हिंसा प्रमुख भएको बताउनुभयो । लक्ष्मणनाथले आत्महत्याका कारणहरु, सुरक्षाका तत्वहरु, सहयोग र उपचार कहाँ र कोसँग, संभावित लक्षणहरु, आत्महत्याबारे गलत अवधारणा जोखिमका तत्वहरु, आत्महत्याको सोच र प्रकृति व्यवस्थापन लगायतको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहरी सुकुम्बासी परियोजनाका अफिसर सन्तोष दाहालले आत्मह्तया सम्बन्धि इलाममा गरेको अनुसन्धानको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ जनस्वास्थय अधिकृत रमेशप्रसाद अधिकारीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार गएको ४ वर्षमा आत्महत्याका ६ सय ५० घटना दर्ता भएका छन् । जसमा २०६८÷२०६९ मा १ सय ४९ जना, २०६९÷२०७० मा १ सय ३८ जना, २०७०÷२०७१ मा २ सय ५ जना रहेका छन् । आत्महत्या गर्नेमा २१ देखि ५० उमेर समुह मध्ये २१ देखि ३० वर्ष उमेर समुहका सबैभन्दा धेरै, ३१ देखि ४० वर्ष उमेर समुहका दोस्रो र ४१ देखि ५० वर्ष उमेर समुह तेस्रो स्थानमा रहेको छ । यसरी उत्पादनमुखी उमेर समुहका मानिसहरु धेरैले आत्महत्या गरेको पाइएकोले परिवार, समाज र राज्यले यो समस्यालाई बुझेर आत्महत्याको घटनामा कर्मी ल्याउन पहल गर्नुपर्ने कार्यक्रममा सहभागील निश्कर्ष निकालेका थिए । कार्यक्रममा महिला, बालबालिका, कठिन परिस्थितिका व्यक्तिहरु, सरकारी निकायका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी गरी २५ जनाको सहभागीता रहेको थियो ।
त्यस्तै आज राति ८ बजे आत्महत्या गरेर ज्यान गुमाएका र आत्महत्याको प्रयास गर्नेहरुको सम्झनामा १ घर १ मैनबत्ति बाल्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक तिर्थ थापाले जानकारी दिनुभयो । उहाँले सम्पूर्णलाई भोलि राति ८ बजे १ घर १ मैनबत्ति घरको झ्यालमा बाल्न आग्रह गर्नुभयो ।
कापिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मनोसामाजिक सुरक्षाका कार्यक्रम संयोजक सुदिप घिमिरेले गर्नुभएको थियो ।