– सानु घिमिरे, (सिड्नी, अस्ट्रेलिया)
अस्ट्रेलिया आएको दोस्रो हप्ताको विकेन्डमा हामीले काम गर्ने ठाउँको बोस साइमनले नेपालीहरुलाई पिज्जा पार्टी दिने भयो । अन्य नेपाली साथीहरु जाने भएपछि म पनि जाने भएँ। हामी पुग्दा ऊ हाम्रो भाग पिज्जा टेबलमा राखेर आफ्नो भाग खाँदै रहेछ । टेबलमा राखिएको वाइन, स्कच र बियर अनि उसको अस्तव्यस्त अपार्टमेन्टले फर्स्ट इम्प्रेसन बनाइहाल्यो।
जानेबित्तिकै उसले हामीलाई पिज्जा र रक्सी अफर गर्यो ।अरु साथीहरुले चिकेन पिज्जा खाए, मभेजेटरियन भनेर दुइवटा टुक्रा भेज मगाएको रहेछ । मेरो भाग टिपें । उसले केटीहरुलाई वाइन पिऊ भन्यो ।अरुबेला भए एककप रेड वाइन पिउन मलाई मिठै लाग्थ्यो, उसको कोठा र ब्यबहार हेर्दा पिउँदिन भनिदिएँ । साइमनले जिन्दगीमा रक्सी र मासु नखाने मान्छे भेटेकै रहेन छ। केहीबेरपछि हामी नेपाली केटीहरुप्रति उनिकै उत्सुक भयो ।
– तिमीले कहिले मासु खाएकै छैनौ ?
– छ, तर २ बर्ष भयो, खान छाडेको ।
– किन नखाने रु तिमीहरुको कल्चरमा केटीहरुले मासु खानु हुँदैन ?
– यो कल्चरल कुरा होइन, इन्ट्रेस्ट र च्वाइसको कुरा हो ।
– तिमी कहिल्यै रक्सी पिउँदैनौं ?
– पिउँदिन। (पिउँछु भन्यो भने फेरि कर गर्ला भन्ने त्रास थियो ।)
– किन नपिउँने ? तिमीहरुको कल्चरमा केटीहरुले रक्सी पिउँनु हुँदैन ?
– यो कल्चरल कुरा होइन,इन्ट्रेस्ट र च्वाइसको कुरा हो ।
– तिमीहरु पप डिस्को जाँदैनौ ?
– जादैनौं।
निकै आश्चर्यचकित भयो साइमन – ‘व्ह्वाट द हेल ? कति बोरिङ छौ तिमी नेपाली केटीहरु । तिमीहरुको जिन्दगीमा इन्टरटेनमेन्ट भन्ने कहिले हुँदैन ?
मानौं, हामी रक्सी, मासु, डिस्को आदि शब्दसँग विल्कुल अपरिचित घरभित्र बन्दी बनाइएका महिलाहरु हौं। मैले शान्त भएर भनें – हाम्रो कल्चरमा धेरै फेस्टिबलहरु हुन्छन् । ती प्रत्येक फेस्टिबलका आ-आफ्नै बिशेषता छन् । फेस्टिबलमा हामी निकै रमाइलो गर्छौं । साइमनले पत्याएन । निकै नराम्ररी आँखीभौं उचाल्यो । उसलाई क्रिसमसबाहेक कुनै फेस्टिबल थाहा नभएको प्रस्ट हुन्थ्यो । बिहान उठ्दा सिरानेमुनि बाउआमाले राखिदिएको टोइजलार्इ स्यान्ता क्लसले राखिदिएको उपहार भनेर फुरुक्क पर्ने र एकदिन क्रिसमस लञ्च वा डिनर खानुबाहेक फेस्टिबलको अन्य रमझम, सांस्कृतिक पक्ष र महत्व साइमनको कल्चरमा भएजस्तो मलाई लाग्दैन ।
अत : उसले हामीलाई निकै नै अचम्मित भएर हेरिरह्यो । पिज्जा कपाकप खाएर हामी केटीहरुजति आफ्नो अपार्टमेन्ट फर्कियौं । भोलिपल्ट साइमनले गरेको व्यवहारको निकै छलफल भयो । मैले गेस्ट बोलाएर पर्खिदै नपर्खी खान थाल्नु, अर्काको कल्चरलाई जे पायो त्यही भन्नु र गेस्टसँग रुढ भएर डिबेट गर्नुले साइमन असभ्य अस्ट्रेलियन हो भनें ।
