प्रदीप पौडेल
पोखरा, २० भदौ –
नेपाल प्रेस युनियनको आठौ राष्ट्रिय महाधिवेसन शनिबार पोखरामा सुरु हुँदैछ । महाधिवेसनको सम्पूर्ण तयारी पूरा भएको महाधिवेसन मूलआयोजक समितिले जनाएको छ । महाधिवेसनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । २ दिनसम्म चल्ने महाधिवेसनमा नेपालभरबाट १२ सय ८४ जना प्रतितिधिको सहभागिता रहनेछ ।
महाधिवेसनको उद्घाटनका लागि प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री एवं काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, संचारमन्त्री मिनेन्द्र रिजाल, पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसी, पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूलगायतको उपस्थिति रहनेछ ।
महाधिवेसन स्थल पोखरा सभागृह सजाइएको छ भने सहरका विभिन्न ठाउँमा तुल व्यानरहरु टाँगिएका छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई खानाका लागि पोखरा सभागृहमै व्यवस्था मिलाइएको छ भने सुत्नका लागि पोखराका लेकसाइड, ड्यामसाइड, पृथ्वीचोक, महेन्द्रपुलगायतका ठाउँका होटलमा व्यवस्था गरिएको छ ।
महाधिवेसनको पूर्वसन्ध्यामा आगामी नेतृत्वका लागि चुनावी सरगर्मी पनि उत्तिकै बढेको छ । युनियनको आगामी नेतृत्वका लागि बद्री सिग्देल, शिव लम्साल, गंगाधर पराजुली, भुवन भट्ट, विन्दुकान्त घिमिरेलगायतको चर्चा छ । सिग्देल हालका का.वा. अध्यक्ष हुन् भने लम्साल महासचिव छन् ।
यसैगरी पराजुली उपाध्यक्ष छन् भने भट्ट सचिव छन् ।वरिष्ठ उपाध्यक्ष पदका लागि रमेश पौडेल, सन्तोष न्यौपाने, दीपक आचार्यलगायतको चर्चा छ । महासचिव पदका लागि पनि होम लम्साल, अजयबाबु शिवाकोटी, लीलाराज खनालको चर्चा छ । महाधिवेसनले ७१ सदस्यीय कार्यसमिति चयन निर्वाचित गर्नेछ ।