सृष्टि काफ्ले-
त्यो रात आइपिएलको फाइनल खेल हुँदै थियो। भाइ टिभी हेर्नमा मस्त थियो। यस्तै रातको साढे दस बजेको हुँदो हो। मेरो मोबाइलमा घण्टी बज्यो। यस्सो हेरें, ल्यान्डलाइन र एनसेलका नयाँ नम्बरहरु देखिए। त्यही कोठामा टिभी भएका कारण म आधा निद्रा र आधा ब्युझिँएको अवस्थामा थिएँ। हेर्दाहेर्दै ५ पटक मिस्ड कल आइसकेछन्। तर मलाई उठाउने जाँगरै चलेन।
सोचेँ, यति राति मलाई कसैले नयाँ नम्बरबाट किन कल गर्नु? त्यस्तो जरुरी के नै पर्यो होला र?
एकैछिनमा अर्को कोठाबाट ममी केही डराएजस्तो गरी मोबाइल बोकेर आइपुग्नुभयो। ‘बुनु, भाइको फोन छ हस्पिटलबाट।’ झसंग भएँ, निद्रा त एकैछिनमा गायब। उताबाट आवाज आयो, ‘तपाईँ अहिले नै हस्पिटल आइहाल्नुपर्यो। अङ्कलले तपाईँलाई नै बोलाइदे भन्दै हुनुहुन्छ। केही नसोध्नू अरु, आन्टीलाई केही नभन्नू, छिटो निस्किनू प्लिज।’ फोन गर्ने भाइ मेरो ठूलोबुवाको छोरा थियो जो केही दिन देखि हामीसँगै बसिरहेको थियो। पछाडि बाबाकै केही गुनगुन आवाज आइरहेको थियो। बुनु भन्ने शब्द कताकता सुनेझैं लाग्थ्यो। म अवाक भएँ, मुखबाट बोली फुटेन। एकैछिन अगाडि साढे आठ बजेतिर बाबालाई खाना खुवाएर हस्पिटलबाट घर आएको थिएँ। फोन राखेँ। सानोभाइलाई ‘स्कुटर स्टार्ट गर, हामी हस्पिटल जानुपर्छ’ भनेँ। ऊ पनि केही बोल्न सकेन। तल झरिहाल्यो। मैले दराजबाट स्वेटर र सल झिकेँ। ममीलाई भनेँ, ‘औषधी ल्याउनुपर्यो रे, अर्कै ठाउँबाट, म आइहाल्छु हजुर टेन्सन नलिई सुत्नू।’ सधैं प्यारो लाग्ने घर भूतबङगलाजस्तै लाग्दै थियो त्यो रात। कोही थिएनन् अरु। तल भाडामा बस्ने दाइहरु झापातिर गएका थिए।
स्कुटर रिजर्भमा थियो। त्यही पनि भाईलाइ जहाँसम्म पुगिन्छ, पुगिन्छ, जाऊँ भनेर निस्कियौं। गठ्ठाघरबाट टिचिङ हस्पिटल पुग्नु थियो। लामो बाटो, सुनसान रात अनि मनमा अनेक कुराहरु खेलिरहेका थिए। दुईचारजना नजिकका मान्छेलाई फोन गरेर छिटो हस्पिटल आउनू भन्दै फोन राखेँ। अरु केही बोल्नै सकिन। भाइ पनि चुपचाप, केही बोलेन। म भित्रबाट छट्पटिँदै थिएँ। यति राति किन बोलाको होला भनेर। दिमागमा नकारात्मक कुराहरु मात्र आयो। बाबालाई सम्झिएँ, उहाँको अनुहार, बोली र अरु क्रियाकलापहरु सम्झिन थालेँ। म परिवारको पहिलो सन्तान। ममीले धेरै चोटि सुनाउनु हुन्थ्यो, सानो हुँदा बाबाले अफिसबाट रित्तो हात कहिले आउन नपाउने, कारण मलाइ फ्रुटी चाहिने