नेपाली केटाहरुले चाहिँ हामीले अलिकति वाइन पिइदिएको भए हाम्रो कल्चरलाई उसले केही भन्ने थिएन, हामीले निक्कै पाखे नेपाली केटीको परिचय दियौं भनेर हामीलाई नै गाली गरे । र, उनीहरुद्वारा नै थाहा पाइएको गजबको कुरा चाँहि के थियो भने -यो देशमा बोरिङ वा अन्सेक्सी भन्ने शब्द महिलालाई प्रयोग गर्नु भनेको, पुरुषलाई नपुंसक होस् भन्नुजत्तिकै अर्थ राख्दो रहेछ ।
साँच्चै, पप र डिस्को नजाने, मात्तिउन्जेल रक्सी नपिउने हामी अधिकांश नेपाली केटीहरु बोरिंग नै हौं त रु हाम्रो जिन्दगीमा रमझम, रमाइलो, मनोरञ्जनका कुनै साधन र माध्यम नै छैनन् त ? यो प्रश्नको जवाफ सधैं मलाई तीज पर्वले दिने गर्छ । सेक्सी र बोरिङ शब्द एक अर्काका एन्टोनिम हुन सक्छन् । तर, सेक्सीभन्दा निकै माथिल्लो स्तरको सुन्दरतम् शब्द हाम्रो शब्दकोशमा छ, हाम्रो संस्कृतिमा छ ।
शालीन र सुन्दर सांस्कृतिक नारीको उदाहरण हामी नेपाली नारी हौं जस्तो मलाई लाग्छ । हप्तामा पाँच र छ दिन र कोही कोही सातै दिन काम गर्ने म र मेरा साथीहरु, हप्ताको अन्तिमतिर पुरै गलिसकेका हुन्छौं । बिहानै पाँच बजे उठेर आँखा मिच्दै युनिफर्म लगाउँदा कपाल कोर्ने जाँगर हुँदैन । नर्सिङ होममा गएर एप्रोन लगाउँदै बुढाबुढीहरुलाई नुहाइदिने जागिरमा को राम्री बनेर जान्छ ? बेलुका फर्किँदा नुहाइ धुवाइ गर्दा साँझ परिसक्छ । साँझमा फेरि केको मेकअप ? केको ड्रेसअप ? पाइजामा लगायो, बिहान सबेरै उठ्नुछ भनेर बेलुका सबेरै सुत्ने हतार।
कसै कसैले बर्थ डे, एनीभर्सरीमा डिनर खान निम्तो गर्दा पनि थाकेको शरीर र विरक्तिले अनेक बहाना गरेर टारीरहुँ जस्तो लाग्छ ।
यस्तोमा तीज अथवा अन्य पर्ब नआइदिए हामी के गर्थ्यौ होला रु फूल मेकअप गरेर कहिँ ननिस्किँदा हामी सुन्दर छौं भन्ने पनि बिर्सिने थियौं होला । हामी पनि मनोरन्जन गर्छौं । रमाइलो गर्छौं, हाम्रो पनि समुदाय छ, हाम्रो पनि संस्कृति छ भन्ने कुराको आभाष र अनुभुति यिनै चाडपर्वहरुले गराइरहेका छन् ।
रमझम र शृंगार
सुन्दर देखिन मन लाग्नु मान्छेको सामान्य मानवीय गुण हो । महिलालाई मात्र होइन, पुरुषलाई पनि सुन्दर देखिन मन लाग्छ । सुन्दर हुनु र बनिनु भिन्नाभिन्नै कुरा हुन सक्छन् । तथापि सुन्दर बनिनु आफैमा एउटा कला पनि हो ।
हाम्रो कल्चरमा महिलालाई मात्रै धेरै आरोप लाग्ने गरेता पनि थरिथरिका कस्मेटिक प्रयोग गर्दै ऐना हेर्दै धेरै समय बिताउने पुरुषहरु हाम्रै वरिपरि छन् । यहाँनेर मैले पुरुषलाई आक्षेप लगाउन खोजेको होइन, पुरुष पनि महिलाजत्तिकै कलात्मक र प्राकृतिक छन् भन्ने कुराको नजीर पेश गरेकी हुँ ।
बौद्धिक मनोरन्जनको प्रसंगतिर नजाने हो भने, मीठो खानु, राम्रो लगाउनु, गीत गाउनु, नाच्नु र पिउनु नै मान्छेहरुले मनोरञ्जन गर्ने सामान्य तरिका हो । यी सबै पक्ष समेटिएको तीज एउटा सुन्दर पर्व हो । तीजले मोनोटोनस लाइफबाट मीठो ब्रेक दिन्छ भने हरेक महिलामा ‘म सुन्दर छु’ भन्ने भावना जगाइदिन्छ । त्यही एउटा भावनाले नजानिँदो किसिमले मान्छेको आत्मविश्वास बढाइरहेको हुन्छ ।
