काठमाडौ, साउन ३० – राजा महेन्द्र ओखलढुंगा जाँदा नौ वर्षका एक बालक सुटुक्क शाही क्याम्पभित्र छिरे। उनलाई देखेपछि सैनिकहरूले रोके र केरकार गर्न थाले। बालकले भने, ‘म राजालाई भेट्न चाहन्छु।’ सैकिहरूले जबर्जस्ती फर्काउनै लाग्दा राजा महेन्द्रले देखेर उत्सुकतावश ‘भित्र पठाऊ’ भने। बालकले राजालाई देख्नेबित्तिकै सलाम मारे र कवि माधवप्रसाद घिमिरेको राष्ट्रिय गीत सुनाए— ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली…’ । यसपछि राजाको ‘तिमी को हौ?’ भन्ने प्रश्नमा बालकले आफ्नो र परिवारको परिचय श्लोकमै सुनाए। राजा खुसी भएर भने, ‘तिमी के चाहन्छौ?’ बालकले भने, ‘म नेपाल गएर पढ्न चाहन्छु।’ यसपछि ती बालकको भाग्य खुल्यो ।
र, ती थिए रुक्माङ्गद कटवाल। सैनिकहरूको पछि लाग्दै भीमफेदी हुँदै चन्द्रागिरि पहाड भएर काठमाडौं उपत्यका छिरेर उनै रुक्माङ्गद साथीको करकापमा सेनामा भर्ती भए। हक्की स्वभाव, कडा मिजास र जोखिम मोल्ने तत्परता उनको पहिचान बन्यो। माओवादी द्वन्द्व र शाही कदम हुँदै जनआन्दोलन २०६२/६३ छिचोलेपछि प्रधान सेनापति भएका उनकै पालामा नारायणहिटी राजदरबारबाट बिदाइको हात हल्लाउँदै राजारानी निस्किए। पूर्व प्रधान सेनापति कटवालले बिहीबार दिउँसो फेरि आफ्ना विगत सम्झे। कालिकास्थ्ाानस्थित नेपालयमा उनी आत्मकथा लोकार्पण क्रममा भन्दै थिए, ‘देखेजानेको कुरो इमानदार भएर लेखेको छु।’
पब्लिकेसन नेपालयले छापेको आत्मकथा ‘रुक्माङ्गद कटवाल’ सार्वजनिक भएपछि कटवाललाई पत्रकार अमित ढकालले अन्तरसंवादमा उतारे। अन्तरसंवाद क्रममा कटवालले माओवादी द्वन्द्व, राजा ज्ञानेन्द्रसँग जोडिएका प्रसंगहरूदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा जबर्जस्ती भिडाउन खोजेको अवकाश र त्यसपछि विवादबारे खुलेरै बोले। कुराकानी क्रममा उनले हक्की र निडर स्वभावलाई निरन्तरता दिइरहे। अमितले तत्कालीन प्रधानमन्त्री दाहालसित हानथापपछि बालुवाटारबाट अफिस फर्किएर ‘केही महत्त्वपूर्ण फोनहरू गरें’ भन्ने पुस्तकको अंशलाई पढ्दै सोधे, ‘सबै फोन त गाडीभित्र बाटैमा गरिसक्नुभएको थियो, अफिस पुगेर गर्नुभएको त्यो महत्त्वपूर्ण फोन चाहिँ कसलाई थियो?’ कटवालले सीधा जवाफ दिए, ‘त्यो स्टेट सेक्रेसी हो। भन्न मिल्दैन।’
कटवालले पुस्तकमै उल्लेख गरिएका दाहालसँग बालुवाटारमा भएका संवादहरूलाई प्राथमिकताका साथ अन्तरक्रिया क्रममा पनि दोहोर्याए— “तपाईं र मेरो केमेस्ट्री मिल्छ है,’ प्रचण्डले भन्नुभयो, ‘हाम्रो पारिवारिक सम्बन्ध पनि गाढा भइसक्यो। जम्मा तीन महिना त हो नि। दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो। महिनादिनपछि न्युयोर्कको राजदूत खाली हुँदै छ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु।” यसपछि आफू ‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन’ भन्दै बाहिरिएको सन्दर्भ सुनाइरहेका बेला कटवाल आत्मविश्व्ाासी देखिएका थिए।
राजाप्रति इमानदार नभएको भन्ने प्रश्नमा कटवालले त्यति बेला स्वयं संकटमा परेको एउटा संस्थाको प्रमुखले गर्ने सबै उपाय आफूले अपनाएको जवाफ दिँदै थपे, ‘हनुमान् भइदिएको भए छाती चिरेर देखाइदिने थिएँ।’ तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमलाई उचित भनेको र जननिर्वाचित प्रधानमन्त्रीलाई नमानेको जस्ता प्रश्नको जवाफ दिने क्रममा उनले आफू मुलुकको संविधान र कानुनमा उल्लिखित सेनाको भूमिकाभन्दा कहिल्यै दायाँबायाँ नभएको उनले प्रस्ट पारे।
‘संविधानको धारा १२७ पढ्नुस् न, सबै कुरा छर्लङ्गै छ नि,’ शाही कदमलाई सही मानेकोप्रति अमितको जिज्ञासामा कटवालले भने, ‘संविधानमा टेकेर भएका सबै कामहरूको सेनाले सम्मान नगर्ने कुनै कारण नै थिएन।’
पुस्तकका प्रति कत्तिको इमानदार रहेको भन्ने प्रश्नमा कटवालले संसारमा निर्विवाद कुनै कुरा नरहने उल्लेख गर्दै यो पुस्तक लेखनमा सहकार्य गर्ने किरण भण्डारी र सम्पादक सुदीप श्रेष्ठले आफूलाई नजिकबाट चिन्ने डेढ सयभन्दा बढी व्यक्तिसँग भेटघाट गरेर त्यसको पुष्टि पनि गराएको दाबी गरे।
अमितले चाहिँ ‘कटवालले त्यति बेला प्रधानमन्त्रीको प्रलोभन स्विकारेर राजीनामा दिनुभएको भए नेपाली सेना र लोकतन्त्रलाई पर्न सक्ने आँचबाट कसैले पनि जोगाउन सक्ने थिएन’ भन्दै अन्तरक्रियाको बिट मारे, ‘कटवालले दिएको त्यो गुणका अघिल्तिर उहाँमाथि लागेका सबैजसो आरोपहरू फिक्का हुन्छन्।’
साभार :- कान्तिपुर अनलाईन