रे। साँझ फ्रुटी छैन भने म खाना खान्न थिएँ रे। अहिले फ्रुटी त्यत्ति मन नपरेको देख्दा हाँसो लाग्छ। मलाई सानोदेखि नै बाबासँग धेरै लगाव थियो। कसैले बाबा र ममीमध्ये कसको धेरै माया लाग्छ भनेर सोध्थे, उत्तर स्वाभाविक हुन्थ्यो, बाबाको। अनि ममी चाहिँ रिसाएजस्तो गरेर हेर्ने। मलाई लाग्थ्यो, आमाको ममता र स्नेह त वर्णन नै गर्न सकिन्न नि तर बाबाको महत्व नै बेग्लै हुने जीवनमा।
तराईमा जन्मीहुकिर्एकी म, पछि काठमाडौं आउने निर्णय बाबाकै थियो, ताकि छोराछोरीले राम्रो पढ्न सकून्। अझ राम्ररी पढेर भविष्य उज्ज्वल बनाउन सकोस् भन्ने चाह थियो उहाँमा। भाइहरु त सानै थिए। मलाइ कहिले घरबाट या भनुँ बाबाबाट कुनै कुरामा रोकतोक भएन। यहाँ नजा, यो नखा, यस्तो नलगा, यस्तो नगर, यस्तो गर, कहिले केही सुन्न परेन। आफूलाई जे पढ्न र जस्तो काम गर्न मन लाग्छ, त्यही गर्नु भन्ने थियो। त्यसैले म ढुक्क थिएँ, प्लस टु सकिएदेखि नै पार्टटाइम कामहरु गर्न थालेँ। मेरो काम देखेर बाबा पनि मख्ख। पछि टिभीमा काम गर्न थालेँ। साँझको ड्यूटी भएका कारण घर फर्किँदा ११ बज्थ्यो। अनि गेट खोल्ने काम सधैँ बाबाकै हुन्थ्यो। ममी त त्यो बेलासम्म सुतिसक्ने। तर, बाबा आधारभूत अंग्रेजी बुझ्ने भएपनि मेरो १० बजेको अंग्रेजी समाचार पूरै हेरेर मलाई कुरेर बस्नुहुन्थ्यो। म खाना खान थालेपछि मात्र सुत्न जाने गर्नुहुन्थ्यो। बाबा सधैँ अरु आफन्त वा साथीभाइसँग ‘छोरी त टिभीमा समाचार भन्छे नि’ भनेर मख्ख पर्दै सुनाउने। पछि मैले टिभी छोड्ने भन्दा बाबाले ‘जे राम्रो हुन्छ त्यही गर’ भने पनि अनुहारमा अलि मलीन भाव पाएकी थिएँ।
जतिजति हस्पिटलतिर लाग्दै थियौं, त्यत्तित्यत्ति मनमा एक किसिमको बेचैनी बढ्दै थियो। बाबालाई केही भइहाल्यो भने के हुन्छ होला हाम्रो हालत, के गर्ने होला भन्दै भगवानलाई सम्झिन थालेँ। मलाई एक मनमा यति राति भाइले त्यसरी बोलाएकाले शंका लागिसकेको थियो। केही त पक्कै भयो। सोचेँ, जे भए नि म ढृढतापूर्वक त्यसलाइ सामना गर्छु। जस्तोसुकै समस्या परे पनि सामना गर्न तयार छु भन्ने विश्वास ममा आउँँदै थियो। म अझै चूपचाप थिँए। ममीलाई सम्झिएँ, अनि पो मनमा झन् चसक्क भयो। बाबाभन्दा दशवर्ष कान्छी मेरी ममीको बाबासँग खै कस्तो प्रेम बसेछ? उहाँले आफ्नो घरपरिवार सब छाडेर भागेर बिहे गर्नु भएको रे। मलाई यो प्रेम कहानी एकदमै फिल्मी जस्तो