एक महिना दर खायौं भन्नेहरुलाई
अस्ट्रेलियामा एक बर्ष बसेर नेपाल फर्किनुभएकी बरिस्ठ साहित्यकार बेदकुमारी नेउपाने दिदीसँग गाढा आत्मीयता गाँसिएको छ । सधैं प्रेरणा स्रोत रहनुभएकी दिदी पोहोर सालको तीजमा हामीसँगै सिड्नीमा हुनुहुन्थ्यो । यसपल्टको तीजमा उहाँले रचना गर्नुभएको गीतँ बरी लै बरी लै बरी लै, दर खाने ठाउँ जुराइयो महिनैभरिलाईँ भन्ने गीत सुन्दा खुब घत लागेको छ। यही एक महिना दर खाने प्रसंगले चिमोटेर म तीजको बारेमा केही लेख्छु भन्ने सोचिरहेकी थिएँ । गीतले झकझक्याइदियो । एकै दिन दर खाने प्रसंगमा मेरो आफ्नै नमीठो अनुभव छ ।
सन् २०१० को तीजको अघिल्लो दिन, चारवटा ठाउँमा दर खान बोलाइएको थियो । कसैलाई आउँदिन भन्न नमिल्ने । दाजु, भाइ, दिदी र काकाको घरमा जानुपर्ने थियो । दिदीकोमा अन्ट्रे खाँदै अघाइसकेकी थिएँ, अब जान्छु भन्दा दिदी ननाची कहाँ जाने भन्न थाल्नुभयो ।बल्ल-बल्ल दाजु भाउजूकोमा पुगेर डिनर खाएँ । खीर नखाएकोमा भाउजूलाई खुब नरमाइलो लाग्यो । भाउजूसँग पनि नाच्ने फुर्सद भएन । भाइकोमा गएर मिठाई खाएँ । अनि राति ११ बजे काकाको घर पुग्दा काकीले नखाई सुत्न दिनुभएन, पुरी र खीर खानु पर्यो । हजुरआमा अघि नाचीवरि सुतिसक्नु भएछ । खल्लो लाग्यो ।
तीजको अघिल्लो दिन सबैले बोलाएकाले मलाई समय मिलाउन सारै गार्हो भो। एकै दिन ठोसी ठोसी, भ्याई नभ्याई खाएर के रमाइलो ? त्यसरी खाएको न लाग्छ, न शरीरलाई फाइदै हुन्छ । त्यस्तै खानकै लागिमात्र कहाँ दरको महत्व हो र ? यही बहानामा हुने पारिवारिक जमघटको पो ठूलो महत्व छ त ! परिवारका सबै मिलेर नाच्दै, खाँदै रमाइलो गर्दा आपसी सद्भाव, विदेशमा पनि म एक्लो छुइँन भन्ने भावनाको वृद्धि, पारिवारिक प्रेम आदि बढ्ने कुरा त जगजाहेर छ । मलाई व्यक्तिगत रुपमा बरु एक महिना दर खाएकै ठीक लाग्यो ।
सिड्नीमै बसेर पनि वर्षमा एक दुईपल्ट मात्रै भेट हुने नातेदारहरुलाई तीजजस्तो पर्बले एक दिन सँगै समय बिताउने, रमाइलो गर्ने अवसर दिएको छ । यस्तो अवसरमा एकै दिन मरुन्जेल खानुभन्दा, एउटा विकेन्ड एक जनाकोमा अर्को विकेन्ड अर्कोकोमा दर खाँदा पारिवारिक भेटघाट पनि हुने, आफ्ना समस्याहरु, मनका कुराहरु, सफलतारनिराशाका कुराहरु शेयर हुने, साथै एकै दिन यता र उति दौडिने चटारो पनि नहुने देखिन्छ।
फेरि एक महिना दर खाने भनेर हरेक दिन कसले पो दर खान्छ र ? खाने त हप्तामा शनिबार र आइतबार मात्रै हो । यहाँ मान्छे यति व्यस्त छन् कि, महिनामा हरेक दिन यता र उति डुलेर दर खाने, खुवाउने फुर्सद कसैलाई हुदाँ पनि हुँदैन ।
सुनका गहना र छड्के तिलहरी
श्रीमानले दिएको मानसिक र शारीरिक यातना सहन नसकेर सम्बन्ध बिच्छेद गर्न पुगेकी मोरङकी आकृतिलाई सधैं तीजमा छड्के तिलहरी धारण गरेको देखेपछि मैले सोधें -बुढो नै नभएपछि यो पोते केका लागि ?
उनले गम्भीर भएर भनिन्-यो मेरो श्रृंगार हो, पतिको निशानी होइन । म सिंगल छु । तर, दुनियाँलाई म सिंगल भएको देखाउँदै किन हिडुँ ? मेरा दिदी, बैनी, भाउजू, बुहारी सबै गहना र छड्के तिलहरीमा झपक्कै भएर तीजमा नाच्छन् । पतिसँग त सम्बन्ध टिकेन टिकेन, म मेरो रुप र सौन्दर्य पनि त्यही सम्बन्धसँगै किन जलाउँ ? बिहेमा लिएर आएको तिलहरी त उसले नेपालमै बेचिसक्यो । यो मैले मेरै श्रम खर्चिएर बनाएको गहना हो । यत्रो पैसा हालेर किनेको गहना म किन नलगाउनु ?
नेपालमा पतिलाई घुर्क्याई घुर्क्याई गहना किन्ने महिलाहरुका बारेमा मैले सामाजिक अनुसन्धान गरेको छुइँन । सिड्नीको हकमा र मेरो वरीपरिको परिवेश केलाउँदा यहाँ धेरै मध्यम वर्गीय परिवारका नेपालीहरु छन्। बिहेमा बनाएका सुनका गहनाहरु बेचेर अस्ट्रेलिया आएकाहरु थुप्रै देखेकी छु । तिनै दिदी बहिनीहरुले आफूले मरीमरी कमाएको पैसाले किनेको एउटा नयाँ सारी र बनाएको एकसरो गहनाले विकृति फैलायो भन्दै कटाक्ष गर्ने तर्क मलाई न्यायसंगत लाग्दैन।
अस्ट्रेलिया विश्वमै ‘मल्टी कल्चरिज्म’लाई मान्यता दिने एकमात्र देश हो । यहाँ हरेक संस्कृतिलाई सम्मान गरिन्छ । मैले अरु कुनै संस्कृतिका मानिसहरुले सेल रोटी पकाएको र छड्के तिलहरी लगाएको देखेको छुइँन । इन्डियन, पाकिस्तानी र बंगाली महिलाहरुले पनि सारी लगाउँछन् । तर, सारी लगाएर छड्के तिलहरी लगाउने नेपाली महिलाहरु मात्रै हुन्छन् । अत: मलाई छड्के तिलहरी हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण गहना हो भन्ने लाग्छ ।
फेसनर संस्कृति
तीजको पूर्वसन्ध्यामा सिड्नीमा रहेको चर्चित नेपाली पोशाकको पसलले तीजको अवसरमा फेसन फिस्टा आयोजना गर्यो । पोशाकको ब्यापार गर्ने पसलले पोशाकको प्रवर्धन गर्ने फेशनसँग सम्बन्धित कार्यक्रम गर्नु अनौठो भएन । हामी बसेको समुदायमा रहेका व्यवसायीदेखि लिएर हरेक सदस्यको सामाजिक उत्तरदायित्व हुन्छ । कुनै पनि कुरालाई हामीले ट्रेन्डको रुपमा विकास गर्दैछौं भने त्यसले हाम्रो समाजलाई दिने सांस्कृतिक प्रभावका बारेमा पनि बहस हुनुपर्छ । फेशन सो जसरी गरियोस्, त्यो मेरो सरोकार होइन, तर तीजजस्तो विशुद्ध सांस्कृतिक पर्वलाई फेशन प्रदर्शन गर्ने कुरासँग मात्रै दाज्नु भनेको चाहिँ पक्कै पनि तीजको महत्वलाई कम आंकलन गर्नु हो ।
हामीसँगै हाम्रो दोस्रो पुस्ता यहाँ दिनदिनै झ्याङ्गिइरहेको छ । पहिलो पुस्ताले दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने एकमात्र कुरा ‘संस्कृति’ हो। हाम्रो सांस्कृतिक महत्व झल्काउने कार्यक्रममा हिन्दी आइटम गीत ‘कमली कमली’मा नृत्य गरेर कुन संस्कृति हामी निर्माण गर्दैछौं ? कस्तो संस्कृति दोस्रो पुस्तालाई हस्तान्तरण गर्दैछौं ?