लाग्ने। सोचेँ, भाइहरु त केटा मान्छे, मन बलियो बनाउन सक्छन् र जस्तोसुकै परिस्थितिलाई पनि पार गर्छन्। मेरो पनि दुईचार वर्षपछि बिहे हुन्छ, अनि आफ्नै संसारमा रमाउँला तर ममी? ममीलाई जीवनभर साथ दिन्छु भनेर कसम खाइ सिन्दूरपोते लाइदेका बाबालाइ केही भयो भने? मेरो सोचाइले पूरै नकारात्मक उडान भरेको थियो। तर एकथोपा नि आँसु झरेन मेरो। सायद म भित्रभित्रै आफैँलाई बलियो बनाउँदै थिएँ।
निमोनिया भएकाले १० दिनअगाडि बाबालाई अर्कै हस्पिटल भर्ना गरेका थियौं। तर, केही दिनपछि बल्ल थाहा भयो कि उहाँलाई डाइलेटेड कार्डियो मायोपाथि (डिसिएम) भन्ने रोग लाग्या रहेछ। यसले गर्दा साधारण मानिसको मुटुले राम्ररी रगत पास गर्न नसक्ने रहेछ। अर्थात निकै कमजोर मुटु। एक साधारण मानिसको मुटु ५०–६० प्रतिशत चल्नेमा बाबाको इको रिपोर्टमा जम्मा १५ प्रतिशत मात्र चलेको देखियो। जुन दिन रिपोर्ट आएको थियो, त्यही दिन हामीमाथि आकाश खसेको थियो। अनि त्यही दिनबाट अलिअलि रुवाबासी पनि शुरु भयो। न परिवारमा कसैलाई पहिले त्यस्तो रोग लागेको, न त कतै सुनेको या देखेको, पहिलो पल्ट घरमा कोही हस्पिटलमा भर्ना भएको। लाग्यो, भगवानले पनि केही हेर्ने रहेनछन्, खै के महत्व यो मन्दिर र पूजापाठको?
हस्पिटलको भर्याङ्मै डाक्टर र भाइसँग भेट भयो। उनी भन्दै थिए, ‘यो रोग नै त्यस्तै हो, न अप्रेसन गर्न मिल्छ, न कुनै ट्रान्सप्लान्ट। टिभी वा फिल्ममा देखिएको जस्तो मुटु बदल्न कि अमेरिका लानुपर्छ कि युरोप। तर पनि यो सब भन्ने कुरा मात्र हुन्, प्राक्टिल्ली पोसिबल छैन।’ उनले फेरि थपे, ‘हामीले पनि कोसिस गर्न सक्ने भनेको उहाँलाई सोफामा बसेर टिभी हेर्नसम्म बनाइदिने मात्र हो, अरु त सब भगवानको मर्जी।’ मन फेरि पनि चसक्क भयो। सोचेँ, खै के बिग्रिन्थ्यो तिनको? यदि सबै विस्तारै ठिक हुन्छ भन्देको भए। तेत्रो डाक्टरलाई भगवान ठान्यो, केही न केही। भित्र जब बाबालाई देखेँ, केही बोल्न सकिन। अक्सिजन त पहिलेबाट दिएर राखिएको थियो। तर त्यत्तिबेला एउटा अर्कै स्ट्यान्डवाला अक्सिजन दिइराखेको रहेछ, अनि फिल्ममा देखिने जस्तै मेसिनमा धड्कनको उकालीओराली गर्ने जस्तै लाइनहरु, अनि बेलाबेला टिङ्टिङ् बज्दै बल्ने रातोबत्ती। बाबाको ढुकढुकी तेज भइराखेको थियो, स्वाँस्वाँ गरेजस्तै। स्वास फेर्न गाह्रो भएझैं लाग्ने।
बाबालाई हार्टएट्याक भएको रहेछ। भाइले सुनायो, बाबालाइ गाह्रो भएपछि केवल बुनु (मलाई) लाइ बोलाइदेऊ भन्नु भएको रहेछ। लाग्यो, ओहो कस्तो अचम्मको नाता बाबु छोरीको? जीवनलाई नै साथ दिन अन्कनाइरहेको अवस्थामा पनि आफ्नै श्रीमतीभन्दा छोरीको बढी सम्झना, मुटुले नै काम गर्न नसकेको अवस्थामा पनि छोरीप्रति कत्रो प्रेम, कत्रो स्नेह। बाबाले ममीलाई खोज्न सक्नुहुन्थ्यो, या भाइहरुलाई। तर मलाई नै बोलाउन लाउनुभयो। कलेजमा सरले इडिपस कम्प्लेक्स पढाएको सम्झेँ, आमा जहिले पनि छोराको नजिक हुन्छिन् र बाबु जहिले पनि छोरीको। थ्योरी कताकता सत्य हो जस्तो लाग्यो। बाबालाई रातैभरि सास फेर्न गाह्रो भयो। सबैलाइ सुत्न पठाएँ। अनि म एक्लै बाबाको छेउको लोबेडमा पलेँटी कसेर बसेँ। घडी हेरे, दुई बज्यो, तीन, चार गर्दै कहिले रात बित्ला भनेर कुरिरहेँ। ममाथि पहाड खसेको थियो। तर, कसलाई सुनाउँ? न भगवानसँग केही मागेँ, न कसै सामु छाती पिटीपिटी रोएँ। जे भए पनि भोग्न तयार छु मात्र भनी आफैँसँग त्यही कसम खाइरहेँ। त्यो रात आँँखा झिमिक्क नगरी बित्यो। न आँखाबाट एकथोपा आँसु नै झर्यो।
बाबालाई लामो समय सिसियु (क्रिटिकल केयर युनिट) मा राख्नुपर्यो। आज डिस्चार्ज गर्ला भन्यो छैन, भोली गर्ला भन्यो छैन। डाक्टरलाइ सोध्यो आज भन्छ, सुधार छ, अनि भोलिपल्ट भन्छ, ‘खासै केही सुधार देखिँदैन।’ जहिले पनि प्राय एउटै उत्तर, ‘हामी प्रयास गर्दैछौं मात्र।’ अझै जतिचोटि गरेर हेर्दा पनि मुटुको ताल त्यही १५–२० प्रतिशत भन्दा कहिल्यै नबढ्ने। त्यसमाथि डाक्टरले एकचोटि ममीलाई भगवानलाई धेरै सम्झिनु भनेपछि चाहिँ धेरै आशा गर्न मन लागेन। त्यसबीचमा चाहिँ धेरै आँसु बगे, धेरैधेरै रोएँ। कहिले बाबाका साथीहरु र आफन्त भेट्न आउँदा आफूलाई लाचार छोरी ठानेर त कहिले आफ्नै साथीहरुँग रोएँ। त्यतिबेला चाहिँ मनमनै सम्झिएँ, म छोरा भएर जन्मिएको भए वा मेरा दाइदिदी भइदिएका भए सायद यति ठूलो पीर लिनु पर्दैन थियो होला। पूरै ठिक नभए पनि, स्थिर अवस्था भएका कारण जब ४० दिनपछि बाबालाई हस्पिटलबाट घर ल्याइने भयो, मेरो खुशीको सीमा नै रहेन।
एउटा नयाँ जिन्दगी शुरु भएजस्तो, एउटा नयाँ कथाजस्तो। कुनै फिल्ममा देखाइने कहानीजस्तो, एकदमै नयाँ लाग्यो, नयाँ संसार, सबै नयाँ। त्यस रात बल्ल म निदाएँ। यही कुरा सोच्दै। शायद बाबु छोरीको सम्बन्ध यस्तै हुँदो रहेछ।
प्रस्तुत लेख सेतोपाटिमा आइतबार, भाद्र ८, २०७१ मा प्रकाशित भएको हो।