परोपकार
हरेक बर्ष निरन्तर तीजको दर खाने कार्यक्रम आयोजना गर्दै आएको एनआरएन अस्ट्रेलियाको भगिनी संगठन नारी निकुन्ज अस्ट्रेलियाले भने सांस्कृतिक अवसरलाई परोपकारसँग गाँसिदिएको छ। दर खाने कार्यक्रमबाट आएको पैसाले नेपालमा रहेका आङ खस्ने समस्याबाट पिडित पिछडिएका वर्गका महिलाहरुलाई अप्रेसन गर्ने खर्च जुटाइदिने गरेको छ ।
सन् २०१० देखि निरन्तर चलाउँदै आएको यो प्रोजेक्टबाट सयौं महिलाहरु लाभान्वित भएका छन् । तीजको रमझम पनि हुने र उठेको निश्चित रकमबाट परोपकारको पुण्य कार्यमा पनि सहभागी हुन पाइने हुनाले नै होला, निकुन्जले आयोजना गरेको तीजको दर खाने कार्यक्रममा सधैं महिलाहरुको अत्यधीक भीड हुने र टिकट बिक्री पनि चाँडै हुने नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष्य सुमित्रा बिस्ट बताउनु हुन्छ ।
अन्य पक्ष
हरेक बर्ष तीजको कार्यक्रम आयोजना गर्दै आएको सेन्ट जर्ज फूटबल क्लबले तीज पार्टीमा पूरै परिवारका सदस्यहरुलाई सहभागी गराउँछ । तीज त नेपाली महिलाहरुको चाड हो नि, किन पुरुषहरुलाई सहभागी गराउनुहुन्छ भन्ने प्रश्नमा संस्थापक सदस्य विज्ञान कार्की संस्कृतिसँग जोडिएका हरेक कुरामा परिवारको सहभागिता हुनुपर्ने बताउनुहुन्छ। महिलाको चाड भनेर छोडिदिने हो भने पुरुषले यो चाडको महत्व कहिल्यै नबुझ्ने, महिलाको मात्र चाड भनेर हेला गर्ने साथै बाल बच्चाको सहभागिता नहुँदा उनीहरुले आफ्नो संस्कृतिका बारेमा बुझ्ने मौका नपाउने बताउनुहुन्छ ।
सिड्नीका बिभिन्न क्षेत्रमा जस्तो उत्तरतिर बस्ने नेपाली संस्थाले छुट्टै कार्यक्रम, पश्चिमतिर बस्नेले छुट्टै कार्यक्रम र बिभिन्न साना ठूला समूहले साना ठूला कार्यक्रम गर्दै नेपालीहरुलाई तीज अगाडि निश्चित ठाउँमा जम्मा भएर दर खाने, रमाइलो गर्ने अवसरहरु आयोजना गरिरहेका छन् ।
घरबाट टाढिएर जुनसुकै कारणले बिदेशिएका हौं, हामीलाई हाम्रो संस्कृतिले, चाडपर्वहरुले नेपालीपनसँग सधैं जोडिरहेको छ । यहिँनेर साइमनलाई सम्झिँदै सोध्न मन लाग्छ-यतिका धेरै रंगीन चाडपर्वहरुमा निकै रमाइलो गर्ने हामी नेपाली महिलाहरु कसरी बोरिङ छौं हँ ?
अनलाईन खबरबाट साभार